माओवादीको ‘आधार इलाका’ रुकुमपूर्वमा एमालेका ७७ जिल्लामध्ये सबैभन्दा कान्छो जिल्ला अध्यक्ष बने लिलामणि – Nepal Press

माओवादीको ‘आधार इलाका’ रुकुमपूर्वमा एमालेका ७७ जिल्लामध्ये सबैभन्दा कान्छो जिल्ला अध्यक्ष बने लिलामणि

रुपन्देही । नेकपा माओवादी केन्द्रले आधार इलाका मान्दै आएको जिल्ला हो लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्व । संघीय संरचनाअघि रुकुमपूर्व र रुकुमपश्चिम एकै जिल्ला रहेका थिए ।

त्यो बेला रुकुम र रोल्पाबाटै माओवादीले आफ्नो सशस्त्र युद्ध सुरु गरेको थियो । शान्ति प्रकृयामा आएपछि पनि यहाँबाट अहिलेसम्म माओवादीले जित्दै आएको छ तर पछिल्लो समय माओवादीमा बढ्दै गएको विग्रह र प्रभावशाली नेताहरु एमालेमा लागेर अघि बढ्न थालेपछि क्रमशः पुरानो बलियो क्षेत्र कमी हुँदै आएको छ ।

पछिल्लो स्थानीय तहको निर्वाचनमा ३ गाउँपालिकाको ३१ वडा रहेको रुकुमपूर्वमा एमालेले १ पालिका उपाध्यक्ष र ५ वडाध्यक्ष जितेको थियो ।पहिले सांगठनिक क्षेत्रमा कमजोर रहेको यो जिल्लामा एमालेले युवा पिँढीलाई अगाडि सारेको छ ।

रुकुमपूर्वको नवौं जिल्ला अधिवेशनबाट एमालेको ७७ जिल्लामा अहिले बहाल रहेका जिल्ला अध्यक्षहरुमध्ये कम उमेरका लिलामणि गौतमले नेतृत्व पाएका छन् । त्यसो त गौतम प्रदेश कमिटीमा यसअघि निर्वाचन जितेरै पुगेका थिए तर भूगोलमा काम गर्ने योजनाका साथ प्रदेश छाडेर जिल्लाको नेतृत्वमा आएको उनको भनाइ छ ।

कान्छो जिल्लाको रुपमा रहेको रुकुमपूर्वको नेतृत्व लिन एमालेमा आधा दर्जनभन्दा बढी आकांक्षी मैदानमा थिए तर पार्टी नेतृत्वले युवा पिँढीलाई अगाडि सार्ने योजनाका साथ सबै आकांक्षीलाई चित्त बुझाएर गौतमलाई अगाडि सारिएको नेताहरुको भनाइ छ ।

जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित गौतम अहिलेसम्म भएका जिल्ला अध्यक्षहरुमध्ये सबैभन्दा कम उमेरमा अध्यक्ष भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । नेकपा एमालेका संगठन विभाग सचिव माधव ढुंगेलले अहिले देशभर रहेका पार्टीका जिल्ला अध्यक्षहरुमध्ये गौतम सबैभन्दा कम उमेरका अध्यक्ष भएको जनाएका छन् ।

‘यसअघि र पछिको विषय फरक कुरा भयो, अहिले बहाल रहेका अध्यक्षहरुमध्ये रुकुमपूर्वका अध्यक्ष लिलामणि गौतम सबैभन्दा कम उमेरको रहेको विषय हामीसँग आएको छ, अहिलेसम्मको आधारमा उहाँ कम उमेरमा जिल्ला अध्यक्ष रहनुभएको छ’ ढंगेलले नेपाल प्रेससँग भने ।

सानै उमेरमा विद्यार्थी राजनीतिमा आवद्ध भएका गौतम अहिले ३६ वर्षका छन् । २०४४ साल कार्तिक २ गते सिस्ने गाउँपालिका वडा नं ६ रुकुमकोटमा जन्मिएका गौतमले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास र जनप्रशासन गरेर दुईवटा विषयमा स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेको जनाएका छन् ।

२०६० सालमा एमालेको पार्टी सदस्यता लिएका गौतम विद्यार्थी संगठन हुँँदै राजनीतिमा आएका हुन् । २०५६ सालमा अनेरास्ववियुको रुक्मिणी माध्यमिक विद्यालयको प्रारम्भिक कमिटीका सचिव भएर विद्यार्थी राजनीतिमा लागेका उनी २०५७ सालमा सोही विद्यालयको प्रारम्भिक कमिटीको अध्यक्ष बनेका थिए ।

यसपछि गौतम २०५८ सालमा अनेरास्ववियु रुकुम जिल्ला कमिटीको सदस्य, २०५९ सालमा जिल्ला कमिटी सचिव र २०६० सालमा जिल्ला अध्यक्ष भएर आफ्नो जिम्मेवारी पूरा गरेका थिए ।

२०६३ सालको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा महेन्द्र बहुमुखी क्याम्पस दाङबाट सदस्यमा निर्वाचित भएका उनी २०६२/०६३ सालको जनआन्दोलनमा संयुक्त विद्यार्थी मोर्चाको घोराही संयोजक र सोही क्रममा गिरफतारीमा परेर २१ दिन प्रहरी हिरासतमा बसेका थिए । २०६३ देखि २०६७ सालसम्म अनेरास्ववियु केन्द्रीय कमिटी सदस्यका साथै सचिवालय सदस्य तथा राप्ती अञ्चल इन्चार्ज भएका गौतमले २०६८ देखि २०७३ सालसम्म नेकपा एमाले रुकुम–काठमाडौं सम्पर्क मञ्चमा रहेर पार्टी जिम्मेवारी पूरा गरेको बताउँछन् ।

रुकुम जिल्ला पूर्व र पश्चिम गरी दुई भागमा विभाजन भएपछि २०७४ सालमा नेकपा एमाले जिल्ला सदस्य भएर पार्टी राजनीतिमा होमिएका गौतम तत्कालीन समयमा एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को रुकुम पूर्व जिल्ला कमिटी सदस्यसमेत भए ।

यसपछि फेरी नेकपा विभाजनपश्चात गौतमले नेकपा एमाले रुकुम पूर्वको जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हाल्ने अवसर पाए । यो संगै उनी लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी पनि पाए । एमालेको दशौं राष्ट्रिय महाधिवेनमा रुकुम पूर्वबाट खुल्ला क्षेत्रबाट प्रतिनिधि भएका उनी पछिल्लोपल्ट सम्पन्न भएको एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट युवाहरुको प्रतिनिधित्व गर्दै प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका हुन्।

विद्यार्थीकालदेखि यहाँससम्म आइपुग्दा निरन्तर संगठिन भएर काम गरेको करिब २४ वर्षपछि रुकुम पूर्वको एमाले हाँक्ने महत्वपूर्ण जिम्मेवारी गौतमको काँधमा आइपुगेको हो । यसअघि उल्लेखित बिभिन्न जिम्मेवारीमा रहेर काम गरेका अध्यक्ष गौतमसंग रुकुम पूर्वको भुगोल, भाषा, संस्कृती र यहाँका जनमनका माग र आवश्यकताबारे राम्रो ज्ञान छ । अध्यक्ष गौतमले पार्टी राजनीतिसँगै विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएर काम गरेको र त्यसैलाई आधार बनाएर अबको जिम्मेवारी पूरा गर्ने बताउँछन् ।

पार्टीको जिल्ला अध्यक्षको जिम्मेवारीमा आएपछि अब पार्टीलाई थप बलियो र संगठित रुपमा अगाडि बढाउने उनले बताउँछन् । ‘भूगोलमा काम गर्ने अठोटका साथ प्रदेश कमिटी छाडेर जिल्लाको नेतृत्वमा आएको हुँ, पार्टी राजनीतिसँगै अन्य सामाजिक क्षेत्रमा पनि म जोडिएर काम गरेको छु, यहाँका जनताका दुःख, अभाव, पिर अनि पीडाका बारेमा भएकाले यसलाई योजना बनाएर काम गर्नेछु’ उनले भने ।

रुकुम पूर्वमा भएका यसअघिका निर्वाचनमा एमालेको पक्षमा प्राप्त मतपरिणमलाई बढाएर जिल्लाको पहिलो पार्टी बनाउन आफ्नो टीमले काम गर्ने प्रतिवद्धता गौतमले गरेका छन् । ‘जिल्लाका तीन वटै पालिकामा बहुमतसहित सरकारको नेतृत्वमा एमालेलाई पुर्‍याएर जिल्लाको पहिलो र सबैको आशा एवम् भरोसाको पार्टी बनाउने योजनाका साथ पार्टीलाई अघि बढाउने छु’ गौतमले भने ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये एमालेले अहिलेसम्म २ जिल्लाको मात्र अधिवेशन पूरा गरेको छ । रुकुममा निर्वाचनबाट नेतृत्व छानिएपनि रुकुमपूर्वमा भने सर्वसम्मत छानिएको हो । रोल्पामा निर्वाचित अमृत बुढा पनि युवा पिँढीबाटै छानिएका छन् । उनी ३९ वर्षको उमेरमा रोल्पाको जिल्ला अध्यक्ष निर्वाचत भएका हुन् ।

एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले रोल्पा र रुकुमपूर्वमा नयाँ पिँढीबाट नेतृत्व पार्टी आएकाले पार्टीलाई थप ऊर्जा थपेको बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर