एमाले धादिङको तमासामा को हुन् जोकर ? – Nepal Press
ब्लग

एमाले धादिङको तमासामा को हुन् जोकर ?

अधिवेशन भन्नेबित्तिकै एउटा पर्व हो । यो पर्व हरेक संघसंस्था वा पार्टीले विधानमै किटान गरेको हुन्छ । यस्तै पर्व नेकपा एमालेको धादिङ जिल्ला अधिवेशन पनि थियो र छ । २०८० माघ १९ गते पार्टीका महासचिव शंकर पोख्रेलले उद्घाटन गर्नुभएको अधिवेशनले जिल्ला नेतृत्व चयन गर्नुपर्ने थियो । तर, जिल्ला कमिटी बैठक नै नबसी संयन्त्रको नाममा हरेक निर्णय हुँदै आयो । जिल्ला संयन्त्र त्यो ठाउँ हो, जहाँ विवाद भएका कुराहरुलाई सहजतापूर्वक समाधान गर्ने, विवादित काम नेतृत्वलाई गर्न नदिने र जस्तोसुकै समस्याको समाधान गर्नुपर्ने हो ।

तर, त्यसको मुखिया जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाले त्यो संयन्त्रको चरम दुरुपयोगमात्रै गर्नुभएन, उद्देश्यभन्दा उल्टो बाटो हिंड्दै विवादित बनाउन सफल हुनुभयो । बैठक नबसेपछि राजनीतिक, सांगठनिक, आर्थिक प्रतिवेदन कहीं छलफल भएनन् । जिल्ला कमिटीले केही गर्न पाएन । मनोनीत कतिबेला कसरी भयो थाहा भएन ? हलले गर्ने काम बहुमतको नाममा संयन्त्रले गर्‍यो । पार्टीको प्रदेश इन्चार्ज र अध्यक्षले बोल्न खोज्दा पाउनुभएन, हुल हुज्जत भयो, अपमान गरियो । पार्टीको जनवादी केन्द्रीयता निस्तेज पारियो । सदस्यता नवीकरणबाट शुरु भएको धाँधली मनोनीतसम्म पुग्दा कब्जाको नियतमा पुग्यो । फलस्वरूप प्रतिवाद भयो ।

यी तलका कारणले एमाले धादिङको अधिवेशन स्थगित भएको हो । यसमा दुईमत हुनै सक्दैन । एमाले धादिङको अधिवेशन स्थगित हुनुका केही सत्यः

  • अधिवेशन आयोजक कमिटीमा कति जना छन् संख्या एकिन नहुनु ।
  • अधिवेशनको बन्दसत्र शुरु हुनु अघिल्लो दिन नै प्रतिनिधिहरुको एकिन गरी नामावली प्रकाशन हुनुपर्नेमा बन्दसत्र सुरु हुँदा पनि एकिन नहुनु ।
  • जिल्ला कमिटीले मनोनीत गर्नुपर्ने ठाउँमा बैठक नै नबसी हिजो पार्टी हराउन लागेकादेखि अनेकौं खालका मान्छेसम्मलाई मनोनीत गर्नु । जिल्ला कमिटी बैठकमा तनाव उत्पन्न भइ तथानाम गाली र हुलहुज्जत हुनु ।
  • संगठित सदस्य शुल्क तिर्दा पनि नवीकरण नहुनाले संगठित सदस्यहरु रसिद गोजीमा राखेर संगठन विभागमा धाउन पर्ने स्थितिले अधिवेशनमा तिनको प्रतिनिधित्व हुन नसक्नु । अर्थात, सदस्यता नवीकरणमा धाँधली हुनु ।
  • स्वयंसेवकहरु प्रतिनिधिलाई तह लगाउने ढङ्गबाट प्रयोग हुनु । प्रतिनिधिमाथि जाइलाग्नु, हमला गर्नु ।
  • जनसंगठन विभागबाट बैठक नबसी नाम सिफारिस हुनु । गठन नभएको जनसंगठनबाट पनि प्रतिनिधि चयन हुनु ।
  • विभागका सदस्यलाई बैठकबारे थाहा नहुनु तर, प्रतिनिधि पठाउनु ।
  • अध्यक्षमण्डल हलले निर्णय गर्नुपर्नेमा शासकीय स्वविवेक प्रयोग गरी एकपक्षीय रुपमा काम गरी अर्को पक्षलाई निषेध गर्दै आउनुभएको जिल्ला इन्चार्ज धर्मदत्त देवकोटालाई जबरजस्ती प्रस्ताव गर्न खोज्नु, जबरजस्ती गर्न खोज्दा प्रतिरोध हुनु, प्रतिरोध गर्दा तनाव उत्पन्न हुन गइ अधिवेशन स्थगित भएको हो ।

माथि उल्लेख भएको समस्या समाधान नगरी जबरजस्ती गर्ने गराइने अधिवेशनले समस्या सुल्झाउने होइन, बल्झाउने काम गर्छ । यसले एमालेलाई ठूलो घाटा हुनेछ । एमाले बचाउन सबै लचिलो बन्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *