तेस्रो भुटान भ्रमणमा मोदी: अर्थतन्त्र सुधारमा निर्णायक सहयोगको खोजी – Nepal Press

तेस्रो भुटान भ्रमणमा मोदी: अर्थतन्त्र सुधारमा निर्णायक सहयोगको खोजी

काठमाडौं । बिहीबार भुटानको एक्लो अन्तर्राष्ट्रिय विमानस्थल ‘पारो’मा भुटानका सरकारी अधिकारी तथा बालबालिका लामबद्ध थिए । लामो कुराइपछि उनीहरु निराश भएर फर्किए । भुटान पुग्नुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएनन् । खराब मौसमको कारण मोदी भुटान पुग्न सकेनन् । तर, शुक्रबार मोदी पारो विमानस्थल ओर्लिए ।

मोदीको स्वागतमा भुटानले आफ्नोसँगै अंग्रेजी र हिन्दी भाषामा लेखिएको बोर्ड राखेको थियो । त्यही तस्विरसहित भुटानी प्रधानमन्त्रीले मोदीलाई मेन्सन गरेर लाई ट्विट गरेका थिए, ‘भूटान में आपका स्वागत है, मेरे बडे भाइ नरेन्द्रमोदी जी ।’

आठ दिन अगाडिको आफ्नो भारत भ्रमणमा हुँदा मोदीलाई ‘साथी’ भनेर सम्बोधन गरेका भुटानी प्रधानमन्त्रीले थिम्पु आएको दिन भने ‘दाइ’ भनेर सम्बोधन गरेका छन् । भारतमा हुँदा मोदीलाई अंग्रेजीमा ‘साथी’ भनेका उनले भुटान आएपछि भने हिन्दीमा ‘दाइ’ सम्बोधन गरेका छन् ।

भुटानी प्रधानमन्त्रीको भारत भ्रमण सकिएको चार दिनमा मोदी थिम्पुमा

भुटानी प्रधानमन्त्री छिरिङ तोग्बे मार्च १४ देखि १८ सम्म भारत भ्रमणमा गएका थिए । भारत भ्रमणकै दिन उनले दिल्लीको लोक कल्याण मार्गमा मोदीसँग भेट गरेका थिए । गत जनवरीमा चुनाव जितेर दोस्रो पटक प्रधानमन्त्री भएका तोग्बेको भारत भ्रमण सकिएको ठीक चार दिनमा मोदी भुटान पुगेका हुन् ।

सन् २०१४ मा प्रधानमन्त्री भएपछि मोदी पहिलो विदेश भ्रमणको रुपमा भुटान पुगेका थिए । उनको त्यही बेलाबाट नेबरहुड फर्स्ट अथवा छिमेक पहिलो नीति सार्वजनिक भएको थियो । तोग्बेले पनि गत जनवरीमा सत्तामा आएपछिको भारत पुगेर आफ्नो विदेश भ्रमणको खाता खोलेका थिए ।

भुटानका विदेशमन्त्री डीएन ढुंगेल, ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङ, उद्योग, वाणिज्य तथा रोजगारमन्त्री नाम्ग्याल दोर्जीलगायतका अधिकारीसँग तोग्बे भारत भ्रमणमा पुगेको भुटानी अखबार दि भुटनिजले उल्लेख गरेको छ । आर्थिक सुधार र रोजगारको नारा बोकेर प्रधानमन्त्री भएका उनले त्यही लाइनका मन्त्री तथा अधिकारीहरु लिएर भारत भ्रमण गरेका थिए ।

भ्रमण सूचीः अवार्ड ग्रहण, अस्पताल उद्घाटनदेखि गेमचेन्जर परियोजनासम्म

मोदीको यो तेस्रो भुटान भ्रमण हो । भारत र चीनबीच रहेको सानो भूपरिवेष्ठित सार्क मुलुक भुटानको पहिलो भ्रमण मोदीले सन् २०१४ मा गरेका थिए । दोस्रो भ्रमण सन् २०१९ मा । राजकीय भ्रमण भने यो दोस्रो भएको भुटानी अखबार कुन्सेलले उल्लेख गरेको छ ।

आज मोदीले भुटान सरकारले दिने एक भव्य उपाधि लिनेछन् । मोदीलाई भुटानले दिने सर्वोच्च अवार्ड ‘अर्डर अफ दि ड्रुक ग्याल्पो’ दिने भएको हो । यो अवार्ड मोदीलाई सन् २०२१ मा प्रदान गर्ने घोषणा गरिएको थियो । मोदीले सन् २०२१ मा भुटानलाई पाँच लाख डोज कोभिड–१९ को भ्याक्सिन दिएको थियो । त्यसको सम्मानमा यो उपाधि दिने घोषणा गरिएको थियो ।

भुटानी राजा जिग्मे केसर नाम्ग्याल वाङ्चुक तथा प्रधानमन्त्री छिरिङ तोग्बेसँग भेटघाट गर्ने मोदीले एक अस्पताल उद्घाटन गर्नेछन् । थिम्पुमा पेवा वाङ्चुक मातृ तथा शिशु अस्पताल उनले उद्घाटन गर्नेछन् ।

दि भुटनिजका अनुसार मोदीले भुटानसँग आठ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन्, जसमा रेल्वे सञ्चालन, पेट्रोलियम पदार्थको ढुवानी, कृषि तथा पशुपंक्षी क्षेत्रको विकासलगायत छन् ।

युवाहरुको विदेश पलायन, कोभिडपछिको अर्थतन्त्रमा समस्या र बेरोगजार तथा पूर्वाधार विकासको अभावमा पिल्सिएको भुटानले मोदीको भ्रमणमा देखिने केही उपलब्धिको आशा गरेको छ । भुटानी अखबार कुन्सेलले आफ्नो सम्पादकीयमा मोदीको यो भ्रमण भ्रमणको लागि भ्रमणमात्रै नहुने भन्दै आशावादी तर्क गरेको छ ।

यस्तै भुटानले आफ्नो चालू १३औं योजनाको लागि मोदीबाट सहयोगको आशा गरेको छ । कुन्सेल अखबारको सम्पादकीयमा भुटानले गेम चेन्जर परियोजनाको रुपमा अगाडि सारेको ‘गेलेफू माइन्डफुलनेस शहर’को निर्माणमा पनि भारतको सहयोग अपेक्षा गरेको उल्लेख गरिएको छ । ‘विश्वकै पहिलो माइण्डफुलनेस शहर’को रुपमा कल्पना गरिएको शहरलाई दक्षिण तथा दक्षिणपूर्वी एसियाको आर्थिक हबको रुपमा विकास गर्ने भुटानी योजना छ । यसको चर्चा विश्वभर गरिएको छ ।

सन् २०२३ को डिसेम्बर १७ मा भुटानको राष्ट्रिय दिवशको दिन उक्त परियोजनाको भुटानी राजाले घोषणा गरेका थिए । यो शहरमा विश्वका खर्बपति तथा नवप्रवर्तकहरु ल्याएर आर्थिक विकासमा क्रान्ति गर्ने भुटानी सपना छ । यही शहरमा पुग्नेगरी पहिलो भुटान-भारत रेल्वे परियोजनामा पनि भुटानी रुचिलाई भारतले साथ दिइसकेको छ । भुटानबाट आसाम, पश्चिम बंगाल, म्यानमार, थाइल्याण्ड, कम्बोडिया र सिंगापुरसँग आर्थिक करिडोरको रुपमा जोडिने भुटानी सपना सार्वजनिक भएको छ । यसमा भुटानले भारतको साथ खोजेको छ ।

याे पनि पढ्नुस्: छिरिङ तोग्बे बने भुटानी प्रधानमन्त्री, मोदीले दिए बधाई


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर