माधव मनाउन कस्सिएका ओली: एमाले-माओवादीसँग पनि ‘पावर शेयरिङ’मा नेपालको दाबी ! – Nepal Press

माधव मनाउन कस्सिएका ओली: एमाले-माओवादीसँग पनि ‘पावर शेयरिङ’मा नेपालको दाबी !

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम लिएपछि मुख कुल्ला गर्ने अभिव्यक्ति दिएका एमाले अध्यक्ष केपी ओली अहिले उनै नेपाललाई मनाउन लागिपरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर नयाँ समीकरण बनाएपछि ओली र नेपालबीच सहकार्यको ढोका खुलेको हो ।

अहिले एमाले नेतृत्वको गठबन्धनमा माओवादीसहित, रास्वपा, नेकपा एस र जसपा छन् । वामपन्थी बाहुल्य भएको गठबन्धन बनेपछि ओली पनि विगतलाई भुलेर माधवलाई मनाउने तहमा ओर्लिएका छन् ।

प्रचण्डले सुरुमा गठबन्धन भत्काउँदा माधवसँग सल्लाह गरेका थिएनन् । तर, जसपा अनिर्णित बनिरहेपछि सरकारलाई बहुमत पुर्‍याउन फागुन २२ गते ओली प्रचण्डसहित पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई लिएर नेपाल निवास कोटेश्वर पुगेका थिए ।

ओली र प्रचण्डको संयुक्त प्रस्तावपछि दुई मन्त्रालय लिएर नेकपा एस नयाँ समीकरणको सरकारमा सहभागी भइसकेको छ । पुनः सहकार्य सुरु भएपछि शनिबार लामो समयपछि होटल बसेरामा ओली र माधव नेपालबीच छलफल भएको नेकपा एसका उपाध्यक्ष प्रमेश हमालले बताए ।

त्यसअघि उनीहरुबीच एमालेभित्रको विवाद उत्कर्षमा पुगेको बेलामा २०७८ मा भेट भएको थियो । तर, माधव नेपालले पार्टी विभाजन गरेपछि उनीहरुबीच सम्बन्ध सुमधुर हुन सकेन ।

तर, अहिले माधवलाई मनाएर एकता गर्न सके प्रतिनिधिसभाको पहिलो ठूलो दल हुने भएकाले ओली बाध्य भएको नेताहरु बताउँछन् । गएको निर्वाचनमा पनि राष्ट्रिय दल बन्न नसकेपछि पार्टीको अस्तित्व जोगाउन माधवलाई पनि चुनौती छ । एमालेमा फर्किने नेकपा एसका नेता कार्यकर्ताहरुको लर्को पनि रोकिएको छैन ।

दुई नेताबीच भएको लामो भेटमा अहिलेको राजनीतिक परिस्थिति, आर्थिक, राष्ट्रियताको विषयमा छलफल भएको उपाध्यक्ष हमालले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘उहाँहरुबीच शनिबारको वार्तामा खुलेर कुराकानी भयो । अब सहकार्यलाई अगाडि लानुपर्छ भन्नेमा उहाँहरु सहमत देखिनुभयो । तर, पहिले विश्वासको वातावरण तय गर्नुपर्छ भन्नेमा जोड रह्यो ।’

दुई नेताको भेटमा अहिले सहकार्यको विषयमा मात्रै छलफल भएको बताउँदै उपाध्यक्ष हमालले पार्टी एकताको विषयमा प्रवेश नगरेको जिकिर गरे ।

उनले भने, ‘पार्टी एकताको विषयमा हामी प्रवेश गरिसकेका छैनौं । नयाँ समीकरणलाई मजबुत बनाउने विषयमा मात्रै केन्द्रित रह्यो ।’

तर, नेकपा एसका सम्मानित नेता झलनाथ खनालले वामपन्थीहरुबीच कार्यगत एकता सुरु भए पनि तत्काल पार्टी एकताको सम्भावना नभएको बताएका छन् ।

वामपन्थी एकताको पक्षमा वकालत गर्ने नेता खनालले शनिबार एक कार्यक्रममा भनेका थिए, ‘अहिलेको सरकार वामपन्थीहरुबीचको कार्यगत एकता हो । हामी अहिले पार्टी एकता गर्न गइरहेका छैनौं । त्यो तत्काल सम्भव पनि छैन । हामीले वैचारिक राजनीतिक हिसाबले बलियो बनाउन लाग्नुपर्छ । त्यसलाई हाम्रो राष्ट्रिय महाधिवेशन आउँदैछ । हामीले समाजवादको कार्यदिशा अगाडि बढाउनुपर्छ ।’

वामपन्थी सरकार बनेपछि जनतामा आशाको सञ्चार भएको भन्दै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउन लाग्नुपर्ने उनको भनाइ थियो ।

ओली र नेपालबीच सहकार्य सुरु भइसकेपछिको नयाँ परिस्थितिबारे छलफल भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उनले भने, ‘साझा नीति तथा कार्यक्रमबारे पनि कुराकानी हुन्छ । सरकारको दिशा निर्देशनपछि मात्रै अरु कुरा हुन्छ । जनतामा देखिएको असन्तुष्टिलाई अन्त्य कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेर एउटा आधार तयार पार्नुछ ।’

माधव नेपालको पार्टीसँग बाहिर चर्चा भए जस्तो आजभोलि नै एकता नहुने उनले जिकिर गरे ।

उनले भने, ‘त्यो तत्काल एकताको सम्भावना छैन, यो गठबन्धन अबको कार्यकालसम्म जान्छ । पार्टी एकता होइन, चुनावमा कार्यगत एकता हुनसक्छ ।’

माधव नेपालले अहिले नयाँ समीकरणमा नयाँ शर्त अघि सार्दै आइरहेका छन् । आज बसेको संसदीय दलको बैठकले आफूहरुको मागप्रति लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत निर्णय भएको प्रमुख सचेतक मेटमणि चौधरीले बताए ।

उनले भने, ‘हाम्रा कुरा सुनुवाइ नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौं, ठान्दैनौं । उहाँमै भर पर्छ । सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ । सहमत हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनुहुन्न ।’

त्यसो त अघिल्लो गठबन्धनमा प्रचण्डपछि माधव नेपाल र अन्तिममा कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भद्र सहमति भएको थियो । अहिले नयाँ गठबन्धन बनेलगत्तै प्रचण्डपछि बाँकी कार्यकाल ओली प्रधानमन्त्री बन्ने सहमति भएको नेताहरु बताउँछन् ।

तर, नेपालले पनि नेतृत्वमा ‘पावर शेयरिङ’ गर्नुपर्ने आकांक्षा राखेको बताइन्छ । नयाँ समीकरण बनेपछि प्रचण्ड र ओलीसँग भएको भेटको विषयमा पार्टीको आजको बैठकमा पनि ब्रिफिङ गरेको एक सांसदले बताए ।

ती सांसदले भने, ‘उहाँले छलफल भइरहेको छ । अहिलेसम्म कुनै सहमति भइसकेको अवस्था छैन भनेर बैठकलाई जानकारी गराउनुभयो । पहिलो गठबन्धनमा भएको सहमति झैं नेतृत्वको आकांक्षा राख्नु स्वाभाविक हो । तर, आजको बैठकमा भने त्यसबारेमा केही बोल्नुभएको छैन ।’

अबको बाँकी कार्यकाल नेताहरुबीच मिलेर जाने भन्ने विषयमा छलफल भइरहेको एमाले नेता गौतम बताउँछन् ।

उनी थप्छन्, ‘हिजो भएको समझदारीअनुसार माधव नेपालले पनि नेतृत्वमा दाबी गर्नुभएको छ । हिजो पनि उहाँहरुबीच मौखिक सहमति भएको थियो, लिखित होइन । त्यसको कुनै कुरा निश्चित हुँदैन पनि । अब कोको हुन्छन् भन्दा पनि आलोपालोअनुसार मिलाएर चलाएर जाने भन्ने छ ।’

भनेपछि नयाँ गठबन्धनमा पनि माधव नेपालको नेतृत्वमा दाबी हो भन्ने जिज्ञासामा उनले भने, ‘दाबी त उहाँको पनि बलियो हुने नै भयो नि !’

तर, शनिबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले ओलीसँग बाँकी कार्यकाल आलोपालो चलाउने सहमति भएको ब्रिफिङ गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर