महँगीभन्दा निक्षेपको ब्याजदर सस्तो, विज्ञहरुको चेतावनी- अर्थतन्त्र नियन्त्रण बाहिर जानसक्छ – Nepal Press

महँगीभन्दा निक्षेपको ब्याजदर सस्तो, विज्ञहरुको चेतावनी- अर्थतन्त्र नियन्त्रण बाहिर जानसक्छ

काठमाडौं । वाणिज्य बैंकहरुले फागुनका लागि माघ २९ गते मुद्दती निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरे । जसअनुसार निक्षेपको ब्याजदर घटेको छ ।

बैंकहरुले साधारण निक्षेपको ब्याजदर पनि घटाएका छन् । जसमा एनआईसी एसियाले ३ देखि ६ महिनासम्मको मुद्दती निक्षेपको ब्याजदर ४ प्रतिशत तोक्यो । उसले बचत खाताको ब्याजदर अझ ३ प्रतिशतकै लाइनमा झार्‍यो ।

यो भनेको ब्याजदर महँगीभन्दा निकै कम हो । जबकि पुस मसान्तसम्म ५.२६ प्रतिशत महँगी थियो । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्ने हो भने एनआईसी एसिया बैंकले दिने ब्याजदरभन्दा महँगी बढी देखियो ।

पछिल्लो समय बैंकहरुको ब्याजदर घट्दो क्रममा छ । महँगी बढ्नु र ब्याजदर यसभन्दा कम हुनु भनेको पैसाको भ्यालु घट्नु हो ।

अर्थविद् नरबहादुर थापा मुद्रास्फीति (महँगी) भन्दा ब्याजदर कम हुँदा अनौपचारिक अर्थतन्त्रको आकार बढ्दै जाने बताउँछन् ।

‘बैंकमा राखेको रकमले राम्रो प्रतिफल दिँदैन भने सो रकम अन्त डाइभर्ट हुनसक्छ । बढी फाइदा हुने क्षेत्रमा लगानी जानसक्छ । मिटरब्याजको समस्या झन बढ्छ’, उनी भन्छन्, ‘कुनै पनि व्यक्तिको ब्लड प्रेसर कहिले उच्च र कहिले न्यून हुनु भनेको उसको स्वास्थ्यमा खराबी भयो भन्ने हो । त्यस्तै केही महिना अघिमात्र १२ प्रतिशतसम्म ब्याजदर रहेको बैंकिङ क्षेत्रमा यति धेरै उतारचढाव हुनु भनेको वित्तीय स्वास्थ्य पनि ठीक छैन भन्ने हो ।’

अहिले व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ७.७५ प्रतिशत छ । राष्ट्र बैंकको प्रतिवेदनलाई नै आधार मान्ने हो भने २०७७ फागुनमा पनि बैंकहरुको औसत मुद्दती निक्षेपको ब्याजदर ७.७५ प्रतिशत थियो । त्यसपछि सो ब्याजदर बढेर ११.०६ प्रतिशतसम्म पुग्यो । २०७९ फागुनमा मुद्दती निक्षेपको ब्याजदर औसत ११.०६ प्रतिशत थियो ।

त्यतिबेला साधारण निक्षेपको औसत ब्याजदर ६.९३ प्रतिशत थियो । त्यसको एक वर्षपछि २०८० फागुनमा मुद्दती निक्षेपको औसत ब्याजदर ७.७५ प्रतिशत कायम भएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ ब्याजदर वित्तीय स्रोतको माग र आपूर्तिले निर्धारण गर्ने भएकाले कहिले बढ्नु र कहिले घट्नु स्वाभाविक भएको बताउँछन् ।

अहिलेको अवस्थालाई श्रेष्ठ करेक्सन भन्न रुचाउँछन् । ‘बजारमा देखिएको नोमिनल रेट हो । महँगीभन्दा निक्षेपको व्याजदर कम हुनु भनेको रियल रेट कम हुनु हो । महँगी अनुभव गरिसकेको हुन्छ भने निक्षेप आगामी दिनमा यति पाइएला भनेर राखिएको हुन्छ । उसले निक्षेप फिर्ता लिने बेलासम्म महँगी झन बढ्न पनि सक्छ’, श्रेष्ठ भन्छन् ।

महँगीभन्दा ब्याजदर कम हुँदा के हुन्छ ?

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा महँगीभन्दा ब्याजदर कम हुँदा अर्को वर्ष किन्नुपर्ने वस्तु अहिले नै किन्न सक्ने हुँदा यसले उपभोग बढाउने र बैंकमा फेरि पनि लगानीयोग्य रकम कमी हुने बताउँछन् ।

‘मन्दीको बेला ब्याजदरमा घटबढ हुन्छ । अहिलेको अवस्था अस्वाभाविक हो’, उनी भन्छन्, ‘यसले फेरि पनि अर्थतन्त्रलाई नै हिट गर्ने हो ।’

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. श्रेष्ठले कम ब्याजदर हुँदा सो बचतले क्रयशक्तिमा ह्रास आउने र बचत परिचालन कम हुने बताए ।

‘यदि कुनै व्यक्तिले १०० रुपैयाँ ५ प्रतिशत ब्याजदरमा मुद्दती निक्षेपमा राख्यो भने एक वर्षमा उसको १०५ रुपैयाँ हुने भयो । त्यतिबेलासम्म महँगी अझ बढ्नसक्छ । उसले राखेको १०० रुपैयाँले सो वर्ष उसले किन्न चाहेको जुन बैंकमा राख्दा बखत नै किन्न सक्थ्यो । तर, ब्याजका लागि बैंकमा राख्दा एक वर्षपछि किन्यो भने सो वस्तु महँगिएर नआउने सम्भावना अधिक हुन्छ’, उनी भन्छन्, ‘यसो हुँदा उसलाई अनुभव हुन्छ कि पैसा बैंकमा नराखेर कतै लगानी गरेको भए हुने ! यसो हुँदा मानिसले बचत परिचालन कम गर्न सक्ने खतरा हुन्छ ।’

ब्याजदर घट्न थालेपछि संस्थागत निक्षेपकर्तालाई राष्ट्र बैंकको राहत

ब्याजदर घट्दै जान थालेपछि राष्ट्र बैंकले संस्थागत निक्षेपकर्तालाई राहत दिने भएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले व्यक्तिगतभन्दा संस्थागत निक्षेपमा एक प्रतिशत विन्दुले कम हुनुपर्ने
व्यवस्था गरेको छ ।

यसअघि २ प्रतिशतको फरक थियो । २ प्रतिशतको फरक हुँदा संस्थागतले औसत ५ प्रतिशत पनि ब्याजदर पाउने अवस्था नआएपछि त्यसलाई कम गरेर एक प्रतिशतमा झारेको हो ।

कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.६ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थामा अहिले ६१ खर्ब ५१ अर्ब रुपैयाँ कुल निक्षेप छ । यस्तै कुल कर्जा भने ५० खर्ब ८३ अर्ब रुपैयाँ छ ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुपातमा अहिले बैंकिङ क्षेत्रमा भएको निक्षेप ११३ प्रतिशत छ । यो २० वाणिज्य बैंक, १७ विकास बैंक र १७ वटा फाइनान्स कम्पनीमा जम्मा भएको रकम हो । यी बैंक तथा वित्तीय संस्थामा ५ करोड ३५ लाख ५० हजार ३०६ वटा निक्षेप खाता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर