प्रचण्डलाई ओलीको प्रश्न- ७० वर्ष पुग्न लाग्नुभयो, अहिलेसम्म नसच्चिएको कहिले सच्चिने ? – Nepal Press

प्रचण्डलाई ओलीको प्रश्न- ७० वर्ष पुग्न लाग्नुभयो, अहिलेसम्म नसच्चिएको कहिले सच्चिने ?

कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निकम्मा भएको टिप्पणी गरेका छन् ।

नेकपा एमालेको नवौं कैलाली जिल्ला अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले वर्तमान सरकारप्रति खरो टिप्पणी गरेका हुन् ।

‘यो निकम्मा सरकार हो, यसले केही काम पनि गर्न सक्दैन’, उनले भने, ‘हामीले ३९६ वटा अस्पताल हरेक पालिकामा हुनुपर्छ भनेका थियौं । कहाँ गए ती अस्पताल ?’

उनले सरकारले अहिलेसम्म कुनै गतिलो काम नगरेको बताए ।

‘एउटा पनि देखाउन लायक काम प्रधानमन्त्रीले गर्नुभएको छैन । एक वर्ष पुग्दा भाषण गर्दा पनि हामी काम गर्छौं, सच्चिन्छौं भन्नुहुन्छ’, ओलीले भने, ‘७० वर्ष पुग्न लाग्नुभयो, अहिलेसम्म नसच्चिएको कहिले सच्चिने हो ?’

अहिले मुलुक गम्भीर मोडमा रहेको बताउँदै उनले भने, ‘राष्ट्रियता कमजोर भएको छ । स्वाधीनता र स्वतन्त्रता कमजोर भएका छन् । तिनको संरक्षण गर्न सकिएको छैन । देशमा सुशासन छैन ।’

सरकारले गलत काममा संलग्नहरूलाई पनि कारबाही गर्न नसकेको ओलीको भनाइ थियो ।

‘यो गरिबलाई हेप्ने, न्याय नदिने बलियाका पक्षको सरकार हो, क्विन्टलको क्विन्टल सुन आएको देख्दा पनि यो सरकारले कारबाही गर्न सक्दैन । सरकार निरीह छ’, ओलीले भने, ‘तस्कर हेर्दा आफ्नै मान्छे भेट्छ, कारबाही गर्न सक्दैन ।’

ओलीले आफ्नो कार्यकालमा गरेका कामलाई अहिलेको सरकारले निरन्तरता नदिएको बताए । विदेश जाने युवाहरूलाई रोक्न नसक्नु विडम्बना रहेको उनले बताए ।

‘३-४ हजार हरेक दिन विदेश गइरहेका छन् । गाउँबस्तीहरु रित्ता भइरहेका छन् । सरकार हेरिरहेको छ । म प्रधानमन्त्री भएको बेला १८ प्रतिशतले बाहिर जानेहरूको संख्या बढेको थियो, उत्पादन वृद्धि भएको थियो । पूर्वाधारको विकास भएको थियो । एकै दिनमा २१० वटा पालिका सदरमुकाम जोड्ने सडक शिलान्यास गरेको थियो । आज ती सडकहरु अलपत्र छन् । ती आयोजना कहाँ गए’ उनले भने, ‘हामीलाई यो देशमा सुशासन ल्याउनु छ, रोजगारीको अवसर सृजना गर्नु छ, जनताको जीवनमा परिवर्तन ल्याउनु छ ।’

जिल्ला अधिवेशनको सन्दर्भमा ओलीले सक्षम र योग्य व्यक्तिले नेतृत्व गर्नुपर्ने बताए ।

अध्यक्ष ओलीले जिल्लालाई आगामी दिनमा हाँक्नको लागि उम्मेदवार ल्याउन सुझाव दिए । उनले सर्वसम्मतबाट नेतृत्व चयन नभए लोकतान्त्रिक विधि अपनाउन सुझाव दिएका थिए ।

‘सर्वसम्मतिले होस् या लोकतान्त्रिक विधिबाट होस्, यस नेतृत्वले सबै साथीहरूलाई मिलाएर एकताबद्ध बनाएर सिङ्गो नेकपा एमाले उदाहरणीय रूपले अगाडि बढ्नेछ’ उनले भने ।

उनले जिल्ला अधिवेशनमा गुटबन्दी नगर्नसमेत नेता कार्यकर्ताहरूलाई निर्देशन दिए । ‘अनुशासनहीन गुटबन्दी र अराजकता जस्ता कुराहरू सङ्गठनको लागि हानिकारक हुन्’, ओलीले भने ।


प्रतिक्रिया

One thought on “प्रचण्डलाई ओलीको प्रश्न- ७० वर्ष पुग्न लाग्नुभयो, अहिलेसम्म नसच्चिएको कहिले सच्चिने ?

  1. उट्पट्याङहरू सच्चिन निकै कठिन हुने रहेछ भन्ने कुरा तपाइलाइ हेरे पुगिहाल्छ नि । किन प्रचण्डलाइ प्रश्न गर्नुभएकाे हाेला ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर