एमाले कैलाली अधिवेशन: पाँचौँ दिनमा आज मतदान हुँदै, त्रिपक्षीय भिडन्त – Nepal Press

एमाले कैलाली अधिवेशन: पाँचौँ दिनमा आज मतदान हुँदै, त्रिपक्षीय भिडन्त

कैलाली । नेकपा एमाले कैलालीको नेतृत्व चयनको लागि आज मतदान हुने भएको छ ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलालीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । उनले आइतबार राति सम्म सहमतिको प्रयास गर्न र सहमति नहुँदा सोमबार बिहानै चुनाव गर्न निर्देशन दिएका थिए ।

तर, ओलीले दोस्रो दिनमै निर्वाचन गर्न भने पनि यहाँ पाँचौँ दिनमा निर्वाचन हुन लागेको हो ।

आज कति बजेदेखि निर्वाचन गर्ने भन्ने विषय अझै अनिश्चित छ । बिहान ८ बजेदेखि चुनाव गर्ने तयारी गरिएको थियो तर, त्यो भन्दा ढिलो हुने प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले जानकारी दिए ।

त्रिपक्षीय भिडन्त

एमाले कैलालीको नेतृत्वको लागि तीन जनाले उम्मेदवारी दिएका छन् । आज यज्ञ ढुङ्गाना, दुर्गाप्रसाद जोशी र डेजी पाण्डेबीच बडा टक्कर हुने अनुमान गरिएको छ । उनीहरु आफ्नो प्यानलसहित नै चुनावी मैदानमा होमिएका छन् ।

उपाध्यक्ष पदमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्र बहादुर रावल, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाही रहेका छन् । सचिव पदमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा, र ममता प्रसाद चौधरी उम्मेदवार भएका छन् ।

उपसचिवमा राजु गुरुङ,किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्र बहादुर विष्ट, भुवन रिजाल रहेका छन् । त्यस्तै महिला उपसचिवमा रत्ना कुवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गा कुमारी चौधरी र शान्ति देवी सिंह रहेका छन् ।

एमाले कैलालीले पहिलो पटक अधिवेशन अगाडि नै सहमति खोज्ने प्रयत्नका रुपमा आकांक्षीहरुलाई इच्छा पत्र पेश गर्नुपर्ने विधि तय गरेको थियो । तर, त्यसो गर्दा पनि सहमति हुन नसकेपछि आज चुनाव हुने निश्चित भएको हो ।

एक सय ५० सदस्यीय जिल्ला कमिटी चयन गर्न कैलालीमा १३ वटा स्थानीय तहबाट पाँच सय ९१ जना प्रतिनिधि रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर