अरुको नागरिकतामा आफ्नो तस्विर टाँसेर बैंक खाता खोल्दै पैसा ठग्ने सञ्जु यसरी परिन् प्रहरी फन्दामा – Nepal Press

अरुको नागरिकतामा आफ्नो तस्विर टाँसेर बैंक खाता खोल्दै पैसा ठग्ने सञ्जु यसरी परिन् प्रहरी फन्दामा

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र झापा प्रहरीले केही सातायता झापाको काँकडभिट्टा र धुलाबारी क्षेत्रमा रश्मि विश्वकर्मा नाम गरेकी महिला खोजिरहेका थिए । ती महिलाको बैंक खातामा फेसबुकमार्फत ठगी गरिएको रकम जम्मा भइरहेको थियो ।

सामाजिक सञ्जालमार्फत पार्सल आयो भन्दै फोन गर्ने र भन्सार पास गर्ने रकम चाहियो भन्दै ठगी गर्न रश्मि र उनको समूह सक्रिय रहेको दाबी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको थियो । यसरी ठगिएको रकम रश्मिको बैंक खातामा जम्मा गरेको भन्ने ४ जना पीडित प्रहरी सम्पर्कमा आएका थिए । सबै पीडित महिला थिए ।

‘नागरिकतामा तस्विर भएकी महिलाको अनुहार र एटीएमबाट पैसा निकाल्ने महिलाको अनुहार एउटै थियो’, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले भने । फेसबुकबाट भएको यस किसिमको ठगी प्रहरीलाई नयाँ नभए पनि यस पटक जसरी गिरोहले ठगिरहेको थियो, त्यसले अनुसन्धान अधिकारीहरु छक्क परेका थिए ।

विगतमा भारतको भन्सारमा सामान रोकिएको भनेर भारतीय नम्बरबाट पीडितलाई फोन आउँथ्यो । तर, पछिल्ला यी घटनामा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट आफू भन्सार कर्मचारी भएको बताउँदै नेपाली नम्बरबाट फोन गर्ने गरेका थिए । यही कारण नेपाली गिरोह पक्राउ पर्ने प्रहरीको विश्वास थियो ।

‘विगतमा यसरी संलग्न हुने नेपाली गिरोह हामीले खासै पक्राउ गर्न सकेका थिएनौं’, डीएसपी घिमिरले भने ।

बैंक खाता खोल्दा रश्मिले स्थायी ठेगाना काठमाडौंको सामाखुसी भएको भन्दै त्यसको लोकेसन म्याप पनि बनाएकी थिइन् । बैंक खातापिच्छे झापाको काँकडभिट्टा र धुलाबारी क्षेत्रमा विभिन्न नामका होटल चलाएर बस्दै आएको व्यहोरा पनि उल्लेख रहेको अनुसन्धान अधिकारीले बताए ।

‘तर, हामीले ती नामका होटल त्यहाँ भेटेनौं । त्यसपछि रश्मि विश्वकर्मा नाम गरेकी कुनै युवती त्यस क्षेत्रमा छन् कि भनेर खोज्यौं । एक युवतीको उस्तै नाम भएको र तर उनी भारतमा बस्दै आएको खुल्यो । उनको तस्विर र बैंक खाता खोल्दा प्रयोग भएको नागरिकताको तस्विरसँग मेल खाएन’, डीएसपी घिमिरेले भने ।

त्यसको केही दिनमा रश्मि विश्वकर्मा नाम गरेकी अर्की युवती फेला परिन् । उनले नागरिकताको व्यहोरा आफ्नो भएको तर तस्विर आफ्नो नभएको बताइन् । उनले केही समयअघि आफ्नो नागरिकता काठमाडौंमा हराएको र आफूले प्रतिलिपि निकालेको जानकारी दिइन् ।

‘त्यसपछि हामी उनको नागरिकता कसैले दुरुपयोग गरेको र आफ्नो फोटो टाँसेर बैंक खाता खोलेको निष्कर्षमा पुग्यौं’, अनुसन्धान अधिकारी भन्छन् ।

नेपाली नम्बरबाट पीडितहरुसँग सम्पर्क भए पनि सिमहरु रश्मि विश्वकर्माकै नाममा निकालेका कारण प्रहरीलाई अनुसन्धानमा सहज भएन । डीएसपी घिमिरेका अनुसार अधिकांश सिमकार्ड एक पटकमात्र प्रयोग गरेर बन्द गरिएको थियो ।

‘तर, हामीले प्राविधिकि अनुसन्धानबाट एक व्यक्ति पत्ता लगायौं । तिनै व्यक्तिबाट सञ्जु पौडेलीसम्म पुग्यौं । सञ्जु पौडेलीको फोटो बैंक खाता खोल्दा प्रयोग भएको रश्मि विश्वकर्माको नागरिकतामा प्रयोग भएको फोटोसँग मिल्यो । एटीएमबाट पैसा निकाल्ने महिलाको अनुहारसँग पनि सञ्जु पौडेलीको अनुहार मिल्यो’, डीएसपी घिमिरेले भने ।

प्रहरीका अनुसार पौडेली पेप्सीकोलामा फ्ल्याट भाडामा लिएर श्रीमान निश्चल पोर्तेल र नाताले जेठाजु पर्नेका छोरा धनबहादुर विकसँग बस्दै आएकी थिइन् । प्रहरीले सुरुमा निश्चल र धनबहादुरलाई नियन्त्रणमा लिएको थियो । झापाको अर्जुनधारा माइतमा रहेकी पौडेलीलाई स्थानीय प्रहरीको समन्वयमा पक्राउ गरी काठमाडौं ल्याइएको छ ।

प्रहरीका अनुसार पौडेलीले संलग्नता स्वीकार गरेकी छन् । पैसा निकाल्नेबित्तिकै भारतमा रहेका भिनाजुलाई पठाउने गरेको उनले प्रारम्भिक सोधपुछका क्रममा बताएकी छन् । पीडितहरुलाई सम्पर्कमा ल्याएर पैसा हाल्न लगाउनेसम्मको अवस्था भिनाजुले बनाउने गरेको र आफूले नेपालमा बसेर पैसा हाल्न लगाउने र निकालेर पठाउने गरेको बताएको अनुसन्धान अधिकारीले बताए ।

प्रहरीका अनुसार पौडेलीले यस्तै घटनामा आफ्नी दिदी पक्राउ परेर भारतको तिहाड जेलमा रहेको र भाइ पनि नेपालको जेलमा रहेको बताएकी छन् । पक्राउ परेका निश्चल र धनबहादुरले सुनको काम गर्दै आएका थिए । निश्चल र सञ्जु दुवैको दोस्रो विवाह हो ।

अनुसन्धानको क्रममा प्रहरी सम्पर्कमा आएका पीडितहरुले आफूहरु ६ महिनायता यो गिरोहबाट ठगिएको बयान दिएका छन् । प्रहरीले अन्य नागरिकताको पनि दुरुपयोग गरेर गिरोहले थुप्रैलाई ठगेको हुनसक्ने आशंका गरेको छ।

आइतबार पक्राउको समाचार बाहिरिएसँगै सोमबार एक जना पीडित झापाबाट काठमाडौं आएर निवेदन दिएको प्रहरीले जनाएको छ । एक जना पीडितबाट १७ लाख रुपैयाँसम्म गिरोहले ठगी गरेको प्रहरीको दाबी छ । प्रहरीले पक्राउ परेकाको साथबाट अन्य नागरिकताहरु, प्रयोग गरिएका १४ र प्रयोग नगरिएका १२ वटा सिमकार्ड पनि बरामद गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर