स्थानीय तह अन्तर्राष्ट्रिय गोल्डकप : भुटानको पारोलाई हराउँदै बागमती क्वाटरफाइनलमा – Nepal Press

स्थानीय तह अन्तर्राष्ट्रिय गोल्डकप : भुटानको पारोलाई हराउँदै बागमती क्वाटरफाइनलमा

हेटौँडा । मकवानपुरको हेटौँडामा आजबाट सुरु भएको स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा सर्लाहीको बागमती फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा आजबाट हेटौँडा–६ गौरिटार रंगाशालामा सुरु भएको प्रतियोगितामा बागमतीले भुटनको पारो फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाएको हो ।

उद्घाटन खेलको चौथो मिनेटमा बागमतीको लागि जर्सी नंबर १२ का राज भुसालले सुन्दर गोल गर्दै टीमलाई १–० को लिड प्रदान गरे । निकै आक्रमक खेल खेलेको बागमतीको लागि खेलको २८ औँ मिनेटमा जर्सी नंबर १० का सिजन गौतमले गोल गर्दै टिमलाई २–० को अग्रता दिए ।

पहिलो हाफ २–० को अग्रतामा रहेको बागमतीले दोश्रो हाफको ६० औँ मिनेटमा पुन गोल गर्यो । बागमतीको लागि भुसालले ब्यक्तिगत दोश्रो गोल गरेपछि बागमती ३–० को अग्रतामा रहेको थियो । तर खेलको ८१ औँ मिनेटमा भुटानका सिरुप दोर्जेले गोल गर्दै खेलमा फर्कने प्रयास गरे । तर दोर्जीको एक गोल उनिहरुको लागि खेलमा फर्कन पर्याप्त भएन र खेल बागमतीले ३–१ ले जित्यो । खेलको म्यान अफ द म्याज दुई गोल गर्ने भुसाल भए ।

मकवानपुरका स्थानीय तहरुको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात पार्ने पनि मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए । प्रतियोगितामा देश तथा विदेशका १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *