यी हुन् शेरधनका सारथी- जनयुद्धका कमाण्डरदेखि संविधानसभा सदस्यसम्म – Nepal Press

यी हुन् शेरधनका सारथी- जनयुद्धका कमाण्डरदेखि संविधानसभा सदस्यसम्म

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दुई मन्त्री र दुई राज्यमन्त्री थपेर मन्त्रिपरिषद्लाई ९ सदस्यीय बनाएका छन् । अझै दुईजना थपेर ११ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी छ ।

आफूविरुद्धको अविश्वास प्रस्ताव कायमै रहेका बेला राईले माओवादी केन्द्रबाट एमाले भएका नेतालाई समेत समेटी मन्त्रिपरिषद् विस्तार गरेका हुन् । राईको मन्त्रिपरिषद्‍मा दुई महिला समेटिएका छन् ।

यसअघि राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ र रामबहादुर मगरलाई विभागीय मन्त्री बनाइएको छ । राईको टिमका मन्त्रीहरू को हुन् ? त एकपटक चिनौं ।

हिक्मत कार्की

हिक्मत कार्की शुरूदेखिनै शेरधनको टिमका दोस्रो वरियताको मन्त्री हुन् । आन्तरिक मामिला तथा कानूनमन्त्री कार्की नेकपा एमालेको केन्द्रीय सदस्य हुन् । अनेरास्ववियूका पूर्वअध्यक्ष कार्की प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता हुन् । उनी झापाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । कार्की नेपाल ल क्याम्पसको २०५३ को स्ववियू सभापतिसमेत निर्वाचित भएका थिए ।

टंक आङ्बुहाङ

नेकपा माओवादीका केन्द्रीय सदस्य तथा तत्कालीन संसदीय दलका नेता टंक आङ्बुहाङ जनयुद्धकालमा कमाण्डर थिए । उनी एमाले माओवादी एकीकरणपछि नेकपा केन्द्रीय सदस्य बने ।

मन्त्री बन्नेमा उनको नाम अगाडि थियो । तर, इन्द्र आङ्बोले बाजी मारेपछि उनी पार्टी संसदीय दलको उपनेता थिए । आङबुहाङ क्रिकेट संघका पूर्वअध्यक्ष पनि हुन् ।

नेकपा विभाजनपछि शुरूमा प्रचण्ड-माधव पक्षमा रहे पनि उनी पछिल्लो समय तटस्थ थिए । सर्वोच्च अदालतले एमाले माओवादी ब्युँताउनुअघिनै उनी र केन्द्रीय सदस्य पासाङ शेर्पा सुवास नेम्वाङलाई भेटेर ओली पक्षमा खुलेका थिए ।

हाल एमालेको केन्द्रीय सदस्यसमेत रहेका आङ्बुहाङ ताप्लेजुङबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनले आफ्नो पद गए पनि ओलीको साथ नछाड्ने बताएर एमाले बनेका हुन् । उनी अर्थमन्त्री बनेका छन् ।

अम्बिरबाबु गुरुङ

ओखलढुंगाबाट निर्वाचित प्रदेशसभा सदस्य अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार राज्यमन्त्रीबाट फुलमन्त्री बनेका छन् । विकासप्रेमी नेताका रुपमा ओखलढुंगामा स्थापित हुँदै गएका गुरुङ नेकपा एमालेको प्रदेश कमिटी सदस्य हुन् ।

गुरुङ २०५४ सालमा एमाले विभाजन हुँदा बामदेव गौतम नेतृत्वको नेकपा मालेबाट ओखलढुंगाको उम्मेदवार बनेका थिए । प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलको निकट रहेका गुरुङ मुख्यमन्त्री शेरधन राईलाई सफल पार्ने टिमको एक प्रमुख सदस्य हुन् ।

विकासे कामका कारण चर्चित बनेका गुरुङ राजनीतिका अलावा व्यवसायमा पनि संलग्न छन् ।

जगदिश कुसियैत

नेकपा एमालेको केन्द्रीय सदस्य रहेका जगदिशप्रसाद कुसियैत वामदेव गौतम निकट मानिन्थे । तर, संसदीय दलको निर्वाचनमा गौतमले भीम आचार्यलाई सघाउन दबाब दिएपछि उनले वामदेवको साथ छाडेर राईलाई साथ दिए ।

शुरूदेखि नै उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रहेका कुसियैत २०५१ सालको उपनिर्वाचतमा सुनसरीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । कुसियतले गिरिजाप्रसाद कोइरालासँग पनि चुनाव लडेका थिए ।

उषाकला राई

उषाकला राई नेकपा एमालेकी प्रभावशाली महिला नेता हुन् । पति शेरबहादुर तामाङ र उनले प्रतिनिधिसभा पुनःस्थापनाभन्दा केही दिनअघि माधव नेपाल समूह छाडेर केपी ओलीलाई साथ दिएका थिए । उषाकला नेकपा विवादमा तटस्थ रहे पनि भित्रभित्रै मुख्यमन्त्री शेरधन राईको पक्षमा खुलिरहेकी थिइन् ।

खोटाङबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य निर्वाचित राई संविधानसभा सदस्य समेत हुन् । प्राध्यापन समेत गरेकी राई लैंगिक समानताको पक्षमा उभिने अभियन्ता पनि हुन् । नवनियुक्त मन्त्रीमध्ये उनी सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा छिन् ।

रामबहादुर मगर

भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर नेकपा एमालेको इलामको अध्यक्ष भइसकेका पूराना नेता हुन् । झलनाथ खनालको निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा सदस्य निर्वाचन भएका राना अनेरास्ववियूको राजनीतिबाट उदाएका हुन् । उनी २०४३ सालको महेन्द्र रत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा सभापति निर्वाचित भएका थिए ।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक मंगलबारे गाविसको अध्यक्षसमेत उनी एमालेको जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष हुँदै जिल्ला अध्यक्ष बनेका हुन । उनी नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्वसचिव समेत हुन् । राजनीतिक परिर्वतनको लागी उनले ३ वर्ष जेल जिवनसमेत विताएका थिए ।

यसअघि राज्यमन्त्री रहेका उनले झलनाथ-माधव नेपाल गुट छाडेर केपी ओलीलाई साथ दिएका थिए ।

कला घले

उदयपुर निर्वाचन क्षेत्र २ ख बाट प्रदेशसभा सदस्य निर्वाचत भएकी कला घले निर्मल लामा नेतृत्वको कम्युनिस्ट पार्टीबाट राजनीतिमा लागेकी हुन् । २०५१ सालमा नेकपा एमालेमा प्रवेश गरेकी घलेसँग त्रिवेणी गाउँपालिकाको गाउँ कमिटी सदस्य, अनेमसंघ जिल्ला सदस्य हुँदै जिल्ला अध्यक्ष र नेकपा एमाले जिल्ला कमिटीमा दुई कार्यकाल सदस्य भएर काम गरिसकेको अनुभव छ।

उनी करिब तीन दशकदेखि नेपाली राजनीतिमा सक्रिय छिन् ।मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरे पनि तत्कालै फिर्ता लिएर उनी नेकपा विभाजनको बेला केपी ओली पक्षमा लागेकी थिइन् । उनलाई भूमि, व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बनाइएको छ ।

राजकुमार ओझा

उद्यो, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा मोरङ ३ ख बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । सुन्दरहरैचा निवासी ओझा सो नगरपालिकाको मेयरका दावेदार थिए । माधव नेपाल पक्षका उनी भीम आचार्यसँग असन्तुष्ट भएर शेरधन राईको पक्षमा उभिएका थिए ।

२०४९ सालबाट नेकपा एमालेको पार्टी सदस्यता प्राप्त गरेका ओझा २०५१ सालदेखि ३ कार्यकालसम्म सुकुना बहुमुखी क्याम्पसको स्ववियू सभापति भएका थिए ।

ओझा अनेरास्ववियूको २ पटक जिल्ला अध्यक्ष हुँदै तत्कालीन अञ्चल कमिटीको २ कार्यकालमा समेत अध्यक्ष भएका हुन । उनी अनेरास्ववियूको पूर्वाञ्चल क्षेत्रीय प्रमुखका साथै केन्द्रीय सचिवालय सदस्य भएर २०६३ सालमा पार्टीको जिल्ला कमिटी सदस्य भएका थिए । ओझा पार्टीको जिल्ला कमिटी सचिवालय सदस्यसमेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर