एमाले कैलाली अधिवेशन: सोमबार बिहानै चुनाव गर्न ओलीले दिएका थिए निर्देशन, छैन अझै सुरसार – Nepal Press

एमाले कैलाली अधिवेशन: सोमबार बिहानै चुनाव गर्न ओलीले दिएका थिए निर्देशन, छैन अझै सुरसार

कैलाली । कैलाली । नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनमा अझैसम्म पनि सहमतिका लागि प्रयास जारी गरेको एमाले नेताहरूले दाबी गरिरहेका छन् । आइतबार अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार रातभर सहमतिको प्रयास गर्न र नभए सोमबार बिहानैदेखि निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।

सहमतिबाट टुङ्गग्याएको उम्मेदवारलाई आफ्नो पनि समर्थन रहेको बताउँदै अध्यक्ष ओलीले सहमति जुट्न नसके सोमबार बिहानैबाट निर्वाचन अगाडि बढाउन निर्देशन दिएका थिए ।

‘भरसक सहमति गर्नुहोस् । सबैले एउटै उम्मेदवार बनाउनुहोस्। मेरो पनि त्यहि हो । मिल्न सक्नु भएन भने विलम्ब नगरीकन, यो दुई दिन चार दिन लगाउने होइन ’उनले भनेका थिए, ‘रातभरिमा मिल्छ भने मिल्छ । मिल्दैन भने भोली बिहानबाट चुनाव गर्नुहोस् खुरुखुरु ।’

सोमबार बिहानै चुनाव गर्न ओलीले दिएको निर्देशन मङ्गलवार बिहानसम्म पनि कार्यान्वयन भएको छैन । अहिलेसम्म निर्वाचन प्रक्रिया नै सुरु नभएको हुँदा बुधवार मात्रै चुनाव हुने सङ्केत देखिएको छ ।

‘अहिले हामी निर्वाचन प्रक्रिया अगाडि बढाउने विषयमा छलफल गरिरहेका छौँ उम्मेदवारको उम्तिन नामावली प्रकाशन गर्दा सम्म ७्८ घण्टा लाग्न सक्छ’ अहिले अध्यक्षका उम्मेदवार समेत रहेका कार्यबहाक अध्यक्ष दुर्गा जोशीले भने ‘निर्वाचन प्रक्रिया पनि सुरु गर्छौ, सर्वसम्मतको प्रयास पनि जारी रहन्छ ।’

अधिवेशन सुरु भएको दोस्रो दिन बितिसक्दा सम्म पनि निर्वाचन प्रक्रिया सुरु नहुँदा तेस्रो दिनमा पनि चुनाव हुने सम्भावना करिब क्षीण भएको छ । एमाले कैलाली इन्चार्ज समेत रहेका पोलिटब्युरो सदस्य गणेश ठगुन्नाले सहमतिको प्रयास गर्ने नभएर भोली बिहान सम्म निर्वाचन गर्ने गरि तयारी भइरहेको बताए ।

‘अहिले ९ बजे दोस्रो दिनको बन्द सत्र सुरु हुने र आजै टुङ्गो लगाउने प्रयास हुन्छ’ उनले भने ‘नभए भोली बिहान चुनाव हुन्छ ।’निर्वाचन प्रक्रिया सुरु भएपछि पनि सहमतिको प्रयास जारी राख्ने अन्तिममा नभए निर्वाचन गर्ने ठगुन्नाले बताए ।

पाँच पदमा ५३ आकाङ्क्षी, अध्यक्षमै तीन जना

नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनमा आकाङ्क्षीहरूको लर्को लागेको छ । पाँच पदाधिकारीमा ५३ जनाले दाबी गरेका छन् । सहमतिमा जिल्लाको नेतृत्व चयन गर्ने भन्दै ३ फागुनमा अध्यक्षसहितका पाँच पदाधिकारीका आकाङ्क्षीसँग इच्छा पत्र मागेको थियो ।

अध्यक्षमा तीन जनासहित कुल पदाधिकारीमा ५३ जनाले इच्छा पत्र दर्ता गराएका थिए । ४ र ५ फागुनमा आकाङ्क्षीका बिचमा सहमति खोजिने भनिएको थियो तर अधिवेशनको बन्द सत्र सुरु भइसक्दा पनि सहमति जुटेको छैन ।

औपचारिक, अनौपचारिक रुपमा माथिल्लो तहका नेता र आकांक्षीकाबीचमा छलफल भइरहेको बताइए पनि अहिलेसम्म कुनै कुराको टुङ्गो नलागेको एमाले नेताहरू बताउँछन् ।

अध्यक्षमा अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले आकांक्षा राखेका छन् ।

तर उनीहरूबिच नै छलफल नभएकाले उपाध्यक्ष, सचिव र दुई उपसचिवको विषयमा छलफल नै सुरु भएको छैन ।

उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा गरी ८ जनाले दाबी गरेका छन् ।

सचिवमा हितेस ओझा, ममताप्रसाद चौधरी, विष्णु चन्द, कमलबहादुर राना, चूडामणि भट्ट, आनन्दप्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्रबहादुर रावल, द्वारिका न्यौपाने, विष्णुबहादुर चौधरी, वक्तबहादुर शाही र भीष्मराज सुवेदी गरी सचिवमा १२ जनाले उम्मेदवारी दिने तयारीमा छन् ।
२ पदको उपसचिवमा ३० जनाले दाबी गरेका छन् । उपसचिवका लागि धिमलाल जोशी, राजु गुरुङ, चक्रबहादुर विष्ट, नौरता देवी खड्का, मदन राज रेग्मी, टीकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदारप्रसाद ओझा, अम्बिका विष्ट मल्ल, भुवन रिजाल, निर्मला संज्याल, किशोर शाह, लक्ष्मी केसी, गणेशबहादुर साउद, मोहन विक, ध्रुवबहादुर भण्डारीले दाबी गरेका छन् ।

त्यस्तै खगेन्द्रकुमार ठकुल्ला, जगत बोहरा, ध्रुव खत्री, नेत्रप्रसाद खनाल, कमला कुँवर, गृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भुल, गोविन्द कोइराला, रत्ना कुँवर गणेश बुढा र सुरज परियारले पनि उपसचिवमा इच्छा देखाएका छन् ।

तीन नेता तीन तिर

जिल्लाको नेतृत्व लिने आकांक्षा राखेका तीन नेताले तीन शीर्ष नेताको साथ आफूसँग भएको निकटवर्तीहरुसँग बताउने गरेका छन् ।
दुर्गाप्रसाद जोशीलाई केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, डेजी पाण्डेलाई स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र नारायणमुनि राना र यज्ञराज ढुङ्गानालाई सुदूरपश्चिमका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारीको साथ रहेको एमाले वृत्तमा चर्चा छ ।

नेताहरूकै कारण आकांक्षीबीच सहमति हुन नसकेको जिल्ला अधिवेशनमा प्रतिनिधिहरू बताउँछन् । नेताहरू भने यो कुरालाई अस्वीकार गर्छन् । उनीहरु सबल र सक्षम उम्मेदवारले नेतृत्व गर्नु पर्छ भन्ने विषयमा रहेको बताउँछन् ।

ओलीले के गरेका थिए सङ्केत ?

नवौँ अधिवेशन उद्घाटन गरेर आइतबार नै काठमाडौँ फर्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत वा लोकतान्त्रिक प्रक्रियामार्फत सक्षम नेतृत्व चयन गर्न प्रतिनिधिहरूलाई शुभकामना दिएका थिए ।

उद्घाटन सत्रमा करिब आधा घण्टा बोलेका ओलीले अनावश्यक लडाइ नगरेर पार्टीलाई हाँक्न सक्ने सक्षम व्यक्तिलाई नेतृत्वमा ल्याउन सुझाव समेत दिएका थिए ।

उनले कैलालीमा आफ्नो कुनै उम्मेदवार नै नभएको र सबै उस्तै भएको बताएका थिए । ‘मेरो कुनै क्यान्डिडेट ९उम्मेदवार० छैन । यहाँ तपाईंहरुलाई भ्रम होला’, ओलीले भनेका थिए, ‘फलानोले के–के गरेछ । मन लागिहाल्छ तर होइन । मेरा लागि सबै साथीहरू उस्तै हुन् ।’
ओलीले योग्यता पुगेका सबैलाई अध्यक्ष बनाउन मिल्ने भए बनाइदिने तर विधानले नमिल्ने भन्दै योग्य व्यक्तिलाई चयन गर्न भनेका थिए ।
‘एक जना बनाउनुपर्ने भएपछि अनावश्यक लडाइँ गर्नुहोस् । आफ्नो मूल्याङ्कन आफैले ठिक ढंगले गर्नुहोस्’, उनले भने, ‘मिसन ८४ लाई सफल पार्न को साथीको अगुवाइमा जान सकिन्छ यो आफैँले छलफल गरेर निष्कर्ष निकाल्नुहोस् ।’

ओलीले आइतबार रातभर सहमतिको प्रयास गर्ने र नभए सोमबार बिहानैदेखि निर्वाचन प्रक्रिया अघि बढाउन समेत आग्रह गरेका थिए ।
ओलीले प्रदेश अधिवेशनमा जस्तो कैलाली जिल्ला अधिवेशनमा सहमितलाईनै प्रधान नमान्न सङ्केत दिए ।

उनले निर्वाचनमा विलम्ब नगर्न पनि भनेका थिए । जित्नेलाई तडकभडक नगर्न र हार्नेले पनि मन सानो नपार्न ओलीको सुझाव थियो ।
‘चुनाव गर्नुहोस् धेरै भोट पाउनेले माला साला लगाएर अध्यक्ष हुनुहोस् थोरै भोट पाउनेले जित्नेलाई बधाई दिनुहोस् ’ उनले भनेका थिए, ‘जित्नेले हिपहिप हुर्ये गरेर उफ्रिने होइन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर