पूर्वराजा जुम्ला जाँदै, खलंगामा नागरिक अभिनन्दन गरिने (भिडिओ) – Nepal Press

पूर्वराजा जुम्ला जाँदै, खलंगामा नागरिक अभिनन्दन गरिने (भिडिओ)

ज्ञानेन्द्र शाही भन्छन्- राजा कहिल्यै ‘पूर्व’ हुँदैनन्, सांसदको हैसियतले स्वागत गर्छु

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो चैत २४ गते जुम्ला जाने भएका छन् । जुम्लाको सदरमुकाम खलंगामा उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आज एक पत्रकार सम्मेलन गर्दै पूर्वराजाको भ्रमणबारे औपचारिक जानकारी गराए । उनले राप्रपामात्र नभएर सबै दलमा आस्था राख्ने जुम्ली जनताले पूर्वराजाको भव्य स्वागत गर्ने बताए ।

शाहीले भन्छन्, ‘राजा सबैको साझा हुन्छन्, चाहे पूर्व होउन् वा वर्तमान । राजा कुनै दलको हुँदैन । त्यसैले जुम्लामा गठन गरिएको अभिनन्दन समितिमा राप्रपाको कुनै पनि सदस्य हुनुहुन्न । माओवादी, कांग्रेस, एमाले, नेकपा एस, रास्वपा सबै दलका समर्थकले उहाँलाई स्वागत गर्नेछन् ।’

आफू जुम्लाको एक सांसदका हैसियतले पूर्वराजाको भ्रमण सफल पार्न लागेको उनले बताए ।

उनले थपे, ‘कालान्तरमा पूर्वराष्ट्रपति जुम्ला आउनुभयो भने पनि एक सांसदका हैसियतले म एयरपोर्टमा स्वागत गर्न जानुपर्छ । स्वागत मात्र होइन, भेटघाटदेखि हरेक कुराको व्यवस्थापन गर्नुपर्ने कर्तव्य हुन्छ ।’

पूर्वराजालाई ‘राजा’ किन भनेको भनेर पत्रकारले सोधेको प्रश्नमा शाहीले राजा कहिले पनि पूर्व नहुने स्पष्ट पारे ।

‘म राप्रपाको प्रवक्ता हो । राप्रपाले संवैधानिक राजसंस्थाको वकालत गर्छ । राजा ल्याउने राप्रपाको एजेन्डा हो । त्यसैले राजा भन्न मलाई कुनै हिच्किचाहट छैन । दोस्रो, राजा कहिले पनि पूर्व हुँदैन । पूर्वराजा उहाँ हो भने वर्तमान राजा देखाइदिनुपर्यो । राजा भनेको शक्ति र सत्ता होइन, आस्था हो । अहिले देश अभिभावकविहिन भएको छ । राष्ट्रपति एउटा दलको प्रतिनिधि मात्र हो ।’

पूर्वराजाले जुम्लाको चन्दननाथ र भैरवनाथको दर्शन गर्ने पनि शाहीले जानकारी गराए । उनले सबै जुम्ली जनतालाई उपस्थितिका लागि आह्वान गरेका थिए ।

(फाइल तस्बिर)


प्रतिक्रिया

One thought on “पूर्वराजा जुम्ला जाँदै, खलंगामा नागरिक अभिनन्दन गरिने (भिडिओ)

  1. हामीले राजा फालेम भनेर बुरुक बुरुक उफ्रिने बर्तमान सबै राजनीतिक दलहरूले किन राजाको अभिनन्दन कार्यक्रममा प्रतिबन्ध लगाउन सक्दैनन त खै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर