सुन तस्करीमा भीमकान्त भण्डारीको संलग्नता भेटिएन, यस्तो छ आयोगको सिफारिस – Nepal Press

सुन तस्करीमा भीमकान्त भण्डारीको संलग्नता भेटिएन, यस्तो छ आयोगको सिफारिस

काठमाडौं । विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीलाई सुन तस्करी प्रकरणमा दोषी किटान गरेको भनेर चर्चा चलिरहेका बेला उच्चस्तरीय आयोगका सदस्यले भने बाहिर आएजस्तो उनको संलग्नता नदेखिएको बताएका छन् ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले अनुसन्धान गर्नू भनेर किटान गरेका व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अघि बढाउन गृहमन्त्री रवि लामिछानेले निर्देशन दिए लगत्तै विभिन्न व्यक्तिको बयान लिने तयारी भइरहेको छ ।

भीमकान्त भण्डारीलाई पनि मुद्दा चलाउन सिफारिस गरिएको भनेर आइरहेका समाचारमा सत्यता नरहेको आयोगका ती सदस्यले बताए । उनका अनुसार सुन तस्करीमा संलग्न दावा छिरिङसँग सम्पर्क देखिएकाले निगरानीमा राख्ने सूचीमा भण्डारीको पनि नाम आएको तर उनको संलग्नता भने भेटिएको छैन ।

ती सदस्यले भने- दावासँग सम्पर्क देखिएका कारण पूर्व आइजिपी धिरज प्रताप सिंहलगायतलाई निगरानीमा राख्ने भनिएको सूचीमा भीमकान्त भण्डारीको पनि नाम आएको हो । तर छानबिनका क्रममा भण्डारीको संलग्नता नदेखिएको र सीआइबीको अनुसन्धानमा पनि उनको संलग्नता नपाइएकाले मुद्दा चलाउन सिफारिस गरिरहनु परेन ।

भण्डारीको टेलिफोन सम्पर्क सुन तस्करीमा संलग्नहरूसँग देखिए पनि अन्य व्यावसायिक प्रयोजनका लागि भएको उनको दाबी र संलग्नता पुष्टि हुने आधार नदेखिएका कारण निगरानीको सूचीमा मात्र राख्न सिफारिस भएको हो । अनुसन्धान गरेर मुद्दा चलाउन सिफारिस गरिएको लिस्टमा भने भण्डारीको नाम छैन ।

एक भारतीय र चिनियाँ नागरिकसहित कृष्णबहादुर महरा, जीवन चलाउने, वासुदेव शर्मा, जनधराज घिमिरे, झलकराम शर्मा लगायतमाथि अनुसन्धान गर्न भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर