बसमा सँगै बसेका व्यक्तिको लभमा पर्दा… – Nepal Press

बसमा सँगै बसेका व्यक्तिको लभमा पर्दा…

काठमाडौं । अपरिचित व्यक्तिसँग एकैछिनको चिनाजानका भरमा विश्वासमा पर्दा ठूलो आपत्मात्रै होइन आफू बेचिन र ठगिन पनि सकिन्छ भन्ने उदाहरण भर्खरैको एक घटनाले देखाएको छ ।

पोखरा जान लागेकी एक महिला त्यस्तै गिरोहको फन्दामा परेकी छिन् । बसको सीटमा सँगै भेटिएका युवकको मायाजालमा परेर बिहेसम्म गर्न पुगेकी उनी भारत पुगेर बेचिनबाट त जोगिइन् तर ठगीमा परिन् ।

नवलपुरको कावासोती घर भएका दुर्गाबहादुर पौडेल क्षेत्रीको विश्वासमा पर्दा ती महिला ठगिएकी हुन् ।

प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार ती महिला काठमाडौँबाट साथी भेट्न पोखरा जाने क्रममा बसको सँगैको सीटमा पौडेल भेटिएका थिए । यात्राकै क्रममा उनीहरूबीच कुरा हुँदै जाँदा ती युवकले अनेक प्रलोभन देखाएको प्रहरीले बताएको छ । उल्टै दुर्गाबहादुरले ६ लाख झ्वाम पारिदिएका छन् ।

ब्युरोका एसपी गौतम मिश्रका अनुसार उनले सुरूमा आफू अविवाहित रहेको भन्दै युवतीलाई मन पराएको बताएका थिए । बहिनीलाई मिर्गौलाको समस्या भएको बताएपछि युवतीलाई आफूले डाक्टरलाई चिनेको र उपचारमा समेत सहयोग गर्ने लालच देखाएको बताइएको छ । उनले आफ्नै साथीलाई डाक्टर भन्दै भेटाएको प्रहरीको भनाइ छ ।

दुर्गाले बुटवल पुर्‍याएर ती युवतीसँग बिहे गरेका थिए । आफन्तहरूबाट सापट मागेर पीडितकी बहिनीको उपचारका लागि ७० लाखभन्दा बढी पैसा जम्मा गरेको भन्दै युवकले त्यो रकम झिक्न ६ लाख लाग्ने भन्दै ठगेको पाइएको छ ।

प्रहरीका अनुसार ती युवकले विभिन्न बहाना बनाई बेचबिखन गर्ने उद्देश्यले पटकपटक सीमानजिक भारतीय बजारमा पुर्‍याएको र मानव बेचबिखनविरुद्ध कार्यरत् संस्थाका कर्मचारीले थाहा पाएपछि महिला  बेचिनबाट जोगिएकी थिइन् ।

पीडित महिलाको जाहेरीका आधारमा ब्युरोले पक्राउ गरी दुर्गाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालेको एसपी मिश्रले बताए ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर