पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाउन मन्त्री बडूको ‘अन्तिम प्रयास’, वाणिज्य सचिव असहमत – Nepal Press

पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाउन मन्त्री बडूको ‘अन्तिम प्रयास’, वाणिज्य सचिव असहमत

काठमडौं । उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले आफू मन्त्री भएकै बेला पेट्रोलियम पदार्थको ढुवानी भाडा वृद्धि गर्न अन्तिम कसरत थालेका छन् । नयाँ सरकार गठन हुनुभन्दा पहिले नै जसरी भएपनि पेट्रोलियम पदार्थको भाडा वृद्धि गर्न उनी लागि परेका हुन् । कांग्रेसनिकट ढुवानी व्यवसायीले उनलाई यसका लागि निरन्तर दबाब दिइरहेका छन् । यसअघि मन्त्री बडूले व्यवसायीहरूलाई भाडा वृद्धिको वचन दिएका थिए ।

अहिले नेपाल आयाल निगम पनि जसरी भएपनि ढुवानी भाडा वृद्धि गर्ने पक्षमा छ । तर, बोलाइएका केही बैठक बस्न सकेको छैन । सञ्चालक समितिका अध्यक्ष समेत रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयम रायले बैठकलाई रोकिरहेको बताइएको छ । उनी भाडा वृद्धिको विपक्षमा छन् । अर्थमन्त्रालयका सहसचिव तथा निगमका सदस्य आनन्द काफ्लेले पनि रायलाई साथ दिएका छन् ।

निगम स्रोतका अनुसार उद्योगमन्त्रीले चुनावअघि नै कार्यकारी निर्देशक उमेशप्रसाद थानीलाई ढुवानी भाडा बढाउन निर्देशन दिएका थिए । आपूर्तिसचिव नै यस कदमको विपक्षमा रहेकाले थानीले फायल पेस गर्न नसकेको स्रोतको भनाइ छ । राय भदौ २८ गते नयाँ वाणिज्य सचिवका रूपमा आएका थिए ।

नयाँ सचिव मन्त्रालयमा आएपछि निगममा गएर रिपोर्ट लिने र निर्देशन दिने प्रचलन थियो । तर, निगम जानेबित्तिकै ढुवानी भाडा वृद्धिसम्बन्धी प्रस्ताव आउने बुझेर अहिलेसम्म उनी नगएको उद्योग मन्त्रालयका एक अधिकारीले बताए ।

भदौ २८ भन्दा पहिले वाणिज्य सचिव रहेका गणेश पाण्डेले पनि ढुवानी भाडा वृद्धि गर्दा विवादमा परिने भन्दै रोकेका थिए । निर्देशन नमानेका कारण उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानियो ।

चुनावको मिति घोषणा हुनुभन्दा पहिले नै पेट्रोलियम पदार्थको ढुवानी भाडा वृद्धि गर्ने प्रस्ताव मन्त्रिपरिषद् लानको लागि मुख्य सचिव शंकर दास बैरागीको हातमा पुगेको थियो । तर, मुख्यसचिवले निगम सञ्चालक समितिले नै भाडा वृद्धिको निर्णय गर्न सक्ने भन्दै फाइल फिर्ता गरिदिएका थिए ।

निगम नेतृत्व ढुवानी भाडा वृद्धिको पक्षमा भएपनि सचिवहरूले साथ नदिएपछि यो फायल निगममै थन्किरहेको छ ।

सीमित व्यवसायी, कर्मचारी र मन्त्रीको योजनामा निगमका ट्यांकरको ढुवानी भाडा २० प्रतिशत बढाउने तयारी गरिएको हो । घाटामा रहेको निगमलाई यो भाडा वृद्धिले मासिक पाँच करोड व्ययभार थपिनेछ ।
नेपाली कांग्रेसनिकट उद्योग तथा अपूर्ति समितिका सहसंयोजक रहेका पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहरा र विश्व अर्याल ढुवानी भाडा वृद्धिका लागि मन्त्रीलाई दबाब दिइरहेका छन् ।

उद्योग मन्त्रालय स्रोतले भन्यो, ‘अहिले भाडा सचिवज्यूले रोक्नुभएको छ । निगमको सञ्चालक समितिको बैठक नै बस्यो भने भाडा वृद्धिको प्रस्ताव आउने भएर नै बैठक बस्न नसकेको हो । निगमबाट कार्यकारी निर्देशक फायल बोकेर बेलाबेला आइरहेपनि निगमलाई अझै नोक्सान पार्न नहुने भन्दै इन्कार गरिरहनुभएको छ ।’

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले भाडा वृद्धि गर्ने विषयमा छलफल भइरहेको बताए । अब केही दिनमा निर्णय हुनसक्ने उनको भनाइ थियो ।

अहिले कहाँको ढुवानी भाडा कति छ ?

निगको डिपोबाट १५ किलोमिटरसम्म प्रतिहजार किलो लिटर ३ सय ८३ रुपैयाँ रहेको छ । विराटनगरदेखि चारआलीसम्म प्रतिहजार किलो लिटर १ हजार २८ रुपैया, विराटनगदेखि भद्रपुरसम्म प्रतिहजार किलो लिटर १ हजार ८३ रूपैयाँ, विराटनगरदेखि जनकपुरसम्म प्रतिहजार किलो लिटर २ हजार ५० रूपैयाँ, अमलेखगञ्जदेखि विराटनगरसम्म प्रतिहजार किलो लिटर ३ हजार १ सय २० रुपैयाँ, अमलेखगञ्जदेखि भलबारी तथा अमलेखगञ्जदेखि पोखरासम्म प्रतिहजार किलो लिटर २ हजार २ सय ८५ रुपैयाँ, अमलेखगंजदेखि थानकोटसम्म प्रतिहजार किलो लिटरल २ हजार ६ सय ८४ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

One thought on “पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाउन मन्त्री बडूको ‘अन्तिम प्रयास’, वाणिज्य सचिव असहमत

  1. भाडा बढाईदिए बापत नजराना चढाउँछन् व्यापारीले । अनि त बढाउने प्रयास गर्नै पर्यो नि । कमाउन त मन्त्री भएको । काँग्रेस न परे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर