कीर्तिमानी योगफल जोगाउँदै डिफेन्डिङ च्याम्पियन ललितपुरको पहिलो जित – Nepal Press
ईपीएल

कीर्तिमानी योगफल जोगाउँदै डिफेन्डिङ च्याम्पियन ललितपुरको पहिलो जित

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को इतिहासकै सर्वाधिक ठूलो योगफल तयार गरेको ललितपुर प्याट्रिओट्सले यो संस्करणको पहिलो जित निकालेको छ ।

शुक्रबार भएको पहिलो खेलमा ललितपुरले विराटनगर वारियर्सलाई ३७ रनले पराजित गरेको हो । पहिलो खेलमा काठमाडौं किङ्ग्स-११ सँग ७ विकेटको पराजयसँगै सिजनको खराब सुरुआत गरेको ललितपुर दोस्रो खेलमा पोखरा राइनोजसँग ९ विकेटले पराजित भएको थियो । यद्यपि, त्यो खेल समयमा सुरू हुन नसक्दा खेल सात ओभरमा घटाइएको थियो ।

तेस्रो खेलमा भैरहवा ग्लाडिएटर्सविरुद्ध बराबरी खेल्दै अंक बाँडेको ललितपुरको यो पहिलो जित हो । दोस्रो इनिङ विशाल लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो । जितसँगै ललितपुरको प्लेअफमा पुग्ने सम्भावना कायमै रहेको छ ।

पहिलो जितका लागि विशाल योगफलको रक्षा गरेको ललितपुरका लागि अज्मतुल्लाह ओमारजाईले ४ विकेट लिए । आफ्नो कोटाको पूरा ४ ओभर बलिङ गरेका ओमारजाईले ३४ रन खर्चेका थिए । यस्तै, ललित नारायण राजवंशीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । यस्तै, योगेन्द्रसिंह कार्कीले ३ ओभरमा २६ रन खर्चेर १ विकेट लिए ।

विराटनगरका लागि दिल्शन मुनाविराले ३९ बलमा ५ चौका र ४ छक्कासहित ५९ रनको अर्धशतकीय इनिङ खेलेका थिए । विराटनगरका लागि वान् डाउनमा क्रिजमा उत्रिएका मुनाविराले ३३ बलमा ५ चौका र ३ छक्कासहित अर्धशतक पूरा गरेका थिए ।

यसअघि चन्द्रपौल हेमराज र आशिफ शेखले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । त्यस्तै, आशिफले र मुनाविरासँग ५५ रनको साझेदारी गर्दै ३० बलमा ६ चौकासहित ३७ रन बनाएर पेभेलियन फर्केका थिए । त्यसपछिका ब्याटरले उल्लेख्य प्रदर्शन गर्न नसक्दा विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८९ मात्र बनाउन सक्यो ।

पहिलो इनिङमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २६ रनको योगफल तयार गरेको थियो । ललितपुरका लागि शानदार इनिङ खेलेका दुई विदेशी खेलाडी सान्दुन विराक्कोडीले ४३ बलमा १० चौका र ३ छक्कासहित ७३ रनको शानदार इनिङ खेलेका थिए ।

यस्तै, अज्मतुल्लाह ओमारजाईले आक्रमक ब्याटिङ गर्दै २४ बलमा ७ छक्कासहित ५८ रनको शानदार अर्धशतकीय इनिङ खेले । यस्तै, कप्तान कुशल भुर्तेल ३२ तथा योगेन्द्रसिंह कार्की २७ बनाएर पेभेलियन फर्किँदा पवन सरार्फ २ रनमा आउट भए ।

ओमारजाई ५८ रनमा अविजित रहँदा नारायन जोशीले ४ बलमा ३ छक्कासहित अविजित १८ रन जोडेका थिए ।

बलिङतर्फ विराटनगरका लागि कप्तान करण केसीले २ तथा सिकन्दर राजा, प्रतिश जिसी र दिल्शन मुनाविराले एक/एक विकेट लिए ।

जारी ईपीएलको चौथो संस्करणमा पहिले ब्याटिङ गर्ने टोलीले जितेको यो पहिलो खेल हो । ललितपुरले जितसँगै ४ खेलबाट तीन अंक जोडेको छ । यस्तै तीन खेलमा अंकविहीन विराटनगरको प्लेअफ छनोटको सम्भावना लगभग टुङ्गिएको छ । बाँकी सबै खेलमा जित निकाले पनि विराटनगरले अरुको नतिजामा निर्भर हुनुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *