‘भ्रष्टाचार गर्दैनन् भनेर महिलालाई भोट दियौं’ – Nepal Press

‘भ्रष्टाचार गर्दैनन् भनेर महिलालाई भोट दियौं’

लहान । सप्तरीको सुरुङ्गा नगरपालिका- ४ की भुखनीदेवी चौधरीलाई यस पटकको स्थानीय चुनाबबाट महिलाले नै मेयर जित्नुपर्छ भन्ने लाग्यो । मेयरको लागि महिला उम्मेदवार गीता चौधरीलाई उनले भोट पनि हालिन् । गीताले जितिन् पनि ।

हरेक पटक पुरुषले टिकट पाउँछन् । यसपटक महिलालाई पालो दिनुपर्छ भन्ने लागेर भोट हालेको उनले बताइन् । नगरपालिका गेट अगाडि सिलाइकटाइको पसल गर्दै आएकी भुखनीलाई नगरवासीको चाहनाअनुसार चौधरीले काम गर्छिन् भन्ने ढुक्क छ ।

सुरुङ्गा नगरपालिका- ४ कै बमभोल ठाकुरले पनि यसपटक महिला उम्मेदवार रोजे । उनले महिला उम्मेदवार शिक्षित र युवा भएकाले रोजेको बताए । महिलाले भ्रष्टाचार गर्दैनन् भनेर यस पटक महिलालाई भोट दिएको ठाकुरको भनाइ छ ।

त्यसैगरी गीतालाई जिताउन भोट हालेकी सुनिता चौधरीको घर सुरुङ्गा नगरपालिका- ८ मलनिया हो । मेयर चौधरीले निर्वाचित हुनुभन्दा अगाडिका पाँच वर्ष समुदायमा राम्रो काम गरेको हुँदा जितेर आएपछि अझै बढी काम गर्ने लागेर भोट दिएको सुनिताले सुनाइन् । कोरोनाको समय राहत बाँड्ने, समुदायमा आँखा शिविर, स्वास्थ्य शिविर र विकासका काममा खबरदारी गर्दै आएकी चौधरीले पदमा पुगेपछि त अझै धेरै काम गर्छिन् भन्ने लागेर भोट दिएको सुनिताले बताइन् ।

सबैको रोजाइमा चौधरी पर्नुको कारण शिक्षित पढे-लेखेको युवा र महिला भएको उनले बताइन् । यसपटक जुनै पार्टीको भए पनि महिलालाई जिताउने भनेर महिलाहरु नै लागेका थिए । महिलासँगै पुरुषहरुले पनि भोट दिए र जिताए पनि ।

यो एउटा ऐतिहासिक तस्वीर हो, जहाँ सुरुङ्गा नगरपालिकाकी प्रमुख गीता चौधरीले उपप्रमुख, वडा अध्यक्षलगायतका निर्वाचित जनप्रतिनिधिहरुलाई सपथग्रहण गराएकी थिइन् । सुरुङ्गाका मेयर चौधरीको मात्र होइन, हामी सबैको चाहना छ नेतृत्व र कार्यकारी पदमा यसरी नै महिलाहरु आऊन् । उनी युवा पनि र महिला पनि । अहिलेको राजनीतिक परिवेशमा चाहेकै नेतृत्वलाई सुरुङ्गावासीले चुनेका छन् ।

सप्तरीको इतिहासमा पहिलो पटक सुरुङ्गा नगरपालिकाले महिला मेयर पाएको हो । मेयर गीता चौधरीले स्थानीय निर्वाचन २०७९ मा करिब तीन हजार मतले प्रतिपक्षीलाई पछि पार्दै सात हजार २९२ मत प्राप्त गरेर विजयी भएकी थिइन् ।

चौधरीको उम्मेदवारी परेदेखि नै युवा र पढे-लेखेकी, महिला उम्मेदवारप्रति सुरुङ्गा नगरवासी उत्साहित थिए । तर, उनकै पार्टीका नेताहरु भने रुष्ट थिए । पार्टीका नेताहरुबाट साथ नपाएकी चौधरीले मतदाताको भने राम्रो साथ पाइन् । महिला, पुरुष, युवादेखि वृद्धवृद्धाले समेत चुनाव प्रचारप्रसारमा बलियो साथ दिए ।

चौधरीको राजनीतिक यात्रा

चौधरी राजनीतिक पृष्ठभूमि जोडिएको परिवारबाट आएकी हुन् । उनको माइतीको ठूलो बुवा र घरपट्टिको पनि ठूलोबुवा ससुरा पूर्वगाविस अध्यक्ष हुनुहुन्थ्यो । अहिले दोस्रो पुस्तामा भने चौधरीमात्रै राजनीतिमा छन् ।  चौधरी  स्थानीय चुनाव अगाडि काठमाडौंमा बसेर स्कुल चलाउँथिन् । उनका ससूरा जनकपुर चुरोट कारखानाका रिटायर्ड कर्मचारी हुन् । उनको परिवारका अरु सदस्य कोही सरकारी तथा अन्य क्षेत्रका कर्मचारी छन् ।श्रीमान नेपाल सरकारको उपसचिव तहको कर्मचारी छन् ।

चौधरीको परिवार शिक्षित र आर्थिक रुपले सम्पन्न छ । राजनीतिमा परिवारको ठूलो सपोर्ट छ उनलाई । उनको राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै सुरु भएको थियो । राजनीतिक घरनामा विवाह भएपछि उनलाई झन सजिलो भयो । उनी राजनीतिमा सक्रिय रहे पनि सुरुमा कुनै पदमा बसिनन् ।

जनआन्दोलन २०६२/०६३ मा सक्रिय सहभागी भइन् । पार्टीका हरेक गतिविधिमा अगाडि सरिन् । २०७० सालमा विजय गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य भएर काम गरिन् । पछि फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबीच पार्टी एकता भयो । त्यसपछि उनी नेपाली कांग्रसमै सक्रिय भइन् । नेपाली कांग्रेसकोे १४ औं महाधिवेशनमा उनी महाधिवेसन प्रतिनिधिमा निर्विरोध निर्वाचित भइन् ।

आफ्नै पार्टीको बागीको सामना

जनताको भारी मतले निर्वाचित चौधरीले प्रतिपक्षीसँग भन्दा पनि आफ्नै पार्टीबाट भएको विरोध र बागी झेल्न भने निकै संघर्ष गर्नुप¥यो । उनीविरुद्ध कांग्रेस महासमिति सदस्य नारायण चौधरीले बागी उम्मेदवारी दिएका थिए । चौधरीले मेयरको टिकट पाएपछि रुष्ट बनेका नेताहरुले ‘महिला कतै मेयर हुन्छ ? हामी महिलाको पछिपछि हिँड्ने ? अब हामीले महिलालाई मेयर भनेर नमस्कार गर्नुपर्ने’ भन्ने जस्ता अपमानित र तुच्छ वचन लाएको सुनाइन् ।

चुनावमा सहयोग गर्नुको साटो नेताहरुले चौधरीसँग बोलचालै बन्द गरे । औंलामा गन्न सकिने व्यक्तिहरुमध्येका केहीले मात्रै आफूलाई साथ दिए चौधरीले बताइन् । उनका अनुसार अरु सबैले बागीकै साथ दिए ।

जे भए पनि उनले हिम्मत हारिनन् । ‘नेताहरुको साथ त भएन । तर, जनताको ध्यान कसरी जित्न सकिन्छ, तन मन त्यतातिर लगाएँ । जनताले ठूलो साथ दिए । चुनाव जितें’, चौधरीले सगर्व भनिन् ।

महिला भएपछि उपप्रमुखकै सम्बोधन

गएको स्थानीय तह निर्वाचनको परिणामलाई हेर्ने हो भने प्रमुख पदमा ९९ प्रतिशत पुरुष विजयी हुँदा महिला १ प्रतिशतमात्रै रहेका छन् । देशभरमा १२ जना महिला मेयर र १२ जना नै अध्यक्ष निर्वाचित भएका छन् । वडाध्यक्षमा ६९ जना महिलामात्रै निर्वाचित भएका छन् । पार्टीले प्रमुख पदमा महिलालाई उम्मेदवार नै बनाएको छैन । पार्टीले टिकट दिएका ठाउँमा महिलाहरु राम्रो मत ल्याएर विजयी भएका छन् ।

नेपालको संविधानले महिलालाई राजनीतिमा ३३ प्रतिशत सहभागिता सुनिश्चितता गरेको छ । स्थानीय निर्वाचनमा प्रमुख र उपप्रमुखमध्ये एक जना अनिवार्य महिला हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार महिलाहरु थारै भए पनि प्रमुख पदमा पुगेका छन् । तर, संविधानको यो व्यवस्थालाई अहिले पनि उपप्रमुख महिला हो भन्ने सोच समाजमा मात्रै होइन राज्यको जिम्मेवार निकायमा रहेका व्यक्तिहरुमा समेत रहेको चौधरीले सुनाइन् ।

आफू मेयरमा निर्वाचित भए पनि पालिका बाहिर जाँदा उपमेयर नै भनेर सम्बोधन गर्ने गरेको उनले बताइन् । ‘महिला देख्नेबित्तिकै उपमेयर या उपाध्यक्ष नै हुन् भन्ने छ । जनताले मलाई मेयर पदमा निर्वाचित गरे । तर, मैले हरेक ठाउँमा अहिले पनि ‘म मेयर हो’ भनेर भन्दै हिँड्नुपरेको छ’, उनले भनिन् ।

उनले एउटा भोगाइ यसरी सुनाइन्:

मधेस प्रदेशका जनप्रतिनिधिलाई प्रदेश सरकारले गएको जेठ २७ र २८ गते बर्दिबासमा प्रशिक्षण कार्यक्रम राखेको थियो ।

परिचय दिँदा मैले म सप्तरीको सुरुङ्गा नगरपालिकाको मेयर भनेर दिएँ । कार्यक्रम सकिएपछि महिला सहभागीबाट एकजनालाई बोल्न आग्रह गरियो । मैले आफ्नो कुरा राखेँ । मन्तव्य राख्ने क्रममा पनि मैले मेरो परिचयसहित भनाइ राखेँ । बोलिसकेर मञ्चबाट तल जब म झरेँ कार्यक्रम सञ्चालकले मलाई उपमेयर नै भनेर सम्बोधन गर्नुभयो । मैले भनेँ, ‘म उपमेयर होइन, मेयर हो सुरुङ्गा नगरपालिकाको मेयर’ ।

यो एउटा उदारणमात्र हो । यस्ता घटना मसँग दिनहुँ हुन्छ । मलाई र एउटा पुरुषलाई जब सँगै देख्छन् । त्यो पुरुषलाई मेयर र मलाई उपमेयर भन्छन् । होइन म मेयर भन्छु । ए तपाईं हो मेयर भनी आश्चर्य व्यक्त गर्छन् । यस्तो खालको सोच छ, यसमा परिवर्तन गर्नुपर्छ ।

‘मेरो जीतले प्रमुखमा महिला आउने बाटो खुल्यो’

‘निर्वाचित भएर आउँदा म जति खुशी थिएँ । त्यति नै खुशी मेरो नगरपालिकाका दिदीबहिनीहरु थिए । मेरो जीतलाई उनीहरुले आफ्नै जीत जसरी खुशी मनाए’, मेयर चौधरीले भनिन्, ‘महिलाको मात्रै भोटले जितेको होइन । मलाई जिताउन पुरुषको पनि ठूलो भूमिका छ । उहाँहरुको मतले नै जितें । तर, मेरो जीत सबै महिलाहरुको जीत हो भन्ने महसुस गरेकी छु ।’

पुरुष निर्वाचित हुँदा छेउछाउमै नजाने महिलाहरु आफू निर्वाचित हुँदा अँगालो हालेर फोटो खिचाउँदै महिलाहरुले उत्सव मनाएको उनले सुनाइन् ।

‘दिदीबहिनीहरुले यस्तो पनि महसुस गर्नुभयो कि भोलि हामीले पनि जित्न सक्छौं । सबैभन्दा ठूलो सन्देश यही गएको छ’, उनले थपिन्, ‘मेरो जीतले महिलाहरुको हिम्मत बढाएको छ । मेरो विजयले आउँदा दिनमा अरु महिलाहरुलाई पनि मेयर बन्न बाटो खुल्यो जस्तो मलाई लागेको छ ।’

महिलाको सहभागिता समावेशी बनाउनमात्रै होइन, महिलाको योग्यता, क्षमता, उनले गरेको योगदानका आधारमा अवसर दिन यसले दबाब सिर्जना गर्ने उनले विश्वास व्यक्त गरिन् ।

यस्तो छ नगर विकासको योजना

‘नगरवासीले जुन उत्साह, आशा र भरोसाले मलाई जिताउनुभएको छ । त्यो उत्साह कम हुन दिनेछैन । जनताको अपेक्षा र आशाअनुसार म काम पनि गर्नेछु’, मेयर चौधरीले भनिन्, ‘नगर विकासको लागि शिक्षा, स्वास्थ्य, कृषि, पशु, पूर्वाधार, पर्यटन, महिला सशक्तीकरण, नेतृत्व विकास र सीप विकासमा केन्द्रित रहनेछु ।’

उनले पहिलो प्राथमिकता शिक्षा विकासलाई दिने आफ्नो योजना सुनाइन् । ‘शिक्षापछि स्वास्थ्य, कृषि, पूर्वाधार विकास, किशोरी सशक्तीकरण र महिलालाई आयआर्जनको कामतर्फ पनि केन्द्रित हुनेछु’, मेयर चौधरीले भनिन् । युवालाई सृजनात्मक काममा प्रेरित गर्ने सोचका साथ काम गर्ने उनको योजना छ । विगतका अधुरा योजना सबै पूरा गर्ने उनले बताइन् ।

महिलाको आर्यआर्जन र हिम्मत बढाउने

आफ्नो कार्यकालमा नमुनायोग्य काम गर्ने योजना रहेको उनले सुनाइन् । ‘नीतिगत रुपमा हरेक क्षेत्रलाई महिलामैत्री बनाउन चाहन्छु । हाटबजार, कृषि व्यापार, जुनै क्षेत्रमा महिलाको उचित व्यवस्थापन गर्ने मेरो जिम्मेवारी हो’, उनले थपिन्, ‘म महिला भएकाले महिलाका अलि बढी आशा छन् । त्यो पनि पूरा गर्नुछ ।’

मेयर चौधरीले महिलाहरुको नेतृत्व विकासका लागि समेत काम गर्ने बताइन् । ‘महिलामाथि अहिले पनि हिंसा छ । विभेद छ । महिलाहरुमा आत्मविश्वासको कमी छ । उनीहरुमा कसरी आत्मविश्वास उत्पन्न हुन्छ । म जुन क्षेत्रमा छु, म गर्न सक्छु । म गर्छु भन्ने महिलाहरुमा हिम्मत र भावना जगाउन आत्मविश्वास बढाउन जरुरी छ’, उनले थपिन्, ‘म त्यसको लागि काम गर्छु । किशोरीहरुलाई आत्मबल बढाउने काम गर्छु र उनीहरुको शिक्षामा प्राथमिकता दिनेछु । महिलामाथि हुने हिंसा अन्त्यका लागि आर्थिक रुपमा सबल हुनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *