फागुपर्वकाे रात खाजाघरमा रगतकाे हाेली ! – Nepal Press

फागुपर्वकाे रात खाजाघरमा रगतकाे हाेली !

काठमाडौं । होलीलाई शान्तपूर्वक सम्पन्न गरिएको महसुस गर्दै ललितपुर प्रहरी परिसरका अधिकारीहरु आइतबार साँझ थकान मेट्दै थिए । साँझ शहरी क्षेत्रमा स्थलगत निरीक्षण गरेपछि उनीहरुले होलीलाई शान्तपूर्वक सम्पन्न गरेको व्यहोरसहित माथि जाहेर गरेका थिए ।

तर राति ११ बजे पाटन अस्पतालमा खटिएका प्रहरीले जिल्ला नेतृत्वलाई खबर गर्यो– छुरा प्रहार भएको अवस्थामा एक युवकलाई ल्याइएको छ । प्रहरीले युवकलाई स्कुटरमा ल्याउने व्यक्तिलाई पनि नियन्त्रणमा लियो । त्यसलगत्तै सुमेरु अस्पतालबाट पनि खबर आयो– एक युवकलाई छुरा प्रहार भएको अवस्थामा यहाँ ल्याइएको छ ।

यी दुवै घटनापछि ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी शेखर खनाल, एसपी नरेश सुवेदीलगायत प्रहरी अधिकारीहरु सुरुमा पाटन अस्पताल पुगेका थिए । पाटन ल्याइएका रोबस राईलाई अस्पतालले तत्कालै मृत घोषणा गर्यो । उनको छातीमा छुरा प्रहार भएको थियो ।

‘राति दुईवटा फरक अस्पतालमा यसरी घाइते अवस्थामा मान्छे ल्याइएपछि हामी एउटै घटना हो या होइन भन्नेमा सोच्न भ्याइरहेका थिएनौँ । हामी सुरुमा घाइतेलाई कहाँबाट ल्याइयो भन्नेतर्फ लाग्यौँ’, एसपी सुवेदी भन्छन् । प्रहरी राईलाई स्कुटरमा ल्याउने व्यक्तिमार्फत घटनास्थलमा पुगेको थियो ।

ललितपुरको ढोलाहिटीस्थित डी पोपिना खाजाघर पुग्दा बाहिर रगत लागेको अवस्थामा चक्कु थियो भने ज्याकेट पनि रक्ताम्य अवस्थामा थियो । खाजाघर भित्र रगतको आल थियो । ‘तर त्यहाँ सोही सटरमा टाँसिएको सटरमा बसिरहेका मान्छेलाई सोध्दा उनीहरुले आफुहरुलाई केही थाहा नभएको र घटना सुनेर आश्चर्य व्यक्त गरे । उनीहरु मदिराले लठ्ठ थिए’, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन् ।

त्यतिबेलासम्म सुमेर अस्पतालमा पुर्याुइएका पुजन राईको पनि मृत्यु भइसकेको थियो ।

‘त्यसपछि पक्राउ परेकाहरुलाई बुझ्नेक्रममा दुवै घाइते एउटै घटना भएको पाइयो । त्यसपछि अनुसन्धानमा सजिलो भयो’, ती अधिकारी भन्छन् । प्रहरीका अनुसार दुई समूहबीच भएको विवादमा छुरा प्रहार भएको थियो । पुजन राईको समूह र रोबस राईको समूहबीच विवाद भएको हो ।

पुजनको समूह उक्त खाजा घरमा बसिरहेको समयमा अर्को समूह पुगेको थियो। त्यही बेला बसिरहेको समूहलाई घर जान भनेपछि विवाद सुरु भएको अधिकारीहरु बताउँछन्। सोहीक्रममा घरमा बसिरहेका रोबसलाई त्यहाँ बोलाइएको थियो।

‘रोबसलाई अन्तिमपटक ९ बजेर ५८ मिनेटमा फोन गरेको देखिन्छ । त्यसपछि उनी त्यहाँ पुगेको प्राविधिक अनुसन्धानबाट देखिएको छ’, अनुसन्धान अधिकारी भन्छन् । रोबस त्यहाँ पुगेपछि विवाद चर्किंदा होटल सञ्चालक साझेदारमध्येका एक विजय राईले उनीमाथि छुरा हानेको प्रहरीको दाबी छ ।

सोही क्रममा छुट्याउन खोज्दा विजयले बोकेको चक्कुले आफ्नै समूहका पुजनको तिघ्रामा लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको अनुसन्धान अधिकारी दाबी गर्छन् । घटनापछि पुजनको तिघ्रामा कपडाले बाँधेर रक्तश्राव कम गर्ने प्रयास गरिएको थियो । छातीमा छुरा लागेका रोबस भने भित्तामा अडेस लागेर केही बेर बसेका थिए ।

त्यसपछि आ–आफ्नो समूहले रोबसलाई स्कुटरमा राखेर र पुजनलाई ट्याक्सीमा राखेर अस्पताल पुर्याएको थियो । घटनापछि संलग्नहरु फरार भएका थिए । प्रहरीले बिहान हुँदासम्म घटना भएका बेला त्यहाँ भएका अधिकांशलाई नियन्त्रणमा लिइसकेको थियो ।

‘यो प्रारम्भिक अनुसन्धान हो । घटना भएका बेला र हामीले नियन्त्रणमा लिँदासम्म अधिकांश मदिराले लठ्ठ भएकाले हामी थप बुझिरहेका छौँ’, अनुसन्धानमा खटिएका अधिकारीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर