यू-१९ विश्वकप: अपराजित भारतलाई नेपालको चुनौती – Nepal Press

यू-१९ विश्वकप: अपराजित भारतलाई नेपालको चुनौती

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपालले सुपर सिक्सको अन्तिम खेलमा भारतको सामना गर्दै छ । नेपाल र भारतबिचको खेल दक्षिण अफ्रिकामा नेपाली समयअनुसार शुक्रवार(आज) दिउँसो पौने २ बजे सुरु हुनेछ ।

यो विश्वकपमा भारत अपराजित छ भने नेपालले एक खेलमा मात्रै जित हासिल गरेको छ । भारत नेपाललाई पराजित गर्दै सेमिफाइनलको यात्रा सुनिश्चित गर्न चाहन्छ भने सेमिफाइनलको दौडबाट बाहिरिएको नेपाललाई भारतसँगको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ ।

भारत नेपालभन्दा बलियो टोली हो । त्यस कारण पनि भारत नेपालमाथि सहज जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छ । नेपालले पनि भारतलाई पराजित गर्दै नयाँ इतिहास कायम गर्न चाहन्छ । हालसम्मको विश्वकपमा नेपालले भारतलाई पराजित गर्न सकेको छैन ।

यदि भारतलाई पराजित गर्ने हो भने नेपालको ब्याटिङ, बलिङ र फिल्डिङ सुधार्न आवश्यक छ । विश्वकपका हालसम्मको खेलमा नेपालको यी तिन पक्ष राम्रो हुन सकेको छैन । ब्याटिङतर्फ नेपालको ओपनिङ जम्न सकेको छैन । नेपालले न्यूजिल्यान्डविरुद्ध १, पाकिस्तानविरुद्ध २९, अफगानिस्तानविरुद्ध ११ र बंगलादेशविरुद्ध १८ रनमा पहिलो विकेट गुमाएको छ । सुरुआत राम्रो भएको खण्डमा त्यसपछि आउने ब्याटरको आत्मबल बढ्छ र दबाबबाट उठेर ब्याटिङ गर्न सक्छन् । ब्याटिङको तल्लो क्रममा केही राम्रो ब्याटिङ भए पनि मध्यम क्रममा राम्रो हुन सकेन । मध्यम क्रमको ब्याटिङले स्कोरको निर्धारण गर्छ ।

तर, मध्यम क्रममा राम्रो साझेदारी बन्न नसक्दा नेपालको स्कोर धेरै बन्न सकेको छ । बलिङ पनि नेपालले खासै चमत्कार गर्न सकेको छैन । बलिङमा अफगानिस्तानविरुद्ध राम्रो सुरुआत गरेको नेपालले अन्य देशविरुद्ध सहज सुरुआत गर्ने सकेन र पराजित हुन पुगेको हो । भारतविरुद्ध जित निकाल्न नेपाललाई ओपनिङ उत्कृष्ट सुरुआतसँग मध्यम क्रम र तल्लो क्रमको साथ उक्तिकै हुनुपर्नेछ । बलिङमा पनि सुरुआतमै विकेट लिन सके । दबाब हुनेछ ।

यसअघि यु–१९ विश्वकपमा नेपाल र भारतको दुई पटक भेट भएको छ । दुवै विश्वकपमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग नेपालको पहिलो भेट २००० र दोस्रो २०१६ को यु–१९ विश्वकपमा भएको थियो । पहिलो भेटमा ७ र दोस्रो भेटमा ८ विकेटले नेपाल पराजित भएको थियो । नेपालले २०१७ मा भएको यू–१९ एसिया कपमा भारतलाई १९ रनले पराजित गर्दै चमत्कार गरेको थियो ।

उक्त खेलमा दीपेन्द्रसिंह ऐरीले भारतविरुद्ध २ क्याचसहित ८८ रन र ४ विकेट लिएका थिए । त्यति बेलाका अधिकांश खेलाडी अहिले सिनियर टोलीबाट प्रतिनिधित्व गरिरहेका छन् । केही समय अघि मात्रै भएको यु–१९ एसिया कपमा नेपाल भारतसँग १० विकेटको फराकिलो हार बेहोरेको थियो । भारतविरुद्ध नेपाल ५२ रनमा समेटिएको हो ।

भारतले यो विश्वकपमा शानदार प्रदर्शन गरेको छ । हालसम्म सबैभन्दा धेरै रन र विकेट लिने खेलाडीको सूचीको शीर्ष स्थानमा भारतीय खेलाडीको दबदबा छ । भारतले समूह चरणमा बङ्गलादेशलाई ८४, आयरल्यान्ड र अमेरिकालाई समान २०१ रनले पराजित गरेको थियो । समूह चरणमा न्यूजिल्यान्डसँग ६४ रन, पाकिस्तानसँग ५ विकेटले पराजित भएको नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको थियो । नेपाललाई ६४ रनले पराजित गरेको न्यूजिल्यान्डलाई भारतले सुपर सिक्समा २१४ रनले पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *