सवा ३ अर्ब बचत भएको क्यापिटल सहकारीमा बचतकर्ताको रुवाबासी – Nepal Press

सवा ३ अर्ब बचत भएको क्यापिटल सहकारीमा बचतकर्ताको रुवाबासी

नियामक भन्छ- अध्ययन गर्न फाइल प्रहरीकहाँ पठाउँदैछौं

काठमाडौं । बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने अधिकांश सहकारीको कार्यालयको ढोका बन्द छ । केही सहकारीका सञ्चालक नै फरार छन् । तर, काठमाडौंको क्षेत्रपाटीस्थित क्यापिटल सेभिङ एण्ड क्रेटिड लिमिटेडले भने कार्यालय खुलै राखेर बचतकर्तालाई सास्ती दिएको खुलेको छ । आफूहरुलाई १७ महिनादेखि झुलाइरहेको भन्दै ५३ जना बचतकर्ता अहिले सहकारीविरुद्ध आन्दोलित छन् ।

बचतकर्ता अनिता रुपाखेतीका श्रीमान रामकृष्ण औषधिको मार्केटिङ गर्ने एमआर छन् । त्यही एमआरको कमाइ उनले क्यापिटल सहकारीमा राखेका थिए । सहकारीका अध्यक्ष रामचन्द्र शर्मा रामकृष्णका साथी थिए । साथीकै आग्रहमा उक्त सहकारीमा आफूले निक्षेप राखेको उनी बताउँछन् । हरेक पटक कार्यालय जाँदा ‘हामी पैसा दिन्छौं’ भन्ने तर रकम नदिने गरेको रुपाखेतीले गुनासो गरे ।

चन्द्रप्रभा कोइरालाले पनि आफ्ना दाजु र आमासहितको गरेर १ करोड रुपैयाँ क्यापिटल सहकारीमा राखेकी छन् । उनी पनि त्यही समूहमा रकम फिर्ता पाउने आशमा आन्दोलित छिन् । ‘रुम टु रिड नेपाल’ मा जागिर खाएर कमाएको पैसा उनले सोही संस्थामा राखिन् । काम नभएको बेलामा र दुःखमा गर्जो टर्ने भन्दै बचत गरेकी थिइन् । उनले ८५ वर्षे आमाको वृद्धभत्ताबाट आएको पैसा पनि सोही सहकारीमा बचत गरिदिइन् । तर सबै रकम अहिले क्यापिटल सहकारीमा जाम छ ।

सहकारी पीडित बचतकर्ताको समूहका संयोजक रोहिस जोशीको ५० लाख रुपैयाँ पनि क्यापिटलमा फसेको छ । संयोजक जोशीले आफूहरुले पटक पटक उजुरी गरे पनि सहकारी विभागले नसुनेको बताउँछन् ।

क्यापिटल सहकारी बागमती प्रदेशको नियमन क्षेत्रभित्र रहेको छ । बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा तीन पटकसम्म सहकारी र बचतकर्ताबीच वार्ता भएको छ । पछिल्लो वार्तामा महिनामा १० लाख रुपैयाँ फिर्ता गर्ने र उक्त रकम ५३ जनामा बाँड्ने भनी सम्झौता भएको जोशी बताउँछन् । सम्झौताअनुसार रकम फिर्ता नगरेर सहकारीले झेल गरेको पीडितहरुको भनाइ छ ।

रजिष्ट्रार भन्छन्- अनुसन्धानका लागि प्रहरीकहाँ फाइल पठाउँदैछौं

बागमती प्रदेशका सहकारी रजिष्ट्रार रोहित पोखरेल क्यापिटल सहकारीविरुद्ध बचतकर्ताले उजुरी दिएकाले अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा फाइल पठाउने तयारी भएको बताए । यसको लागि मन्त्रीस्तरीय निर्णय चाहिने भएकाले सोही कुरेर बसेको उनले बताए ।

क्यापिटलसहित अन्य केही सहकारीको फाइल पठाउने गरी तयारी भइरहेको उनले बताए । पछिल्लो समय बचतकर्ताहरु एकै पटक रकम फिर्ता माग्न गएकाले सहकारीको समस्या झन बल्झिएको उनको बुझाइ छ ।

उनी भन्छन्, ‘बचतकर्ताको रकम लगानीमा गएको हुन्छ । एकै पटक सबै बचतकर्ता रकम फिर्ता माग्न गए दिन असहज पनि हुन्छ । सञ्चालकलाई थुन्दैमा समस्या समाधान हुँदैन । पैसा असुल्ने त्यही सञ्चालकबाटै हो ।’

रजिष्ट्रार पोखरेलका अनुसार गत मंसिर २७ गते क्यापिटलका सञ्चालकहरु निर्णयसहित सहकारी रजिष्ट्रार कार्यालयमा पुगेका थिए । उनीहरुले उक्त समयमा ३ अर्ब ९४ करोड ३ लाख ८२ हजार रुपैयाँ सम्पत्ति रहेको विवरण बुझाएका थिए । यस्तै ३ अर्ब १५ करोड ७८ लाख रुपैयाँ बचत रहेको उनीहरुले प्रदेशमा बुझाएको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

बागमती प्रदेशअन्तर्गत ३ हजार २०० सहकारी छन् । तर, सहकारी अनुगमनका गर्न करारसहित ४ जनामात्रै कर्मचारी छन् । रजिष्ट्रार पोखरेल ४ जना कर्मचारीलाई ३२ सय सहकारी थुपारिदिएकाले प्रभावकारी अनुगमन गर्न नसकिएको बताउँछन् ।

सहकारीका उपाध्यक्ष भन्छन्- म पनि पीडित बचतकर्ताको लाइनमा उभिनुपर्ने भएको छ

हामीले क्यापिटल सहकारीका अध्यक्ष रामचन्द्र शर्मालाई पटक पटक फोन सम्पर्क गर्‍यौं । तर, सम्पर्क हुन सकेन । सहकारीका उपाध्यक्ष युगेश्वरराज सापकोटा भने सम्पर्कमा आए । बचतकर्ताको रकम फिर्ता गर्न अप्ठेरो भएकोबारे प्रश्न गर्दा उनले आफ्नो पनि ठूलो रकम सहकारीमा भएकाले आफू पनि अब पीडित बचतकर्ताको लाइनमा उभिनुपर्ने अवस्था आएको जवाफ दिए ।

आफू पदमा रहे पनि जिम्मेवारीबाट मुक्त भएकाले अध्यक्षसँग जवाफ माग्न भन्दै उनी पन्छिए ।

२०५७ सालमा स्थापना भएको क्यापिटल जिल्ला सहकारी संघ काठमाडौं, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) र काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन) मा आवद्ध रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर