कोशीमा सरकार फेर्न गठबन्धन दलमा छलफल : राजेन्द्र राई नआएपछि बैठक स्थगित – Nepal Press

कोशीमा सरकार फेर्न गठबन्धन दलमा छलफल : राजेन्द्र राई नआएपछि बैठक स्थगित

विराटनगर । कोशी प्रदेशमा सरकार फेर्ने विषयमा गठबन्धनका दलहरू छलफलमा जुटेका छन् । उक्त छलफलमा एमाले र माओवादीका नेताहरू सहभागी थिए । केन्द्रीय सत्ता गठबन्धनमा रहेको नेकपा एसका संसदीय दलका नेता राजेन्द्रकुमार राई नआएपछि भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ ।

एमाले र माओवादीका नेताबीच एक-दुई दिनभै मुख्यमन्त्री केदार कार्कीमाथिको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको प्रक्रिया थाल्ने सहमति भएको छलफलमा सहभागी एक नेताले बताए ।

ती नेताले भने, ‘राजेन्द्र राईलाई पनि पर्खिम भन्ने कुरा आयो । उहाँ गृह जिल्लामा भएका कारण आजै निर्णय गरेर प्रक्रिया अगाडि बढाउन सकिएन ।’

संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको प्रदेशसभा सदस्यको हैसियतमा प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्त केदार कार्कीलाई सांसदका रूपमा समर्थन गरेका एमालेका ३९ जना सांसदहरूले समर्थन फिर्ता लिने तयारी गरेका छन् । त्यसका लागि एमाले सांसदहरूले हस्ताक्षर गरिसकेका छन् ।

माओवादीले सांसदहरूको हस्ताक्षर गराएर समर्थन फिर्ता लिने तयारी भएको छ । अब संयुक्त रूपमा हस्ताक्षर बुझाउने तयारी भएको बैठकमा सहभागी एक नेताले बताए ।

शुक्रबार एमाले र माओवादी केन्द्रबीच गठबन्धनको भावनाअनुसार नै कोशी प्रदेश सरकार गठनको प्रक्रिया अघि बढाउने अनौपचारिक सहमति भइसकेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

सांसदहरूले समर्थन फिर्ता गरेपछि कोशी प्रदेशमा वैकल्पिक सरकार बन्न सक्ने आवश्यक संख्यासहितको बहुमत हस्ताक्षर बुझाउने तयारी छ । प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशनको पनि माग गर्ने एमालेको तयारी रहेको छ ।

एमालेका सांसदहरूले समर्थन फिर्ता लिएपछि गठबन्धन दलमध्ये नेकपा माओवादी केन्द्रका तीनजना मन्त्रीहरूसहित अन्य दलका मन्त्रीहरूले समेत मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाउने तयारी गरेका छन् । राजीनामा पत्रको मस्यौदासमेत बनिसकेको माओवादी केन्द्रका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर