प्रचण्डविरुद्ध राजेन्द्र पाण्डेको प्रतिवाद- निहुँ खोजेकाे हाे, हामीले गठबन्धनमा छैनौं भनेको दिन सरकार के हुन्छ ? – Nepal Press

प्रचण्डविरुद्ध राजेन्द्र पाण्डेको प्रतिवाद- निहुँ खोजेकाे हाे, हामीले गठबन्धनमा छैनौं भनेको दिन सरकार के हुन्छ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनेको १४ महिनामा आज तेस्रो पटक विश्वासको मत लिए । प्रतिनिधिसभाबाट निरन्तर विश्वासको मत पाए पनि समर्थन गर्ने संख्या भने निरन्तर घट्दै गएको छ ।

कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आज विश्वासको मत लिँदा उनले १५७ मत पाए । २६८ सांसद उपस्थित बैठकमा विपक्षमा ११० सांसद उभिए । एक जना तटस्थ बसे ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई एमाले, रास्वपा, जसपा, नेकपा एसको समर्थन छ । आज नागरिक उन्मुक्ति पार्टीले पनि विवादका बीच विश्वासको मत दियो । तर, यो गठबन्धनको जग बलियो नभएको आजको प्रतिनिधिसभाको बैठकमै प्रस्ट देखियो ।

प्रधानमन्त्री प्रचण्डलाई सत्तारुढ दलकै नेताहरुले दुई ठूला दल एमाले र कांग्रेस मिले के हुन्छ भन्दै सचेत गराए । त्यसको जवाफ दिँदै प्रचण्डले भने, ‘ठूला दलहरू हामी मिल्यौं भने तेरो हालत के हुन्छ ? यसो भनेर पहिला पनि भनियो । आज पनि भनियो । मेरो कामना छ, तपाईंहरू मिल्नुस् । सबै मिल्नुस् । तपाईंहरू सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा, संविधान रक्षा र राष्ट्रियताका पक्षमा लडिरहन्छ । तपाईंहरूलाई लागेको छ प्रचण्ड डराउँछ त्यसो भनेर ?’

प्रचण्डको अभिव्यक्तिले पनि गठबन्धनको भविष्यबारे आशंका गर्न सकिन्छ । गठबन्धन फेरबदल गर्दै सत्तामा टिकिरहेका प्रचण्डले पहिलो पटक २०७९ पुस २६ गते विश्वासको मत लिँदा २७० सांसदमध्ये २६८ जनाको मत पाएका थिए ।

तर, राष्ट्रपति निर्वाचनका बेला प्रचण्डले गठबन्धन फेरेपछि दोस्रो पटक २०७९ चैत ६ गते विश्वासको मत लिँदा १७२ जना सांसदले पक्षमा मतदान गरेका थिए । विपक्षमा ८९ मत परेको थियो ।

तर, आज तेस्रो पटक विश्वासको मत लिँदा सत्तापक्षकै सांसदहरुबीच घोचपेच र छेडखानी चलिरह्यो । अहिले प्रधानमन्त्री प्रचण्डसँग सत्ता गठबन्धनमा आबद्ध नेकपा एस बढी असन्तुष्ट देखिन्छ ।

कांग्रेस नेतृत्वको गठबन्धन फेर्दा एकलौटी कदम चालेका प्रचण्ड सरकारलाई स्पष्ट बहुमत पुर्‍याउनमात्रै एमाले अध्यक्ष केपी ओलीलाई लिएर अध्यक्ष माधव नेपालकहाँ पुगेका थिए ।

जुन कुराको असन्तुष्टि आज नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले संसदमै पोखे ।

उनले प्रचण्डप्रति आक्रोश पोख्दै भने, ‘संविधानको रक्षाको लागि पार्टीभित्रको व्यक्तिवादी चरित्रका विरुद्ध हामीले विद्रोह गरेर आफैंले बनाएको पार्टी तोडेर विष पिएर तपाईंको पक्षमा उभिएका थियौं । हामीलाई बाटामा छोडेर हिँड्नुभयो । यो भन्दा अनैतिकता के हुन्छ ? म प्रधानमन्त्रीलाई प्रश्न गर्छु, यो भन्दा अनैतिकता के हुन्छ ? एकचोटी हाम्रो पार्टीको ठाउँमा उभिएर सोच्नुहोस् । अघि पनि यहाँ कुरा आएको छ, ओली र शेरबहादुरजीले घाँटी जोडे भने तपाईंको हालत के हुन्छ ?’

तर, पाण्डेको असन्तुष्टिप्रति प्रचण्ड गलेनन् । उनले मन नभए विश्वासको मत नदिन उल्टै चुनौतीसमेत दिन भ्याए ।

पाण्डेलाई लक्षित गर्दै प्रचण्डले दिएको जवाफः

यहाँ सत्ता गठबन्धनमा भएका केही माननीयले प्रतिपक्षमा हुनेहरुको निकै ताली खानुभयो । म उहाँहरुलाई पनि भन्न चाहन्छु, तपाईंहरुलाई सहज छैन भने छैन भने भइहाल्यो नि ! म गठबन्धन र त्यहाँको कचिङ्गलबाट आजित भएको थिएँ । मलाई हैरान परेसान पार्‍यो । अब फेरि त्यस्तै हुने हो भने त्यसले पनि काम गर्ने वातावरण नबन्ला कि भन्ने चिन्ता मलाई पनि भएको छ । त्यसकारण हामी आआफ्नो राजनीतिक मान्यताअनुसार देश र जनतालाई कसरी सेवा गर्न खोजेको हामी सबै स्वतन्त्रै छैनौं नि !

यहाँ कसैले दबाब दिएर हुने हो र ? प्रधानमन्त्रीले दबाब दिएर मलाई समर्थन गर्नुस्, कतिपयले भन्छन् पैसाको चलखेल ! मैले एक पैसा पनि कहिल्यै कसैलाई कुनै रुपमा पनि चलखेल हुन दिएको छैन । तपाईंहरुको दलको नीति र कार्यक्रमले प्रधानमन्त्रीलाई एकचोटी फेरि मौका दिँदा ठीक लाग्छ, दिनुस् । लाग्दैन नदिनुस् । प्रधानमन्त्रीलाई धम्क्याउने तरिकाले पनि देशको हित हुँदैन ।

संसदमा प्रचण्डको धम्कीपछि उपाध्यक्ष पाण्डेले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिए के हुन्छ भन्दै पुनः चेतावनी दिएका छन् ।

उनले नेपाल प्रेससँग भने, ‘प्रचण्डले हामीलाई मात्रै भनेका छैनन्, ओली र शेरबहादुरलाई पनि भनेका छन् । त्यो त उहाँको धम्की हो । तर, हामीले अहिले नै हामी सत्ता गठबन्धनमा छैनौं भन्ने बित्तिकै अर्को दलले पनि छैनौं भनेर निकाल्ने स्थिति हुन्छ । भोलिपल्ट प्रचण्डजीको सरकार कहाँ जान्छ ? निहुँ खोजेर हुन्छ ?’

उनले गठबन्धनमा आफूहरुले दुई मन्त्री पठाउनुबाहेक अरु कुनै सहमति नगरेको जिकिर गरे ।

उपाध्यक्ष पाण्डेले थपे, ‘अहिले हामीले दुई वटा मन्त्री पठाएका छौं । बाँकी कुरा केही भएको छैन । उपाध्यक्ष हामीले चाहिन्छ भनेपछि हटाएका छौं । बाँकी कुरा भएको छैन । अब छलफल हुन्छ ।’

उनले सहकार्यको गति राम्रो भएमात्रै गठबन्धन अघि बढ्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर