मनिषासँग हिमानीको ‘दुर्लभ’ अन्तर्वार्ता कसरी सम्भव भयो ? दशरथ सुनार भन्छन्- असम्भव के छ र ? – Nepal Press
नेपाल टक

मनिषासँग हिमानीको ‘दुर्लभ’ अन्तर्वार्ता कसरी सम्भव भयो ? दशरथ सुनार भन्छन्- असम्भव के छ र ?

काठमाडौं । युट्युबमा पूर्वयुवराज्ञी हिमानीसँग अभिनेत्री मनिषा कोइरालाको अन्तरंग संवाद हेरिसक्नुभयो कि बाँकी छ ? दुई हाइप्रोफाइल लेडीले गरेको शालिन प्रश्नोत्तरलाई धेरैले रुचाइरहेका छन् ।

टेलिभिजन टक शो वा युट्युबमा प्रश्नकर्ताले अतिथिहरुलाई हाँपझाँप गरिरहेको, र्‍याखर्‍याख्ति पारिरहेको देखेका दर्शकका लागि लागि यो नयाँ टेस्ट पनि हो । कतिलाई यो ‘अन्तर्वार्ता’ नै नलाग्न पनि सक्छ । तर, कमेन्ट बक्स हेर्दा अधिकांश सकारात्मक छन् ।

सम्भवतः पूर्वयुवराज्ञीको जीवनकै यो पहिलो अन्तर्वार्ता हो । मनिषाले लिएको पनि पहिलो अन्तर्वार्ता नै हुनसक्छ । मनिषाले हिमानीको अन्तर्वार्ता लिने तारतम्य कसले मिलायो ? कसरी सम्भव भयो ? धेरैलाई कौतुहल पनि हुनसक्छ ।

अन्तर्वार्ताका नाममा भाइरलम्यानहरुलाई आपसमा जुधाएर भ्यूज बटुल्ने होडका बीच युट्युबमा केही सिरियस काम पनि भइरहेको छ । बिक्ने मात्रै नभएर टिक्ने अनि टिक्ने मात्रै नभएर समाजले केही सिक्ने कन्टेन्टहरु पनि भेटिन थालेका छन् । यही प्रयासमा छन् भीएफवाई टक्सका सञ्चालक दशरथ सुनार । हिमानी-मनिषाको संवादलाई ‘भीएफवाई टक्स’ ले नै सम्भव तुल्याएको हो ।

यो च्यानलमा यसअघि पनि हाइप्रोफाइल टक शो भएको थियो । तीन वर्षअगाडि यही च्यानलमा पूर्वमिस नेपाल श्रृंखला खतिवडाले अभिनेता राजेश हमालको अन्तर्वार्ता गरेकी थिइन् । राजेश हमालले सदगुरुको अन्तर्वार्ता पनि यही च्यानलका लागि लिएका छन् । विश्वका अन्य धेरै हाइप्राेफाइल व्यक्तित्वहरु आइसकेका छन् । खासमा भीएफवाई टक्सको पहिलो गेस्ट नै राजेश हमाल थिए । अहिले यो च्यानललाई एक लाख १० हजारले सब्स्क्राइब गरिसकेका छन् ।

युट्युबमा अन्तर्वार्ता दिन भनेपछि मुकुन्दे र पुण्य गौतमहरु पनि झर्को मान्न थालेको समयमा सुनारले कसरी हाइप्रोफाइलहरुलाई आमनेसामने गराइरहेका छन् । यसैको सेरोफेरोमा रहेर दशरथ सुनारसँग नेपाल प्रेसकर्मी एसपी उप्रेतीले गरेको संवादको सम्पादित अंशः

– मूलधारमा नदेखिने किसिमका कन्टेन्ट जहाँ नेपालका मात्रै नभएर विश्वव्यापी रुपमा प्रभावशाली व्यक्तित्वहरुलाई समेत अहिले युट्युबमा हेर्न पाइन थालेको छ, के भन्नुहुन्छ ?

पछिल्लो समय संसारको सबैभन्दा ठूलो प्ल्याटफर्मको रुपमा सामाजिक सञ्जालहरु आएका छन् । यो आफैंमा राम्रो हो । तर, हामीले कतिको सदुपयोग गर्न सकिन्छ भन्ने विषय हो । भिजुअल मिडियम भनेको समाजलाई रुपान्तरण गर्ने माध्यम हो । तर, ती मिडियममा कस्ता खालका विषयवस्तु छन् भन्ने कुरा महत्वपूर्ण हो ।

 भीएफवाईले हाइप्रोफाइल संवादहरु गरिरहेको छ । तपाईंलाई कस्तो खालको प्रतिक्रिया आउने गरेको छ ?

यसलाई म एकदमै सामान्य रुपमा लिन्छु । म प्रतिक्रियामा रमाउने वा अलोचनामा डराउने मान्छे होइन । तर, कर्म गर्दै जाँदा कसैले त्यसलाई एक्सेप्ट गर्छ, त्यसलाई स्याबासी दिन्छ भने राम्रै हो । तर, त्यतिमात्रै होइन, मैले समाजलाई दिन चाहेको धेरै छ । त्यसमा म लाग्दै जान्छु र प्रतिक्रिया म अडियन्सलाई छोडिदिन्छु । म नेगेटिभलाई नि एक्सेप्ट गर्छु, पोजेटिभलाई नि एक्सेप्ट गर्छु । किनकि यो दुवै कुरा ह्युमेन नेचर हो ।

अर्को कुरा म प्रतिक्रियाबाट सञ्चालित हुने मान्छे होइन । त्यसलाई मैले नजिकबाट बुझेको छु । त्यो मेरो वशमा पनि छैन । मेरो वशमा चाहिँ राम्रो कन्टेन्ट छ । अर्को कुरा जब अरुको विचारबाट गाइड हुनुहुन्छ, आफूले आफूलाई अरुसँग कम्पेयर गर्नुहुन्छ र तपाईंको क्रियटिभिटीमा ह्रास आउँछ । यसलाई मैले बुझेको छु ।

– हरेक मानिसले सफलता देख्छ । तर, संघर्ष देख्दैन । भीएफवाई टक्सको पनि कथा, व्यथा र चुनौतीका गाथाहरु के के छन् ?

खास भन्नुपर्दा म यस्तो स्टेजमा छैन कि यसको सफलता असफलताको बारेमा भनौं । बल्ल त म संघर्ष गरिरहेको छु । तर, त्यो भनिरहँदा कसैको लागि क्युरियस त हुनसक्छ । मैले मिडियामा काम गर्न थालेको ११ वर्ष भयो । मेरो खास जर्नी फोटोग्राफी हो । त्यो बीचमा भिडिओ एडिटिङ, सिनेमेटोग्राफी, डकुमेन्ट्री मेकिङ, ट्रेनिङ, नेपाल ट्राभल जस्ता काम गरियो । मैले टेक्निकल पार्टमा बसेर काम गरें । ट्रेनिङ दिने तर ती सबैमा म सन्तुष्ट थिइनँ ।

एउटा एकदमै इम्प्याक्टफुल कन्टेन्ट बनाउनुपर्छ, यति ठूलो प्ल्याटफर्म छ भन्ने मलाई १०-११ वर्षदेखि नै लागेको थियो । हामी जस्तो योङ अन्टरप्रिनरको लागि, योङ माइण्डको लागि आई थिंक इट इज द राइट प्ल्याटफर्म । यसलाई सही तवरले सदुपयोग गर्न सकिएको खण्डमा त हामी ग्लोबली जान सक्छौं । ग्लोबल रिचआउट भनेको त वान अफ द राइट प्ल्याटफर्म हो । यो फिल मलाई पहिल्यै भइरहेको थियो ।

त्यसपछि मैले भीएफवाई टक्स सुरु गरें । भ्वाइस फर युथ भनेर सुरु गरें । जहाँ अडियन्सलाई राखेर इन्टरेक्सन गराउँछु भन्ने लागेर १०-१२ वटा एपिसोड गरें । मेरो पहिलो गेस्टको रुपमा महानायक राजेश हमाल हुनुहुन्थ्यो । र म दाइप्रति जहिले पनि कृतज्ञता व्यक्त गर्न चाहन्छु । किनभने जब मेरो युट्युब नै थिएन, उहाँले मेरो प्रस्तावलाई स्वीकार गर्नुभएको थियो । अहिले त कुन मान्छेको, कसको च्यानलको भ्यूज कस्तो छ, कस्तो ब्राण्ड छ, कस्ता कस्ता गेस्टहरु आउनुभएको छ जस्ता आधारमा आफ्नो व्यक्तित्वलाई मूल्यांकन गर्ने गरिन्छ । तर, राजेश दाइलाई मैले मेरो सोच र लक्ष्यलाई स्पष्ट पार्दाखेरि उहाँले स्वीकार गर्नुभयो । त्यो प्रोग्राम साँच्चै सफल पनि भयो ।

त्यसपछि कोभिड १९ आयो र हामीले फर्म्याट चेन्ज गर्‍यौं । करिब एक वर्ष ग्याप भइसकेपछि सेकेण्ड सिजनमा ढाँचा चेन्ज भयो । मेनस्ट्रीममा होस्टले मात्रै प्रोग्राम चलाउने तर मलाई के लाग्थ्यो भन्दाखेरि एउटा एक्स्पर्टले अर्को एक्स्पर्टसँग क्वेसन आन्सर गर्दा कस्तो होला भन्ने लाग्यो । हुन त विश्वका विभिन्न ठूला च्यानलमा पनि यो अभ्यास छ । फरक गर्नुपर्छ भन्ने सोचेर मैले श्रृंखलालाई भने उहाँले पनि हुन्छ भन्नुभयो र हामीले त्यसरी नयाँ ब्यानरमा अर्को सिजन गर्‍यौं त्यो पनि मान्छेले एकदमै मन पराउनुभयो ।

त्यो गर्ने क्रममा कहिले राम्रो नराम्रो भए । प्रोडक्सनवाइज मेरो खर्च पनि धेरै आयो । तर पनि मैले त्यो स्पिरिटलाई चाहिँ छोडिनँ । नेपालमा त धेरै गरिसकें । अब ग्लोबल जानुपर्छ भनेर म ग्लोबलको तयारी गरिरहेको छु । काम गरिरहेको छु । प्रपोजल सेण्ड गरिरहेको छु र फर्स्टमै सबैले एक्सेप्ट गरिरहनु भएको छ । यो निकै राम्रो हो ।

– स्पष्ट भिजन, समाज रुपान्तरणमा दत्तचित्त भएर कुनै निश्चित उद्देश्यका लागि अप्रोच गर्दा सम्भव हुँदोरहेछ होइन त ?

डेफिनेट्ली । प्रपोजल पठाउने तपाईंको कुरा हो । इन्भिटेशन दिने जिम्मा तपाईंको हो । एक्सेप्ट गर्ने नगर्ने कुरा उहाँको हातमा छ । जब तपाईं बसेको ठाउँबाट उठ्नुहुन्न । जबसम्म तपाईं फर्स्ट स्टेप चाल्नुहुन्न, तबसम्म केही हुन्न ।

– प्रोडक्सन कस्टको कुरा गर्नुभयो । हेर्दा पनि खर्च आउँछ । के कसरी म्यानेज गर्दै हुनुहुन्छ ?

मेरो च्यानलमा कसैको पनि एक रुपैयाँ इन्भेस्टमेन्ट छैन । जति हिजोको दिनमा मैले गरेको थिएँ, त्यो गरें । इन्भेस्टमेन्टमा टेक्निकल कुरा त आउँछ । तर, त्योभन्दा पहिले जब तपाईंले इन्भेस्टमेन्ट भनेर माइण्डमा घुसाउनुहुन्छ । त्यसपछि तपाईंको क्रियटीभिटी मार्केटमा देखिँदैन । तपाईं यतिसम्म क्लियर भिजन राख्नुस् । तपाईंको कर्म, तपाईंको अनेस्टी त्यसपछि संसारको सारा कुरा तपाईंको पछाडि भइदिन्छ । पैसा दोस्रो प्राथमिकतामा पर्छ ।

तपाईं विश्वको बिजनेश टाइकुन, लिडर, आफ्नो क्षेत्रमा सफल व्यक्तित्वहरुलाई हेर्नुस् । उनीहरु जहिले पनि आफ्नो भिजन र मिसनप्रति स्पष्ट थिए । त्यसैले उनीहरु आज सफल छन् । त्यसैले मेरो मान्यता के रहन्छ भने म त बल्ल स्टार्ट गरिरहेको मान्छे ! वास्तविकता भन्ने हो भने म अहिले बोल्ने स्टेजमा होइन । म कर्म गर्ने स्टेजमा हो । तर, अर्को पर्स्पेक्टिभले हेर्दा कसैलाई मेरो कार्यले पनि त छुनसक्छ, त्यसो हो भने किन नबोल्ने भन्ने वेबाट पनि हेर्छु । मैले अहिले केवल ठूलो सपना देखेको मात्रै छु । जुन सपनाले मलाई सुत्न दिँदैन । वास्तवमा भन्ने हो भने म एकदमै दौडिरहेको छु ।

– भीएफवाईमा पूर्वयुवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा कोइरालाको संवाद प्रसारण गर्नुभयो । सम्भवतः मिडियामा निकै दुर्लभ संवाद गराउनुभयो । त्यो कसरी व्यवस्थापन गरियो भन्ने आमजिज्ञासा छ, केही भन्नुहुन्छ ?

मेरो आफ्नो विचार चाहिँ म कुनै पनि कुरालाई असम्भव देख्दिनँ । अहिले त मसँग मेरो साथमा धेरै सपोर्टिङ ह्याण्ड हुनुहुन्छ । जतिखेर मसँग केही पनि थिएन, त्यतिखेर योभन्दा धेरै सपना देखेर आएको मान्छे । म सबैकुरा सम्भव मान्छु । तपाईं हेर्दै जानुहुन्छ कि म कति असम्भव कुरा गर्दै गइरहेको छु । तर, कतिपयलाई के लाग्दोरहेछ भने हाइप्रोफाइल व्यक्तित्वसँग मात्रै गर्ने जस्तो लाग्दोरहेछ । म एकदमै सोसल एक्टिभिटी गर्न रुचाउने मान्छे ! तर, सामाजिक सञ्जालमा पब्लिस गर्दिनँ । म भित्री रुपमा गरिरहेको हुन्छ । किनकि त्यो नितान्त मेरो समाजसँग जोडिएको छुट्टै पाटो हो ।

अर्को समाजसँग जोडिएको मेरो विषय भनेको मिडिया हो । कुनै न कुनै व्यक्तिले समाजका लागि आफ्नो किसिमको कन्ट्रिव्युसन दिइरहेको हुन्छ । चाहे त्यो त्रिशूलीमा गिटी कुट्ने एउटा मान्छे किन नहोस् वा संसदमा बस्ने एउटा आमा किन नहोस् वा दरबारमा बस्ने व्यक्ति किन नहोस् वा तपाईं हामी जस्तो किन नहोस् ! तर, हामी कस्तो प्रकारका हौं भने हामी एउटा गरिबलाई काम दिन मान्दैनौं, बस्न मान्दैनौं । तर, उसको फोटो महलमा सजाउँछौं । हामी त्यस्तो ह्युमन हौं । हामीले ठूलो कुरा गरेर मात्रै हुँदैन । वास्तविकता के हो, त्यसलाई कसरी एक्सेप्ट गर्ने हो । कतिले यसले यताबाट सञ्चालित छ भन्लान् ।

हरेक मान्छे धनी बन्न चाहन्छ । तर, धनी मान्छेलाई गाली गर्छ ।

– तपाईंले मा आनन्द शीला, सद्गुरुलगायत विश्वका हाइप्रोफाइलसँग संवाद गरिसक्नुभएको छ, यो म्यानेज गर्न यहाँको दृढ इच्छाशक्ति र अन्य के के तत्वहरुले काम गरेका छन् ?

सबैभन्दा पहिले के हुन्छ भने तपाईंको परपोज के हो ? मानिसले आफ्नो कर्मलाई कसरी बेस्ट बनाउने हो । हरेक मान्छे एउट परपोजका साथ जोडिन्छ । चाहे एउटा किसान किन नहोस् !

मेरो परपोज नितान्त के हो भने संसारभरिका हरेक क्षेत्रमा सक्सेस अचिभर व्यक्तित्वहरुलाई कार्यक्रममा ल्याउने, उहाँहरुको अनुभव शेयर गराउने, युवालाई उत्प्रेरणा दिने । युवा भनेको सिर्फ युवा मात्रै होइन । यो समय पनि हो । कोही धनी मान्छेसँग युवालाई कम्पेयर गर्नुहुन्छ भने त्यो धनी व्यक्ति युवाभन्दा धनी नै होला । तर, समय भने ऊसँग हुँदैन । सही तरिकाले बुझेर लाग्ने हो भने आज हामी जुन क्षेत्रमा जे कर्म गरिरहेका छौं । त्यसको फल भोलि पाउँछौं । गर्न सक्यौं भने भोलि ब्याज खान पाउनेछौं । यदि गरिएन भने लोन तिरिरहनु पर्नेछ । अब ब्याज खाने कि लोन तिर्ने ?

– तपाईंको कञ्चनपुरबाट काठमाडौंसम्मको सपना र लक्ष्यको यात्राबारे बताइदिनुहुन्छ कि ?

मेरो आर्थिक पृष्ठभूमि त अहिले पनि म सर्भाइभिङ फेजमा छु । हिजो पनि त्यही स्टेजमा थिएँ । तर, राम्रो के कुरा के भयो भने मेरो बुबाले तराईमा परिवारको लागि जग्गा जोडिदिनु भएको थियो । त्यो अहिले पनि छ । त्यसलाई मैले युटिलाइज गरेको छैन । तर, हामी यदि क्यासको हिसाबले हेर्ने भने म एकदमै संघर्ष गरेर यो ठाउँमा पुगेको हो । आज पनि म त्यही स्थानमा छु । सबैभन्दा ठूलो मसँग मेरो ड्रिम छ भन्छु म चाहिँ । त्यो ड्रिमसँग म पैसा वा अन्य केही कुरा कम्पेयर गर्दिनँ ।

आजको दिनमा प्रोग्राम गर्न मलाई फाइभ स्टार फ्री छ, फ्लाइट फ्री छ, खान बस्न फ्री छ । मलाई तपाईंको प्रोग्राम हाम्रोमा गर्नुस् भनेर रिक्वेस्ट गर्नुहुन्छ ।

– मूलधारमा काम गर्ने चर्चित पत्रकारहरु पनि पछिल्लो समय युट्युबमा च्यानल खोलेर सक्रिय हुनुहुन्छ । जबकि उहाँहरुकै युट्युबप्रतिको धारणा फरक थियो । यसमा के भन्नुहुन्छ ?

यसले अर्को जनेरेशनलाई मोटिभेट पनि गर्छ । हिजो सायद यति लार्ज स्केलमा एक्स्पाण्ड भइसकेको थिएन । मान्छेले यसलाई चेक गर्ने टाइममा थिए । अब विश्वमा सबैभन्दा बढी चर्चित मिडिया भनेकै सामाजिक सञ्जाल छ । तर, सामाजिक सञ्जालमा नेपालमा मात्रै नभएर भारतमै पनि मेनस्ट्रीमका टेलिभिजनहरु व्यक्तिगत स्वार्थ, कुनै पार्टी, कुनै बिजनेस हाउसको हुन्छ । त्यहाँ स्वच्छ पत्रकारिता गर्ने मान्छे टिक्न सक्दैनन् । किनकि स्वच्छ पत्रकारिता गर्ने मान्छे आफ्नो एथिक्समा बसेर काम गर्न चाहन्छ । ऊ कसैको अण्डरमा बसेर काम गर्न चाहँदैन ।

नेपालमा मात्रै हो कि युट्युब भन्ने । संसारमा हेर्नुहुन्छ भने टप मिडिया हाउसलाई अध्ययन गर्नुहुन्छ भने उनीहरुको ब्रोडकास्टिङ मिडियम र सोसल मिडियम दुवै सशक्त छन् । अझै हामीले चाहिँ आफूले आफूलाई अपडेट गर्न सकिरहेका छैनौं । जस्तैः नेपाल टेलिभिजनमा कस्ता कस्ता टुल्स छन् । तर, कसरी युटिलाइज भइरहेको छ त ? सामग्री मात्रै भएर भएन । त्यो सामग्रीलाई कसरी युटिलाइज गरिरहेका छौं, त्यो तपाईंको नितान्त क्रियटिभिटीमा निर्भर गर्छ । त्यसैले मेनस्ट्रीमको टेलिभिजनमा काम गर्ने व्यक्तिहरुको सोच र विचार कस्तो छ ? उसले समाजलाई के डेलिभर गर्न चाहन्छ ? अर्को कुरा त्यहाँ पनि डिपेण्ड हुन्छ । जसले त्यो कुरा त्यहाँ बसेर दिन सकिरहेको हुँदैन र कसैको अण्डरमा बसेर काम गर्न सकिरहेको हुँदैन । सायद त्यो हुनसक्छ ।

– आफ्नो पेशामार्फत समाजलाई केही योगदान गरौं भन्ने सोचले पत्रकारितामा अब्बल रहेकाहरुले युट्युब च्यानल सञ्चालन गरेका हुन् र ?

तपाईंलाई संसारमा जति नै महान भने पनि तपाईं त्यति महान पनि होइन र तपाईंलाई कतिले जस्तै खत्तम किन नभनोस् त्यति खत्तम तपाईं होइन । त्यसैले म के भन्छु भने हामी जुन पोजिसनमा छौं । हाम्रो त्यो पोजिसनको धर्म के हो, त्यो नबिर्सौं ।

यदि तपाईं गीता पढ्नुहुन्छ, कुनै ग्रन्थलाई पढ्नुहुन्छ । महाभारतमा कृष्ण र अर्जुनको संवाद छ । जुन आज पनि हरेक युवाले सिक्नु सान्दर्भिक छ । तपाईं हामी कसको पक्षमा कुरा गर्छौं भन्ने विषय महत्वपूर्ण छ । अर्जुनभन्दा पनि युवाहरुले प्रेरणा कर्णबाट प्राप्त गर्छन् । अर्जुनलाई हरेक अवस्थामा कृष्णले गाइड गरिरहेका थिए । कर्णलाई जीवनभरि कसैले साथ दिएन । उसले प्रतिष्ठित जीवन पनि बाँचेन । ऊ आफ्नो बलमा उभिएको मान्छे हो । जस्तोसुकै परिस्थितिमा पनि ऊ कमिटेड थियो । फरक यति थियो कि उसले गलतको साथ दिएको थियो । त्यो फरक कुरा हो । तर, आफ्नो धर्ममा, आफ्नो बोलीमा विश्वस्त थियो । त्यसैले हामी त्यति आफूलाई महान पनि नभनौं कि कोही सपोर्ट माग्न आउँदा गन्दै नगनौं । त्यो ठाउँ हामी नपुगौं । उसको पनि दिन आउँछ । समय धेरै बलवान छ । यदि केही कुराले राइट जवाफ दिन्छ भने त्यो समय हो । कुनै पनि कुरा ओभरनाइट हुँदैन ।

सबैभन्दा पहिले युवाहरुलाई भन्न चाहन्छु । छिटो सक्सेस खोज्छु भन्ने मिसकन्सेप्टबाट टाढा हुनुस् । दुःखमा रमाउनुस् । कुनै पनि मान्छेको मृत्यु दुःखबाटै हुन्छ । यदि त्यो सत्य हो भने तपाईं अहिले भ्रममा नपर्नुस् । प्रोसेसमा रमाउनुस् । जब तपाईं प्रोसेसमा रमाउनुहुन्छ तपाईंलाई खुशी लाग्छ ।

– पछिल्लो समय युट्युबमा विकृति पनि आइरहेको छ । जसमा एउटा दुःख गरेर कन्टेन्ट बनाइरहेका हुन्छन् अनि चोरेर आफ्नो लागो प्रयोग गर्ने गरेको पनि पाइन्छ के भन्नुहुन्छ ?

समाज जस्तो छ, जस्तो सोच र विचारबाट समाज सञ्चालित छ । त्यस्तै खाले क्रियाकलापहरु हामीले देखाउने हो । म युट्युब र सामाजिक सञ्जाललाई दोष दिन्नँ । यो त सानो मिडियम हो । हामीले नाइन्टिजमा सोचेका थियौं र टेलिभिजन रिप्लेस हुन्छ भनेर ? तर, आज त छैन । टीभीको स्क्रिन भए पनि नेटफ्लिक्स हो, युट्युब वा अन्य सामग्री हो । समाजले हामीलाई के सिकाइरहेको छ ? हाम्रो कस्तो समाज हो भन्ने विषय रिफ्लेक्ट गरेको हो । अरुको कन्टेन्ट चोरे आफ्नो ट्रेडमार्क लगाउने, लोगो लगाउने, यहाँका धेरै मिडियाले गर्छन् । एउटा क्रेडिट दिने चलन पनि छैन । कानून लाग्छ फेरि त्यो अर्कै कुरा हो । त्यतिसम्म पनि नैतिकता नभएपछि, व्यक्तिको नैतिकतासँग जोडिएको विषय हो । कुनै सञ्जालको विषय होइन ।

हामी भिजुअल मिडियममा काम गर्दाखेरि हाम्रो व्यक्तित्व र अध्ययन जे मस्तिष्कमा छ, त्यही देखाउने हो । प्ल्याटफर्म, कन्टेन्ट दिमागबाट बन्ने हो । त्यसैले यस्ता व्यक्ति भने हिजो पनि थिए, आज पनि छन् भोलि पनि रहनेछन् । कसैले परिवर्तन गर्न सक्दैन ।

– युवाहरुले आफ्नो जीवनमा गर्न चाहेको कुरा गर्न के के गर्नुपर्ला ? आफ्ना व्यवहारिक जीवनमा आधारित सुझाव के दिन चाहनुहुन्छ ?

सबैभन्दा पहिलो कुरा, अन्तरमनको आवाज सुन्नुस् । यो एकदमै शक्तिशाली तरिका हो, आफूलाई क्लियर बनाउन । बाहिरी दुनियाँबाट भन्दा पनि आफूले गर्न चाहेको कुराबाट अन्तरमनमा खुशी ल्याउने कोसिस गर्नुस् । बाँच्न परपोज चाहिन्छ । तपाईं किन बाँच्ने ? यी कुराका लागि आफ्नो इन्टिट्युशनलाई सुन्नुस् ।

तपाईं के बन्नु चाहनुहुन्छ भन्ने विषयमा ध्यान केन्द्रित हुँदा लगातार एउटै विचार कति आइरहेको छ, त्यसलाई महसुस गर्नुस् । थट्सको रिपिटेसनलाई ध्यान दिएर अन्तरमनमा आफू क्लियर हुन सकिन्छ । अर्को महत्वपूर्ण कुरा भनेको आफूलाई अनेस्ट राख्नुस् । आफूलाई कहिल्यै झूट नबोल्नुस् । यति भयो भने तपाईंलाई न कसैले रोक्न सक्छ न त यहाँको कर्मलाई रोक्नसक्छ ।

म सपना देख्ने मान्छे हुँ । म सपनालाई सार्थक बनाउन त्यसकै पछि दौडिरहेको छु ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर