अध्यक्ष नै नदीजन्य पदार्थ अवैध उत्खननमा लागेको भन्दै दाङको राजपुर गाउँपालिका घेराउ – Nepal Press

अध्यक्ष नै नदीजन्य पदार्थ अवैध उत्खननमा लागेको भन्दै दाङको राजपुर गाउँपालिका घेराउ

रुपन्देही । नदीजन्य पदार्थ अवैध उत्खनन्मा गाउँपालिकाकै अध्यक्ष संलग्न भएको भन्दै अन्य जनप्रतिनिधि, कार्यपालिका सदस्य र स्थानीयहरुले दाङको राजपुर गाउँपालिका घेराउ गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले अवैध उत्खनन् कार्यमा संरक्षण गरेको आरोप लगाउँदै उनीहरुले गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

पालिका अध्यक्ष बुढाथोकीले राप्ती नदीमा जथाभावी मेसिन प्रयोग गरी मापदण्डभन्दा बढी उत्खनन् गर्न दिएको भन्दै सार्वजनिक पदको दुरुपयोग गरेकोजस्ता आरोप स्थानीयले लगाएका छन् ।

राजपुर गाउँपालिका वडा नं. २ मटेरिया घाटबाट उत्खनन् भएको सबै नदीजन्य पदार्थको नापजाँच गरेर राजश्व जबसम्म पालिकामा जम्मा हुँदैन तबसम्म संघर्षको आन्दोलन जारी रहने नेकपा (माओवादी केन्द्र) राजपुर गाउँपालिका उपाध्यक्ष भिमबहादुर वलीले बताए ।

राजपुर गाउँपालिका वडा नं. २ बेलाका गोविन्द विक, वडा नम्बर ५ का लेखराज डिसी, सीता यादव, भोगेन्द्र यादव, हालसम्म उत्खनन गरेको चारैतिर गुनासो आएपछि २०७९ चैत २८ गते वडाध्यक्षहरुको टोलीले गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

वैशाख ४ गते गाउँ कार्यपालिकाको टोलीले नापजाँच गर्दा बाह्र हजार एक सय ४७.७ घन मिटर उत्खनन् गरिसकेको थियो । पुनः गाउँ कार्यपालिकाको टोलीले जेठ ३ गते मटेरिया घाटमा गएर अनुगमन गर्दा मेसिनको प्रयोग गरी जथाभावी रुपमा उत्खनन गरेको पाइएको राजपुर गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता श्यामबहादुर रोकाले बताए ।

उनले भने, ‘मटेरिया घाटमा पाँचवटा मेसिन, ३०/३५ वटा ट्याक्टरले उत्खनन भैरहेको पाइयो । प्रहरी र पत्रकारलाई जानकारी गराएपछि सबै भागेका थिए ।’

अठार हजार घनमिटर नदीजय पदार्थ निकाल्न पालिकाले ६० लाखको ठेक्का लगाएको थियो । तर मेसिनको प्रयोग गरी डेढ मिटरसम्मका ठूलो ठूलो खाडल बनाएर नदीजन्य पदार्थ उत्खनन् भएको स्थानीयको गुनासो छ । प्राकृतिक सम्पदाको दोहोन गर्नेका विरुद्ध हाम्रो आन्दोलन हो, अबैध तरिकाले उत्खनन् गर्ने, राज्यलाई कर छल्नेलाई कारबाही हुन पर्छ, स्थानीय भोगेन्द्रसिंह राजपुतले भने ।

उत्खनन् अनुमतिको वाहना मात्रै गरेर दोहन गरिरहेको भन्दै आन्दोलनरत पक्षले निष्पक्ष छानविनको माग गरेका छन् । नदीजन्य पदार्थ उत्खनन् गरेर क्रसरमार्फत बिक्री गरिएको आन्दोलन पक्षले आरोप लगाएका छन् ।

नदीजन्य पदार्थको उत्खनन् बन्द गर, विधिको शासन, सुशासन कायम गर, अवैध रूपमा उत्खनन् भएको नदीजन्य पदार्थको राजश्व जम्मा गर लगायतका माग राख्दै गाउँपालिकाको कार्यालय घेराउ गरिएको हो ।

गाउँपालिका घेराउ गर्न वडाअध्यक्ष र कार्यपालिका सदस्य पुगेका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि गाउँपालिका घेराउ गर्न पुगेका हुन् ।

नेपाल प्रही र सशस्त्र प्रहरीको राजपुर गाउँपालिकामा बाक्लो सुरक्षा व्यवस्था गएिको थियो । नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष बुढाथोकी लामो समय सो क्षेत्रमा क्रसर तथा नदीजन्य पदार्थको व्यवसाय संचालन गरेकाले स्थानीयले उनलाई यसमा जोडेका छन् ।

राजपुर गाउँपालिका वडानम्बर २ मटेरिया घाटबाट अवैध रुपमा स्काभेटर प्रयोग गरी उत्खनन् गरिएको भेटिएको छ । एक निर्माण कम्पनीको गाउँपालिकाको खाली रसिद देखाउँदै ठेकेदारले मनपरि गरेको स्थानीयको भनाइ छ ।

पालिकाको मापदण्ड विपरीत स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गरिएको हो । टिप्पर र केही ट्रयाक्टरमा अवैध रुपमा ढुंगा, गिट्टी, वालुवा खोलाको छेउका क्रसरमा निकासी गरी खुलेयाम डम्पिङ गरिएको भेटिएको छ । राप्ती नदीमा स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थ निकासी गर्नु कानून विपरीत हो ।

तर स्थानीय सरकारले नै लगाएको ठेक्कामा मेसिनको अनुमति दिनु शंकास्पद देखिएको छ । तोकिएको मापदण्ड विपरीत उत्खनन् हुँदासमेत अनुगमन निकाय मौन रहेका छन् ।

गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले बाहिर प्रचारमा आएजस्तो उत्खनन् पालिकामा आफूले कसैलाई नदिएको दाबी नेपाल प्रेससँग गरे ।

पालिकामा ध्यानाकर्षण बुझाउन आउनुभएको हो, बाहिर के प्रचार भयो थाहा भएन, मलाई बुझाउन आएको टोलीले पालिकाका समस्याहरु लिएर आउनुभएको हो, त्यो समस्या मैले नबुझेको छैन, क्रमशः समाधान गर्दै जानेछु- उनले भने ।

गाउँपालिकामा निर्वाचित हुनुअघि क्रसर व्यवसाय उनैको नाममा भएपनि पछि अर्कोलाई नामसारी गरिदिएका छन् उनले । बुढाथोकीले अहिले आफ्नो कुनै व्यवसाय नभएकाले पालिकाको काम मात्र गरिरहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर