संसदीय समितिको नजर- कतार भिसा सेन्टर, विश्वकप सुरक्षाकर्मीदेखि कतार पुलिस भर्तीसम्म – Nepal Press

संसदीय समितिको नजर- कतार भिसा सेन्टर, विश्वकप सुरक्षाकर्मीदेखि कतार पुलिस भर्तीसम्म

घरेलु कामदार र भिजिट भिसाको नाममा भइरहेका गतिबिधि पनि छानविन हुने

काठमाडौं । प्रतिनिधिसभा विघटन हुनुअघि गठन भएको वैदेशिक रोजगारीका समस्या अध्ययन सम्बन्धी संसदीय उपसमितिले आफ्नो काम थाल्ने भएको छ । नेकपा एमालेका सांसद एलपी साँवा लिम्बुको संयोजकत्वमा गठित उपसमितिले वैदेशिक रोजगारीका क्षेत्रमा हुने गरेका ठगी, अनियमितता, कार्टेलिङ र भिजिट भिसामा कामदार पठाउने सन्दर्भमा रहेका समस्याको छानविन गर्न लागेको हो ।

उपसमितिले कतार पुलिसमा नेपालीहरुलाई भर्तीका लागि पठाउने प्रक्रियाको सन्दर्भमा समेत अध्ययन गर्ने भएको छ । त्यस्तै आगामी कतार विश्वकप फुटबलका लागि नेपाली सुरक्षागार्ड पठाउन भनेर भइरहेका गतिबिधिको समेत अध्ययन गरी आवश्यक निर्देशन दिने भएको छ ।

उपसमितिले कतार भिसा सेन्टरको नामबाट भइरहेका क्रियाकलाप र विशेष गरी मेडिकल सिण्डिकेटको गुनासोका समेत छानविन गर्ने भएको छ । यसका साथै भिजिट भिसाका नाममा भइरहेको ‘मानव तस्करी’को जालाको पनि अध्ययन हुने उपसमितिले जनाएको छ ।
उपसमितिले घरेलु कामदार पठाउने सन्दर्भमा पनि छानविन गर्ने भएको छ ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सांसद एलपी साँवा लिम्बुको संयोकजत्वमा पाँच सदस्यीय वैदेशिक रोजगारीका समस्या अध्ययन उपसमिति गठन गरेको थियो ।

समितिलाई वैदेशिक रोजगारको क्षेत्रमा भएका ठगी, अनियमिता, घरेलु श्रमिकका समस्या, कमादार पठाउने सन्दर्भमा हुने गरेका सिण्डिकेट, भिजिट भिसामा कामदार पठाउने विषयमा रहेका समस्याहरुको समधानका सन्दर्भमा अध्ययन अनुसन्धान र छानबिन गरी राय सुझावसहितको प्रतिवेदन पेश गर्न म्याण्डेट दिइएको छ ।

समितिमा सांसद कृष्णकुमार श्रेष्ठ (किसान),अमृता अग्रहरी, दुर्गाकुमारी विश्वकर्मा र प्रकाश रसाइली स्नेही सदस्य रहेका छन् । समितिले वैदेशिक रोजगारको क्षेत्रमा रहेका विकृति, विसंगति, समस्या, ठगी र समग्र विषयमा छानबिन गरी प्रतिवेदन पेश गर्ने समितिका संयोजक साँवाले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर