एनएसजेएफ अवार्ड: पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक – Nepal Press

एनएसजेएफ अवार्ड: पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्टस अवार्डअन्तर्गत २०७८ सालको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

मञ्चले सोमबार एक कार्यक्रम आयोजना गर्दै आगामी फागुन २३ गते हुने अवार्डका लागि उक्त मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।

मनोनयनमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसका अभिलाषा विष्ट र पौडीकी डुबाना लामा छन् । गत वर्ष उनीहरूले पाएको सफलता र चर्चाको आधारमा यी पाँच खेलाडी मनोनयनमा परेको मञ्चका सचिव एवम् खेलाडी छनोट समितिका संयोजक अन्जन खड्काले बताए ।

मनोनयनमा परेकामध्येबाट विजेताको चयन ई-सेवामार्फत भोटिङ, फेसबुक लाइक, नेपाल खेलकुद पत्रकार मञ्चका पत्रकारको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतको आधारमा हुनेछ । ई-सेवा भोटिङको मतभार ५० प्रतिशत हुनेछ भने पत्रकार र मुख्य प्रशिक्षकको मतभार २५-२५ प्रतिशत रहनेछ ।

यो वर्षको अवार्डमा ८ विधामा खेलाडी र खेलकर्मीलाई सम्मान गरिनेछ । उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन पनि केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ ।

लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड अवार्डको घोषणा भने फागुन २३ गते नै हुनेछ । यसपटक पनि एक अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्ने मञ्चले जनाएको छ ।

अवार्डअन्तर्गत उत्कृष्ट वर्ष पुरुष, महिला, युवा, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेताले ५० हजार पुरस्कार पाउनेछन् । यो अवार्डको मुख्य प्रायोजन हंसराज हुलासचन्द एण्ड कम्पनी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *