कांग्रेस उम्मेदवारसँग मेयरमा हारेकी विमला कांग्रेसलाई नै हराएर बनिन् राष्ट्रियसभा उपाध्यक्ष – Nepal Press

कांग्रेस उम्मेदवारसँग मेयरमा हारेकी विमला कांग्रेसलाई नै हराएर बनिन् राष्ट्रियसभा उपाध्यक्ष

रूपन्देही । नगरपालिका मेयरमा पराजित कपिलवस्तुकी विमला घिमिरे राष्ट्रियसभा उपाध्यक्ष बनेकी छन् । बुधबार भएको उपाध्यक्षको निर्वाचनमा घिमिरे कांग्रेस उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।

५९ सदस्यीय राष्ट्रियसभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित भएकी छन् । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिएका हुन् । उपाध्यक्षकी अर्की प्रतिस्पर्धी कांग्रेसकी पुडासैनीले १६ मत मात्र पाइन् ।

२०७६ सालमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा घिमिरे लुम्बिनीबाट विजयी भएकी थिइन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ८ हजार तीन सय ३८ मत प्राप्त गर्दै उनले काँग्रेस उम्मेदवार गिरिजादेवी न्यौपानेलाई पराजित गरेकी थिइन् । कपिलवस्तुको वाणगंगा निवासी घिमिरेको जन्मस्थान भने अर्घाखाँची हो ।

घिमिरे सामन्ती प्रवृत्तिको विरोध गर्दै राजनीतिमा होमिइएकी थिइन् । बुवा भारतमा काम गर्ने र परिवारमा जेठो सन्तान भएपछि घरधन्दा पनि मिलाउनुपर्थ्यो । यस्तो थिचोमिचो हटाउनका लागि उनले स्कुल जीवनबाटै राजनीति सुरू गरेकी थिइन् ।

पहाडको कष्टकर जीवनशैली टार्न बिमलाका बुबाआमा दिनप्रसाद घिमिरे र रुपकला मधेश झरे । २०४० सालमा २ छोरी १ छोरासहित अर्घाखाँचीको ढिकुराबाट कपिलवस्तुको कोपवा बसाइ सरेका हुन् घिमिरे परिवार । नयाँ ठाउँमा चिन्ने कोही थिएन । विपन्न र सामान्य मानिस हेपिएर बस्न बाध्य थिए । खेतबारीमा सिँचाइ गर्न अन्तिममा पालो पर्ने र महिलालाई दबाएर राख्ने प्रवृत्ति थियो ।

त्यो समयमा राजनीतिमा महिला, घरका पनि रिसाउने समाजले स्वीकार नगर्ने । बाटोमा हिँड्यो कुरा काट्ने, यसलाई कसले बिहे गर्ला भन्दै होच्याउने । कम्युनिस्ट भने पछि वृद्धलाई मार्ने, धर्म मास्न आएकी, जातभात नमान्ने भन्दै टिका टिप्पणी गर्थे । तर, पनि उनी राजनीतिमै निरन्तर लागिरहिन् । एकपटक शिक्षक भइन् । सिद्धार्थ सामाजिक विकास केन्द्र संस्थामा जागिर पनि खाइन् । जागिरले राजनैतिकमा बाधा पुगेपछि एक वर्षमै राजीनामा दिएको उनका समकक्षीहरू बताउँछन् ।

‘दिदी पढ्दा पढ्दै राजनीतिमा होमिनु भयो । पढेर जागिर खानु होला भनेको नेता बनेर हिँड्नु भयो । पार्टी संगठन विस्तार अभियान चलेको थियो । यताउता गर्दा पढ्ने समय भएन । उच्च शिक्षा अध्ययन गर्न पाउनु भएन । २०४८ सालमा अनेमसंघको जिल्ला सचिव हुनु भयो,’ भाइ प्रकाश घिमिरेले बताए ।

उपाध्यक्ष घिमिरेले कपिलवस्तुका महिला आन्दोलनमा अग्रणी भूमिका खेखेकी उनी एमाले पोलिटब्युरो सदस्यको जिम्मेवारीमा छन् । उनी १८ वर्षको उमेरमा अखिल नेपाल महिला सङ्घ (अनेमसंघ) कोपवा गाउँ कमिटीको सहसचिव हुँदै राजनीतिक यात्रा सुरुवात गरेकी थिइन् । त्यसको १ वर्षपछि संघको जिल्ला सचिव भई काम गरेकी थिइन् । एमालेको नवौँ अधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएकी विमला दशौँ महाधिवेशनमा पोलिटब्युरो सदस्यको जिम्मेवारी पाएकी हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बाणगंगा नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेबाट उम्मेदवार बनेर नेपाली कांग्रेसका उम्मेदवार मङ्गल प्रसाद थारुसँग ४ सय ६० मतले पराजित भएकी थिइन् । उपमेयरसहित ११ मध्ये ७ वडामा एमालेका उम्मेदवार विजयी हुँदा उनी पराजित भएकी थिइन् । त्यो वेला पार्टीभित्र अन्तर्घात गरी हराइएको चर्चा चलेको थियो । त्यसको २ वर्षपछि उनी राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित भएकी थिइन् ।

उपाध्यक्षमा निर्वाचित भएपछि विमला घिमिरेलाई बधाई दिँदै उपविजेता विष्णुदेवी पुडासैनी ।

२०४७ सालमा अनेमसंघ हुँदै राजनीति प्रवेश गरेकी घिमिरे २०७८ सालमा नेकपा (एमाले) केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । त्यस्तै उनी तत्कालीन नेकपाको केन्द्रीय सदस्य, २०६८ मा नेकपा एमालेको कपिलवस्तु जिल्ला कमिटी सचिव, २०६६ मा पार्टी जिल्ला कमिटी उप सचिव, २०६२ मा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य र २०५९ मा जिल्ला कमिटी सदस्य भएर काम गरेकी थिइन् ।

अनेमसंघमा रहँदा उनी जिल्ला कमिटी सचिव, पार्टी इलाका कमिटी सदस्य, अनेमसंघ जिल्ला सचिव भएर काम गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर