धरानको मेयरमा लौरोलाई पछ्याउँदै गठबन्धन, उपमेयरमा गठबन्धनको अग्रता घटाउँदै एमाले – Nepal Press

धरानको मेयरमा लौरोलाई पछ्याउँदै गठबन्धन, उपमेयरमा गठबन्धनको अग्रता घटाउँदै एमाले

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना सुचारु भएको छ । निर्वाचन आयोगले हस्ताक्षर नगरिएको मतपत्र बदर गर्ने र हस्ताक्षरविनाका फेला परेको स्थानका मतदान अधिकारीलाई विभागीय कारबाही गर्ने निर्णयभएसँगै रोकिएको मतगणना सुचारु भएको हो ।

धरान उपमहानगरपालिकामा हस्ताक्षर नगरिएको मतपत्र भेटिएपछि त्यसलाई सदर मान्ने अथवा बदर गर्ने भन्ने विवादका कारण बुधबार दिउँसो २ बजेदेखि मतगणना नै स्थगित भएको थियो ।

जारी मतगणनाका क्रममा वडा नम्बर २० का १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि माओवादी केन्द्रका कार्यकर्ताले विरोध जनाउँदै मतगणना स्थल पब्लिक स्कुलमा तोडफोड गरेका थिए ।

धरान उपमहानगरपालिकाको मतगणना जारी रहँदा शुरुदेखि नै अग्रता लिइरहेको सत्ता गठबन्धनमाथि स्वतन्त्र उम्मेदवार लौरो चिन्हवाहक हर्क साङपाङ हाबी हुँदै गएका छन् ।

पछिल्लो गणना अनुसार लौरो ८ हजार ६६ मतसहित अग्रस्थानमा छ । गठबन्धनका किशोर राई ८ हजार ४१५ मतसहित लौरोलाई पछ्याउँदै छन् भने एमालेकी मन्जु भडारी ६ हजार ८९५ मतका साथ निकै तल छिन् ।

उपमेयरमा भने गठबन्धन र एमालेको प्रतिस्पर्धा देखिन्छ । गठबन्धनका उम्मेदवारले ९ हजार ५२० मत पाउँदा एमालेका उम्मेदवारले ९ हजार १६२ मतसहित पछ्याइरहेका छन् ।

अहिले वडा नम्बर ८, १२ र १९ को मतगणना जारी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर