विवाहः उत्सवलाई बन्धन बनाइएको एक परम्परा – Nepal Press
ब्लग

विवाहः उत्सवलाई बन्धन बनाइएको एक परम्परा

मंसिरलाई विवाहको महिना पनि भनिन्छ । किनकि, यो महिनामा विवाहका धेरै लग्न हुन्छन् र विवाह हुन्छन् ।

मंसिरसँगै सुरु हुन्छ, केटालाई केटी र केटीलाई केटा खोज्ने चटारो । बाआमालाई हतार हुन्छ, लगन छोप्न । यस्तो लाग्छ कि, कुनै ठूलो होडबाजी चलिरहेको छ ।

अझ धेरै केटीका बाबुआमाहरू यहीं कुरामा बढी सावधान हुन्छन् कि आफ्नी छोरीमा कुनै खोट नदेखियोस्; सकभर पहिलोपटक हेरेको केटाले नै विवाहको लागि ‘हुन्छ’ भनिदियोस् । पहिलो केटाले नै छोरीलाई मन पराइदियोस् । किनकि पहिलो केटाबाट अस्वीकार हुनु भएको केटी र केटीको परिवारको लागि बढो हीनताबोधको कुरा हुन्छ । पहिलो केटाबाट अस्वीकार भएकी केटी र केटीको परिवारलाई हेर्ने हाम्रो समाजको दृष्टिकोणमा अझै परिवर्तन आएको छैन ।

त्यसैले पनि आमाबाबु यो कुरामा बढी सजग देखिन्छन् । साथै ‘आफ्नो क्षमतामाभन्दा माथि गएर’ छोरीको विवाह गरिदिन बाबुआमा तयार हुन्छन् । केटो कति शिक्षित, क्षमतावान् वा समझदार छ भन्नेमा केटीको परिवारको ध्यान जाँदैन । केटो र केटाको परिवारको मर्जी भए पुगिहाल्यो । त्यहाँ केटीको रहर, चाहना वा भावनाको कुनै कदर हुँदैन । आफ्ना हरकुरा मनमै दबाएर परिवारको निर्णयमा मुन्टो हल्लाउन अभीषप्त हुन्छिन्, केटी ।

अक्सर मंसिर महिनामा धेरैजसोको विवाह हुन्छ । कतिको प्रेम सम्बन्ध छुट्छ, कतिको प्रेम सम्बन्धले पूर्णता पाउँछ । जे हो होस्, मंसिरमा रुने र रुवाउने खेल राम्रै चल्छ ।

अनि केटीहरु पनि यसरी उपस्थित हुन्छन् कि, मानौँ उनीहरु कतै सजाएर राखेका सुन्दर खेलौना हुन् । जसलाई भर्खर दराजबाट बाहिर निकालिँदैछ । र फेरि दुःख त कहाँ लाग्छ भने केटीहरू पनि बिनाविरोध, बिनासवाल–जवाफ गुडिया बन्न तयार भइदिन्छन् ? र गुडिया बनेर उपस्थित पनि भइदिन्छन् । यो पितृसत्ताको सोच कतिसम्म हाबी हुन सकेको होला, महिलाहरुको जिन्दगीमा । अझ कहिलेसम्म होला महिलाहरु पितृसत्ताको सिकार भइरहने ?

अक्सर मंसिर महिनामा धेरैजसोको विवाह हुन्छ । कतिको प्रेम सम्बन्ध छुट्छ, कतिको प्रेम सम्बन्धले पूर्णता पाउँछ । जे हो होस्, मंसिरमा रुने र रुवाउने खेल राम्रै चल्छ । कतिको विवाह गर्ने सपना हुन्छ, कतिले घरकाको करले विवाह गरेका हुन्छन् । कतिलाई बाबुआमालाई मर्न सजिलो बनाइदिनलाई पनि विवाह गर्नुपर्ने हुन्छ । अनेकौं कारणसहित एउटा केटीले विवाह मण्डपदेखि केटाको घरसम्मको दूरी तय गर्छे ।

राजीखुसिले बिहे गर्नेको लागि त ठीक छ बिहे । तर हाम्रो समाजमा विवाहको लागि यस्तो मापदण्ड तय गरिएको छ, जसलाई पूरा नगर्नु ठूलै पापसरह मानिन्छ । केटीले, केटीका परिवारले समाजका अनेकौं कुराहरु सुन्नुपर्ने हुन्छ । कहिलेकाहीँ त स्थिति यतिसम्म बन्न जान्छ कि सुन्नसक्ने क्षमता पनि सकिएर जान्छ ।

अझ अलिकति उमेर पुगेका केटीहरुका लागि मंसिर महिना सकसपूर्ण नै हो । जसले पाइला–पाइलामा एउटै सवाल खेप्नुपर्ने हुन्छ । ‘मंसिर लाग्यो त भोज कहिले खुवाउने हो ? योपालिको मंसिर पनि जाला जस्तो छ’ यस्तै यस्तै ।

मलाई विवाहसँग समस्या होइन, विवाहलाई लिएर हाम्रो समाजले तोकेको मापदण्डसँग हो । विवाह आफैँमा समस्या नभए पनि यसैसँगै समाजले तोकेको मापदंडमा प्रचुर समस्याहरू छन्, जसमा केटीको उमेर, केटीको संस्कार, केटीको कपाल र केटीको पहिरन आदिआदि प्रमुख कुरा हुन आइदिन्छ ।

एकपल त यस्तो लाग्छ– हाम्रो समाजले ‘केटी पनि मान्छे नै हो’ भनेर सोच्नै बिर्सन्छ । उसलाई मान्छेको दृष्टिकोणले हेर्नै चाहन्नन् । बस् हेर्छ त लिंगको रूपमा– ‘ऊ छोरी हो, ऊ केटी हो । बीस वर्ष पुगेपछि विवाह गर्नै पर्छ, नभए विवाहको उमेर सकिएर जान्छ । यो उमेरमा विवाह भएन भने समाजको हिस्सा बन्न सुहाउँदिन ।

अझ अलिकति उमेर पुगेका केटीहरुका लागि मंसिर महिना सकसपूर्ण नै हो । जसले पाइला–पाइलामा एउटै सवाल खेप्नुपर्ने हुन्छ । ‘मंसिर लाग्यो त भोज कहिले खुवाउने हो ? योपालिको मंसिर पनि जाला जस्तो छ’ यस्तै यस्तै ।

केटाहरुलाई अर्कै सोचले प्रताडित बनाइरहेको हुन्छ– प्रेमिकालाई कुन चाहिँ पिआरवालाले उडाउँने हो ! जब जब यस्ता स्टाटस, ट्वीटहरू प्रकाशित भएका भेटिन्छन्, अनि केटा मान्छेहरुका यस्ता सोचहरू सुनिन्छन्, तिनले अचम्मित पार्छन् ।

किनकि जुन प्रेम सम्बन्धमा विश्वासको डोरी नै कायम भएको हुँदैन, यस्तो प्रेमबाट कस्तो अपेक्षा राख्ने ? अनि केटीहरुले आफ्नो भविष्य सोच्नै नपाउने यो कस्तो दासत्व हो ? विवाहपछि अधिकांश केटीहरु श्रीमानको अधिनमा हुन्छन्, यो कुरा भन्नै पर्दैन । अब कि विवाहअघि प्रेमीको अधिनमा पनि हुनै पर्ने । अझ दुईचार दिन भेटेर बोलेको मान्छेको अधिनमा हुनैपर्ने सोचको उपज केटीको जीवनलाई नै नियन्त्रित हुने गरेको छ ।

अघिपछि छोरीको कपडा, संस्कार र कपालको कुरालाई नजरअन्दाज गरिरहेका बाबुआमालाई विहेको कुरा चलेसँगै सबै कुराको चासो हुन्छ । हिजोसम्म पाइन्ट टिसर्ट लगाइरहेकी छोरीलाई आमाको उर्दी जारी हुन्छ– कुर्ता लगाऊ, सल ओड, आफूलाई छोपेर हिँड, कपाल नकाट, उता केटाहरुलाई मन पर्दैन । खाना बनाउन सिक, तिमीलाई हेर्न केटाहरु आउँदैछन् । चिटिक्क परेर बस । धेरै नबोल । बेस्सरी नहाँस । उपरखुट्टी हालेर नबस । ओहो ! यस्तो कुरा कति हो कति ! त्यतिबेला लाग्छ विश्वविद्यालयको प्रमाणपत्र फिक्का पार्दैछ । बरु भान्साको, घरको अनि केटाको अगाडि कसरी प्रस्तुत हुने भनेर कक्षा लिएको भए हुन्थ्यो होला ।

विवाहले किन एउटी केटीको लागि यति धेरै बारहरु, मापदण्डहरु निर्माण गरिदिन्छन् होला ? आफ्नो जिन्दगी, सोच, निर्णय, फैसला, अनुभूतितहरु पनि त हुन्छन् होला । आफ्नो लागि के सही, के गलत भनेर आफैँ पनि सोच्नसक्ने भएको हुनैपर्छ ।

बाबु–आमाको त छँदै थियो, दाइ–भाइको पनि राम्रै प्रभुत्व हुन्छ केटीको जिन्दगीमा । कहिलेकाहीँ सोच्छु यतिका मान्छेले प्रभुत्व राखिरहँदा कहाँ हुन्छे स्वयम् एउटी केटी मान्छे ? कहाँ छ उसको स्वतन्त्रता, उसको सोचको सम्मान ? कहाँ छ उसको भावनाको कदर ? कहाँ छे ऊ स्वयम् ? कहिलेकाही यी र यस्ता प्रश्नले खुब रन्थल्याउँछ ।

विवाहको आफ्नै ठाउँ होला हरेकको जिन्दगीमा । तर कयौंपटक असहमति जनाउँदा जनाउँदै पनि कयौं केटीहरूले आफ्नै केटा साथीहरुबाट दुर्व्यवहार सहनु परेको हुन्छ । प्रेम सम्बन्धलाई अस्वीकार गरेकै कारण जल्नु र जलाइनु परेको हुन्छ, तीब्र मानसिक पीडा वा एसिड आक्रमणसम्मका अपराधको सिकार बन्नुपर्छ । योभन्दा निकृष्ट सोच वा स्थिति के होला ?

विवाहलाई नै जिन्दगी मान्नेको ठूलै संख्या छ हाम्रो वरपर । अधिकांश केटीहरू विवाहको सपना देखेर विवाहकै सिकार हुन्छन्, हाम्रो समाजमा । विवाहलाई जिन्दगीको एउटा सुन्दर पक्ष मानेर अगाडि बढ्ने हो, न कि विवाहलाई जिन्दगी बनाएर जिन्दगी नै दाउमा राख्न नपरोस् ! यो कुरा बुझ्न केटीहरुलाई अझ कति समय लाग्ने हो, भन्न गाह्रो छ । र पितृसत्ताको यो जरोले कहिलेसम्म हामीलाई सताइरहने हो ?

विवाहको सकारात्मक र नकारात्मक पक्षलाई नकेलाइक पाइला चाल्नेहरूको समूह एकातिर छ भने विवाहको नकारात्मक पक्षलाई मात्र हेरर यसको आलोचना गर्ने समूह पनि कम छैन हाम्रो समाजमा ।

छोरीलाई पढाउन सक्ने, उनीहरुलाई हिम्मत र उडान भर्न सपना देखाउने सक्ने बाबुआमाले किन छोरीको आत्मनिर्भर बन्ने चाहनालाई नजरअन्दाज गरिदिन्छन् ? छोराको आत्मनिर्भरतालाई खुसीका साथ स्वीकार गर्ने बाबुआमाले बुहारी घरेलु नै किन खोज्छन् ?

बदलिँदै गरेको समाज, बदलिँदै गरेको समय अनि यो समयसँग जुध्न नसकेका कतिपय युवाहरु– विवाह जति केटीको लागि असहज र हाउगुजीको विषय बनेको छ, त्यति नै केटाको लागि पनि असहज विषय हो । प्रेम विवाह आफ्नो ठाउँमा छ तर आज पनि हाम्रो समाजले, हाम्रा आमाबाबुले चाहने, खोज्ने र रोज्ने भनेको मागी विवाह नै हो ।

मागी विवाहको महत्व नै छुट्टै हुन्छ हाम्रो समाजमा । प्रेम विवाहलाई आज पनि हाम्रो समाजमा पूर्णतया राम्रो नजरले हेरिँदैन । न पाउनु पर्ने जति इज्जत प्रेम विवाहले पाउँछ । त्यसैले विवाह केटा पक्षको लागि पनि त्यति नै नयाँ, कौतुहलता र असहजताको विषय हो जति एउटा केटीको निम्ति हो । तर विहेकै नाममा केटाभन्दा केटीहरु बढी सिकार हुन पुग्छन् हाम्रो समाजमा ।

छोरीलाई पढाउन सक्ने, उनीहरुलाई हिम्मत र उडान भर्न सपना देखाउने सक्ने बाबुआमाले किन छोरीको आत्मनिर्भर बन्ने चाहनालाई नजरअन्दाज गरिदिन्छन् ? छोराको आत्मनिर्भरतालाई खुसीका साथ स्वीकार गर्ने बाबुआमाले बुहारी घरेलु नै किन खोज्छन् ?

मैले आफ्नो जिन्दगीमा परिपक्वतासँगै स्वतन्त्रतासँग केही चुनौतीपूर्ण वसन्तहरू पार गरिरहँदा जसरी मंसिर र भोजलाई लिएर प्रश्नहरू सुनेँ, तिनको सामना गरेँ, ती कुराले मलाई केही फरक तरिकाले सोच्न सिकायो । जुन म आफ्नो उपलब्धी मान्छु । मलाई यी दिनहरुमा विवाहसँग समस्या होइन, तर मलाई जहिले पनि स्वतन्त्रता, आत्मनिर्भरता र आफ्नोपनसँग प्रेम रहिरह्यो र रहिरहने छ– यो सत्य हो ।

केटीले आफ्नो निम्ति श्रीमानभन्दा बढी एउटा साथी चाहन्छे, जसले उसका सारा कुरालाई सहजै बुझिदियोस् । उसका खुसी, उमंग सहजै बुझिदियोस्, बाँडिदियोस् वा ग्रहण गरिदियाेस् ।

दुःख त कसको जिन्दगीमा हुँदैन र, संघर्ष कसले गर्दैन र ? बश उसका खुसीमा ऊजत्तिकै खुसी र उत्साही हुने साथी होस्, जीवनसाथी ।

जुन दिन हाम्रो समाजले छोरीलाई एउटी पूर्ण मान्छेको व्यवहार गर्छ, श्रीमानले श्रीमती मात्रै भन्दा पनि साथी सोच्छ, त्यसदिनदेखि बाआमालाई पनि छोरीको विहे गरिदिन हतार हुँदैन । अनि, आफन्तले पनि हरेक वर्ष सोध्ने छैनन्– मंसिर लाग्यो, भोज खुवाउने हैन त !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *