देवदहका १३ सामुदायिक स्कुलमा ११३ मा गुपचुपमा किनिएको सेनेटरी प्याडको ४५ रुपैयाँमै दिने सहमति – Nepal Press

देवदहका १३ सामुदायिक स्कुलमा ११३ मा गुपचुपमा किनिएको सेनेटरी प्याडको ४५ रुपैयाँमै दिने सहमति

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकामा रहेका १३ सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क वितरण गर्न खरिद गरिएको सेनेटरी प्याड बजार मूल्यभन्दा करिब तीन गुणा बढी मूल्यमा खरिद भएको समाचार नेपाल प्रेसमा सार्वजनिक भएपछि यसको सप्लायर्स कम्पनीले बजार मूल्यमै उपलब्ध गराउन बाध्य भएको छ ।

बजारमा ४५ रुपैयाँमा पाइने प्याड ती विद्यालयमा ११३ रुपैयाँमा खरिद भएको समाचार सार्वजनिक भएपछि नगर प्रमुख ध्रुव खरेलले शिक्षा शाखा प्रमुख टिकाराम शर्मा, हस्ताक्षर गरेर रकम भुक्तानी गर्ने १३ वटै विद्यालयका प्राचार्य र सप्लायर्स तथा सेनेटरी उद्योगका संचालकलाई बोलाएर तत्काल बजार मूल्यमा समान उपलब्ध गराउने र बढी भएको रकम फिर्ता दिन निर्देशन दिएका थिए ।

ती विद्यालयमा सप्लायर्स कम्पनी सुवि मेडिसिन एण्ड सप्लायर्सले चौतर्फी दबाब परेपछि यसअघि सहमति गरेका सबै विद्यालयलाई प्रतिप्याकेट ४५ रुपैयाँभन्दा माथिको रकम फिर्ता गर्ने सहमति सबै विद्यालयसँग गरेको हो । उसले प्रतिप्याकेटमा ६८ रुपैयाँ बढी रकम फिर्ता दिने भएको हो ।

केही सप्लायर्स कम्पनीले मूल्य अभिवृद्धि करसहित प्रतिगोटा ४५ रुपैयाँमा प्याड उपलव्ध गराउने दररेटको प्रतिवद्धता व्यक्त गरे पनि शिक्षा शाखाको सेटिङमा विद्यालयहरुलाई करसहित उक्त प्याड ११३ रुपैयाँमा खरिद गराइएको ती विद्यालयका प्राचार्यले गरेका थिए ।

नगरपालिकाको कार्यपालिका बैठकका दिन ती विद्यालयहरुको बैठक नगरपालिका बाहिर बसेर निर्णय भएको भन्दै नगर प्रमुख खरेलले आपत्ति जनाएका थिए ।

‘मैले यो विषयमा सूचना पाएपछि सबै पक्षलाई बुझेँ, ४५ रुपैयाँमा पाइने वस्तु ११३ मा खरिद भएको रहेछ, मैले तत्काल शिक्षा शाखा प्रमुख, विद्यालयका प्राचार्य र सप्लायर्स तथा उद्योगका प्रतिनिधिलाई लागेर फिर्ता गराउने सहमति गराएको हुँ’, उनले भने ।

अन्य सप्लायर्सले कम मूल्यको टेण्डर पेश गरेपनि मिलेमतोमा महंगो सप्लायर्स कम्पनीले जिम्मेवारी कसरी पायो भन्ने आशंका थपिएको छ ।

कानूनी हिसाबले सम्झौतामा १३ विद्यालयका प्रअहरु परेपनि नैतिकरुपमा शिक्षा शाखा प्रमुखसहित अन्य कर्मचारी र जनप्रतिनिधि पनि अनुसन्धानमा तानिने छन् ।

नगरपालिकाका शिक्षा शाखा प्रमुखले गलत मूल्य लगाएर ती विद्यालयमा सामान पठाउने सप्लायर्स कम्पनीले बढी मूल्य फिर्ता दिने कागज गराइएको फिर्ता प्रकृयामा गएको बताए ।

सम्झौता गर्नुभन्दा अघि नै सामान विद्यालयमा पठाएको शिक्षा शाखाले प्रत्येक विद्यालयलाई सप्लार्यससँग त्यसपछि मात्रै सम्झौता गराएको प्रअहरुले बताएपछि यो रहस्य बाहिर आएको थियो ।

शिक्षा शाखाले विद्यालयका प्रअहरुलाई आकस्मिक बैठक वोलाई वास्तविक मूल्यभन्दा ३ गुणा वढी मूल्यमा सम्झौता तथा भुक्तानी गर्न लगाएर आफूहरु फसेको दाबी प्रअको छ ।

शिक्षा प्रमुख शर्माले योजनावद्ध ढंगले बैठकमा बोलाएर सप्लायर्ससँग सम्झौता गर्न लगाएको प्रअहरुले आरोप लगाएपनि कानुनी हिसाबले उनीहरु चुकेका थिए ।

सामान खरिदका विषयमा आवश्यक छलफल गर्न भनेर बैठकमा वोलाए पनि तत्काल विद्यालयको खातामा पैसा पठाएर विद्यालयलाई नै भुक्तानी गर्न लगाइ आफूहरुलाई अप्ठ्यारोमा पारेको शिक्षकहरुले बताएका थिए ।

विद्यालयका अन्य कामहरु गर्दा ढिलासुस्ती गर्ने गरेको शिक्षा शाखाले सेनेटरी प्याडको सम्झौता र भुक्तानीमा भने छिटो छरितो खातामा पैसा पठाउने तथा चेक काट्न लगाएपछि केही प्रअहरुले शंका मानेका थिए । प्याड खरिदको सम्झौता शिक्षा शाखाकै रुचीको सम्पलायर्समार्फत गराइएको थियो ।

शिक्षा शाखाको निर्देशनमा सेनेटरी प्याड खरिद गर्दा सेनेटरी प्याड(वितरण तथा व्यवस्थापन) कार्यविधि २०७६ र सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ को समेत अधिनमा रहि खरिद र व्यवस्थापन गर्न गराउन देवदह नगरपालिकाले सवै विद्यालयलाई निर्देशन गरेको छ ।

विद्यालयहरुले विधि र विधानलाई प्रयोग नगरेको पाइएपछि नगरपालिकाले परिपत्र नै जारी गरेको नगरपालिकाले जनाएको छ ।

शिक्षा शाखाले सार्वजनिक खरिद ऐनलाई समेत बेवास्ता गरेर दिएको आदेशका कारण देवदहका १३ वटा विद्यालयहरु अप्ठ्यारोमा परेका थिए । शिक्षा शाखा प्रमुख टिकाराम शर्माले सप्लायर्स र कम्पनीको कारण यस्तो भएको गल्तीले ठूलो पाठ सिकाएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर