उद्योगमा उमेशकै चर्चा, फेरि विवाद बल्झने डर – Nepal Press

उद्योगमा उमेशकै चर्चा, फेरि विवाद बल्झने डर

काठमाडौं । मन्त्री बनेको ७२ घण्टा नबित्दै गजेन्द्र हमालले राजीनामा दिएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फेरी नेतृत्वविहीन भएको छ । तत्काललाई सो मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवा मातहत नै रहेपनि नयाँ मन्त्री को बन्ला ? भन्ने चर्चा कांग्रेस वृत्तमा सुरू भएको छ ।

प्रधानमन्त्री देउवाले यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय मातहत जिम्मेवारी दिएका छन् । स्वास्थ्यबाट जिम्मेवारी खोसिएका श्रेष्ठलाई अब उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने सम्भावना उच्च छ । राज्यमन्त्री श्रेष्ठपनि आफ्नो क्षेत्र सुुहाँउदो हुने भन्दै उद्योगमा जान तयार छन् ।

‘स्वास्थ्यमा उहाँले राम्रै काम गर्नुभएको हो । गठबन्धनका कारण त्यो जिम्मेवारी नभएपनि अब खाली रहेको मन्त्रालय पाउँदापनि उहाँका लागि उपयुक्त हुन्छ’, श्रेष्ठनिकट कांग्रेस नेताले भने ।

यद्यपि कांग्रेसकै केही नेताहरूले विगतमा झै विवाद दोहोरिन सक्ने भएकोले नयाँ व्यक्ति खोज्न प्रधानमन्त्रीलाई सुझाएका छन् । व्यापारिक पृष्ठभूमिका श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउँदा नै तीव्र विवाद भएको थियो । डा.गोविन्द केसी लगायतले स्वार्थ बाँझिने व्यक्तिलाई राज्यमन्त्री बनाएको भन्दै आन्दोलनको चेतावनी दिएका थिए ।

श्रेष्ठलाई उद्योगमा लैजाँदा पनि सोही विवाद दोहोरिने आँकलन कांग्रेस नेताहरूको छ । ‘उहाँलाई स्वास्थ्यमा राख्दा नै विवाद बढ्यो । प्रधानमन्त्रीजीले अब विवाद बढाउन हुन्न, निर्विवाद व्यक्तिलाई उद्योगको जिम्मेवारी दिनुपर्छ’, देउवानिकट नेताको भनाइ छ ।

प्रधानमन्त्री देउवाले पूष्पा भूसाल, किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, डिला संग्रौला, मानबहादुर विश्वकर्मा लगायत आफूनिकट नेताहरुलाई मन्त्रिपरिषद्‍मा समेट्न सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *