प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट: यी हुन् उत्कृष्ट ब्याटर – Nepal Press

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट: यी हुन् उत्कृष्ट ब्याटर

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबार सकिएको छ । पहिलो पटक राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा हरेक टीमले कम्तीमा ९ खेल खेलेका थिए ।

नेपाल पुलिस क्लप प्रतियोगिताभर अपराजित रहँदा कोशी र लुम्बिनी प्रदेशले ८ हार र एक जीतका साथ प्रतियोगिता टुङ्ग्याए । प्रतियोगिताको उत्कृष्ट ब्याटर मधेश प्रदेशका अनिलकुमार साह हुँदा उत्कृष्ट बलर र सर्वोकृष्ट खेलाडी बागमती प्रदेशका सूर्य तामाङ घोषित भए ।

प्रधानमन्त्री कपको एकै संस्करणमा पहिलो पटक १० शतक प्रहार भयो । आर्मीका कप्तान विनोद भण्डारीले एकै संस्करणमा दुई शतक प्रहार गर्ने कीर्तिमान बनाउँदा ५५ वटा अर्धशतक प्रहार भए । ब्याटिङतर्फ युवा खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रह्यो । प्रतियोगितामा सर्वाधिक रन बनाउने टप पाँचको सूचीमा राष्ट्रिय टोलीका सदस्य कुनै पनि परेनन् । सर्वाधिक रन बनाउने टप पाँच खेलाडीमा मधेश प्रदेशकै ३ जना छन् ।

यी हुन् यस संस्करणको प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाउने शीर्ष ५ खेलाडी:

१) अनिलकुमार साह (मधेस प्रदेश)

प्रतियोगितामा सर्वाधिक रन बनाउनेको सूचीको पहिलो नम्बरमा छन् मधेस प्रदेशका अनिलकुमार साह । राष्ट्रिय टोलीबाट देशको प्रतिनिधित्व गरिसकेका अनिलले यस प्रतियोगितामा उत्कृष्ट ब्याटर घोषित भए । २५ वर्षीय उनले ९ खेलमा एक शतक र दुई अर्धशतकसहित ३८३ रन बनाए ।

अनिलले गण्डकी प्रदेशविरुद्ध १२७ रनको शतकीय इनिङ र सुदूरपश्चिम तथा कोशी प्रदेशविरुद्ध अर्धशतकीय इनिङ खेलेका थिए । उक्त प्रतियोगितामा मधेश प्रतियोगिताको शीर्ष ४ मा रहँदै एलिट ट्रफीमा स्थान बनाएको छ ।

उनले सन् २०१८ मा नेदरल्यान्डविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । त्यसपछि उनले २०२२ मा पीएनजीविरुद्ध खेलेका थिए । त्यसपछि भने उनले पुनरागमन गर्न सकेका छैनन् । प्रधानमन्त्री कपमा गरेको प्रदर्शनपछि भने अनिल क्यानडाविरुद्ध हुने एक दिवसीय सिरिजमा समेटिएका छन् । त्यस्तै आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सिरिजमा वैकल्पिक खेलाडीको रूपमा छन् । उनले २ वर्षपछि राष्ट्रिय टीममा पुनरागमन गरेका हुन् ।

२) आशुतोष घिरैया (बागमती प्रदेश)

बागमती प्रदेशका ओपनर आशुतोष घिरैया प्रतियोगिताको सर्वाधिक रन लिने खेलाडीमा दोस्रो स्थानमा छन् । उनले प्रतियोगितामा एक शतक र दुई अर्धशतक प्रहार गरे । आशुतोष प्रतियोगितामा उदीयमान खेलाडीसमेत चुनिएका थिए । उनले ९ खेलमा ३८२ रन बनाए । उनले कोशी प्रदेशविरुद्ध ११८ रनको शतकीय इनिङ खेलेका थिए ।

नेपाल प्रहरी क्लब र सुदूरपश्चिम प्रदेशविरुद्ध अर्धशतक बनाएका उनी पुलिसविरुद्ध ८ रनले शतक पूरा गर्न चुकेका थिए । आशुतोषले प्रधानमन्त्री कपमा पहिलो पटक सन् २०१८ मा खेलेका थिए । त्यसेबला बागमती प्रदेश प्रतियोगिताको शीर्ष ४ मा रहँदै एलिट ट्रफीमा स्थान बनाएको थियो ।

३) विनोद भण्डारी (त्रिभुवन आर्मी क्लब)

प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारी तेस्रो स्थानमा छन् । उनले १० खेलमा २ शतकसहित ३५१ रन बनाए । एकै संस्करणमा दुई शतक प्रहार गर्ने कीर्तिमान विनोदले आफ्नो नाममा बनाएका छन् । उनले कर्णाली र मधेश प्रदेशविरुद्ध शतक प्रहार गरेका थिए ।

उनले सन् २०१९ मा अन्तर्राष्ट्रिय ओडीआईमा डेब्यु गर्दा टी-२० मा भने सन् २०१४ मा डेब्यु गरेका थिए । विकेट किपिङसमेत गर्ने भण्डारी नियमित रूपमा राष्ट्रिय टोलीमा पर्न भने सकेका छैनन् ।

प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका भण्डारी क्यानडाविरुद्ध हुने एक दिवसीय सिरिज र आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सिरिजमा भने टीम बाहिर छन् । प्रतियोगिताको उपविजेता बनेको आर्मीले एलिट ट्रफी खेल्नेछ ।

४) पवन सर्राफ (मधेश प्रदेश)

मधेश प्रदेशका खेलाडी पवन सर्राफ प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाउने सूचीको चौथो स्थानमा छन् । उनले ९ खेलमा ३ अर्धशतकसहित ३२९ रन बनाए । पवनले नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबविरुद्ध अर्धशतकीय इनिङ खेलेका थिए ।

उनले सन् २०१९ मा यूएईविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । पवनले पछिल्लो पटक सन् २०२२ मा नामिबियाविरुद्ध ओडीआई क्रिकेट खेलेका थिए । त्यसपछि टीम बाहिर रहेका पवनले क्यानडाविरुद्ध हुने एक दिवसीय सिरिज र आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सिरिजमा स्थान बनाएका छन् ।

५) मयन यादव (मधेश प्रदेश)

प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाउने सूची मधेश प्रदेशका ब्याटर मयन यादव पाँचौं स्थान छन् । उनले ९ खेलमा २८७ रन बनाए । मयनले प्रतियोगितामा एक शतक र एक अर्धशतक प्रहार गरेका थिए । उनले सुदूरपश्चिमविरुद्ध ११५ र कर्णाली प्रदेशविरुद्ध ५० रन बनाए ।

उनले गत पुसमा पोखरामा भएको केपी ओली कप क्रिकेटबाट राष्ट्रिय क्रिकेटमा मधेश प्रदेशबाट डेब्यु गरेका थिए । मधेश केपी ओली कप प्रतियोगितामा च्याम्पियन बनेको थियो ।

प्रधानमन्त्री कपमा मधेश प्रदेशले चौथो स्थानमा रहँदै एलिट ट्रफीमा स्थान पक्का गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *