‘देउवाबाट अब पार्टी चल्दैन, राजीनामा नदिए विशेष महाधिवेशनमा जानुपर्छ’ – Nepal Press

‘देउवाबाट अब पार्टी चल्दैन, राजीनामा नदिए विशेष महाधिवेशनमा जानुपर्छ’

गुरुराज घिमिरे भन्छन्- महामन्त्रीहरू पनि पार्टीमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न चुक्नुभयो

काठमाडौं । सत्ता गठबन्धन टुटेपछि प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल बनेको नेपाली कांग्रेस सरकारबाट बाहिरिएको छ । गठबन्धन टुटेपछि संघदेखि प्रदेशसम्म सरकारबाट बढारिएपछि पार्टीभित्र तीव्र असन्तुष्टि बढेको छ। पार्टी सभापति शेरबहादुर देउवा र उनको गुटको कारणले गठबन्धन टुटेको आरोपसहित संस्थापनइतर समूहका नेताहरू आक्रोशित छ।

इतर समूहका नेताहरू शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईँलगायतले देउवामाथि दबाब बढाइरहेका छन्।

तर, देउवा पक्षले आफ्नो कारण नभएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कारणले गठबन्धन टुटेको भन्दै पन्छिन खोजेको छ।

गठबन्धन टुटेपछि त्यसको समीक्षा गर्नका लागि २८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। त्यही विषयमा केन्द्रित रहेर संस्थापन इतर समूहका युवा नेता तथा केन्द्रीय सदस्य गुरुराज घिमिरेसँग नेपाल प्रेसले गरेको संक्षिप्त कुराकानी:

– गठबन्धन टुटेपछि पार्टीले केन्द्रीय कार्यसमिति बैठक पनि बोलाएको छ । तपाईँहरू कसरी प्रस्तुत हुने तयारीमा हुनुहुन्छ ?

अहिलेको परिस्थितिमा कांग्रेसभित्र देखिएको समस्या सरकार बनाउने र बाहिर हुने मात्रै होइन । विशेष राजनीतिक परिवेशमा बनेको समीकरण, समीकरणले बनाएको चुनावी गठबन्धन, गठबन्धनले एक अर्कालाई मत मागेर १०/१५ वर्ष सँगै हिँड्ने उद्घोषसमेत नेताहरूले गरेका थिए ।

मतदातालाई पनि कांग्रेसले अरू चार दललाई भोट हाल्न, अरूले कांग्रेसलाई भोट हाल्न ह्यिप नै जारी गरेको थिए । चुनावपछि गठबन्धनकै सरकार बनाएर देश बनाउँछौँ। देशलाई संविधानअनुसार अगाडि चलाउँछौँ ।

प्रतिगामी शक्तिलाई परास्त गर्छौँ भनेर भोट संयुक्त रूपमा भोट मागेको हो । त्यसैले यो सामान्य घटना होइन । गठबन्धन किन बनाइयो र किन टुट्यो त्यो नेतृत्वले हामीलाई जवाफ दिनुपर्छ।

– तपाईँले पार्टी सभापतिको राजीनामा सामाजिक सञ्जालमा त राख्नुभयो । त्यो कुरा पार्टी बैठकमा पनि माग्नुहुन्छ ?

सभापतिज्यूको राजीनामाको विषयमा मैले पार्टीका सबै साथीहरूलाई भनिसकेको छु । तर, व्यक्तिगत विचार हो । यो हाम्रो समूहले विचार बनाउँ/ बनाउँदैन पनि थाहा छैन।

उहाँ (देउवा) बाट अब पार्टी चल्दैन। पार्टीलाई बलियो रूपमा अगाडि बढाउनका लागि सबल नेतृत्व प्रदान गर्ने र आइपरेको जस्तोसुकै चुनौतीको सामना गर्ने आत्मबल पार्टी नेतृत्वसँग अब छैन। त्यसैले राजीनामा माग्नुस् भनेर मैले साथीहरूलाई भनिसकेको छु ।

उहाँलाई यो सम्मानजनक बहिर्गमनको मौका पनि हो । उहाँले राजीनामा दिनुभएन भने विशेष अधिवेशनको प्रक्रियामा अघि बढ्नुपर्छ । बैठकमा राजीनामा माग्छौँ दिनुभएन भने विशेष अधिवेशनको लागि अघि बढ्छौँ भनेर नेताहरूलाई भनिसकेको छु ।

उहाँहरूले पदाधिकारी र केन्द्रीय समितिका नेताहरू पनि हुनुहुन्छ। उहाँहरूले अब कस्तो रणनीति बनाउनुहुन्छ भन्नेमा भर पर्छ।

– तपार्ईले सभापतिको राजीनामा माग्दै गर्दा त्यो विषयमा तपाईँहरूकै समूहमा रहेका महामन्त्रीद्वयको कस्तो भनाइ छ ?

उहाँहरूको भनाइ सार्वजनिक रूपमा पनि आएकै छ । उहाँहरूले नीति अधिवेशन भन्नुभएको छ । उहाँहरूको विज्ञप्तिलाई अध्ययन गर्ने हो भने पनि सार्वजनिक रूपमै कडा रूपमा प्रस्तुत हुनुभएको छ ।

कांग्रेसको इतिहासमा महामन्त्रीहरूले यति कडा वक्तव्य दिएको मलाई थाहा थिएन । अरूले भनेको कुरा बेग्लै कुरा तर, पार्टीको केन्द्रीय महामन्त्रीहरूले अहिलेको सबै दोष नेतृत्व हो भन्नु, नीति अधिवेशन चाहियो भन्नु नयाँ घटना हो।

– पार्टी सभापतिलाई मात्रै दोष थुपारेर महामन्त्रीहरू उम्कन मिल्दैन भन्ने पनि कतिपयले टिप्पणी गर्छन् नि ?

सभापतिको मात्रै नभएर पार्टी नेतृत्वमा रहेका पदाधिकारी साथीहरूको यसमा धेरथोर दोष छ।

पदाधिकारी र महामन्त्री भनेपछि दोषमुक्त भन्ने होइन । तर, हाम्रो परम्परा पार्टी सभापतिले नै जिम्मेवारी दिने र अरूले काम गर्ने छ । त्यसैले पार्टीका पदाधिकारीहरू पनि परम्पराको शिकार हुनुभयो जस्तो लागेको छ।

सभापतिले बोलाउनुहुन्छ अनि जाउला भनेर महामन्त्रीहरू बस्नुभयो । तर, पार्टीका साथीहरूको अपेक्षा चाहिँ विकसित घटनामा पदाधिकारीहरूले आफ्नो सहभागिता जनाएर गलत बाटोमा जान लाग्यो भने रोक्नुपर्ने हुन्छ । त्यसमा पनि उहाँहरूको कमजोरी भएको छ।

उहाँहरूले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्नुभएन । तर, पनि मूल जिम्मेवारी लिनुपर्ने सभापतिजीले नै हो। मुलुकका लागि गठबन्धन आवश्यक छ भनेर पार्टीमा प्रस्ताव गर्ने उहाँ नै हो। सभापतिसहित उहाँको टिमले जवाफ दिनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर