नेकपा एसबाट निर्वाचित वडाध्यक्ष नन्दबहादुर भन्छन्- छोराको हत्याका अभियुक्त खुलेआम घुमिरहेका छन् – Nepal Press

नेकपा एसबाट निर्वाचित वडाध्यक्ष नन्दबहादुर भन्छन्- छोराको हत्याका अभियुक्त खुलेआम घुमिरहेका छन्

सुर्खेत । १५ वर्षअघि कालीकोटका १७ वर्षीय राजबहादुर मल्ल उच्च शिक्षाका लागि सुर्खेत आए । उनी कालीकोटको पाखाको एउटा विद्यालयबाट एसएलसीमा प्रथम भएर सुर्खेतको जननमुना माध्यमिक विद्यालयमा भर्ना भएका थिए ।

कक्षा ११ मा अध्ययन गर्ने क्रममा आफ्नो गाउँका अन्य केही व्यक्तिलाई उनले देखे । राजबहादुर अचम्ममा परे- गाउँमा ६-७ कक्षा पढेकाहरु कसरी एकाएक कक्षा ११ मा भर्ना हुन आए भनेर । पक्कै केही गडबडी छ भनेर राजबहादुरले उनीहरुसँग सोधखोज गर्न थाले ।

गाउँमा ६-७ कक्षा पढेकाहरुले नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर विद्यालयमा भर्ना हुन आएको भनेर छोराले उनीहरुसँग विवाद गरेको राजबहादुरका बुवा नन्दबहादुर मल्ल बताउँछन् । यो २०५८ सालतिरको कुरा हो ।

नन्दबहादुरका अनुसार उनका छोरा राजबहादुरलाई २०६५ फागुन २६ गते माओवादी लडाकु र अखिल क्रान्तिकारीका विद्यार्थीले चक्कु प्रहार गरेर हत्या गरेका थिए ।

नन्दबहादुरले भने, ‘१५ वर्षदेखि न्यायको खोजीमा तड्पियौं । तर, अहिलेसम्म न्याय मिलेन । हत्यामा संलग्न भएकाहरु खुलेआम हिँडेका छन् । अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।’

राजबहादुर राजनीतिमा पनि सक्रिय थिए । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सचिव भएका थिए । स्ववियु सचिव भएको बेलामा माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरूसँग उनको विवाद बढेको थियो । कालीकोटको डिल्लीकोट, पाखा, दाहा, पिली, चौकी, ओखरभित्ताका आफूसँगै ६-७ कक्षा पढेर छाडेपछि माओवादी बनेकाहरू २०६५ सालमा भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर ११ मा भर्ना भएको विषयमा राजबहादुर र माओवादी कार्यकर्ताबीच विवाद भयो ।

नन्दबहादुरले भने, ‘यही विवादपछि डरले छोरा (राजबहादुर) र उसको साथी दानबहादुर मल्ल नेपालगञ्ज गए । मानव अधिकार संस्थाले दुबै पक्षलाई मिलापत्र गराउन बोलाएर सुर्खेत ल्याएका थिए । उक्त संस्थाले नबोलाएको भए मेरो छोराको ज्यान जाने थिएन ।’

छोराको हत्यापछि न्यायको खोजीमा नन्दबहादुर कालीकोटबाट सुर्खेत धेरै पटक धाए । यतिमात्र नभएर कालीकोटको जिल्ला प्रशासन, अदालत, जिल्ला प्रहरी कार्यालयका ढोकाहरु ढक्ढक्याए । तर, उनले न्याय पाउन सकेनन् ।

उनले सुर्खेत जिल्ला अदालतमा दुई पटक र जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुग्दा पनि कुनै सुनुवाइ नभएको भन्दै दुःखेसो पोखे । विकट ठाउँका मान्छे बोल्न नसक्ने र पावर नहुँदा पनि उक्त घटनाको सुनुवाइ नभएको नन्दबहादुरको अनुभूति छ ।

उनी भन्छन्, ‘मेरो लागि कानून नै छैन । कसैको सहयोग पाएको भए मैले न्याय पाउँथें होला नि ?’

नन्दबहादुरका अनुसार सुर्खेतको बसपार्कमा रहेको दैलेखको भालुखोलाको एक होटलमा छोराले खाना खाने गरेका थिए ।

उनले सुनाए, ‘२०६५ फागुन २६ गते साँझ खाना खाएर हात धुने बेलामा छोरालाई चक्कु हानेको होटेल व्यवसायीकी छोरीले प्रत्यक्ष देखेको छ । टाइगर भन्ने पदमबहादुर रावतले छोरालाई चक्कु हानेपछि लुकेर बसेका ८-९ जनालाई पनि स्थानीयले देखेका थिए । मेरो छोराले इन्सेकसँग गरेको मिलापत्रमा भएको नामअनुसार मैले जाहेरी दिएको हो ।’

त्यहाँका प्रत्यक्षदर्शीले नै मुख्य भूमिका पञ्चा सिंहको थियो भन्ने गरेको बुवा नन्दबहादुरको भनाइ छ ।

‘कर्तव्य ज्यान मुद्दामा नाम किटान गरिएकाहरू खुलेआम हिँडेको देख्दा न्याय मरेको देश जस्तै लाग्छ’, उनले भने, ‘रेडियो, टेलिभिजन, पत्रपत्रिकामा भाषण गरेको फोटो देखिरहेका हुन्छौं । बड्डी (श्रीमती) गोरीकला छोरालाई सम्झेर रुन्छे । म पनि कति रोएँ, रोएँ । रोएर नहुने रहिछ । अहिलेसम्म न्याय पाएनौं । न्याय पाउन पावर चाहिने रहिछ । पावर नभएर पनि न्याय पाउने आश नगरे हुने रहिछ ।’

त्यो बेलामा कुनै मिडियाले पनि स्थान नदिएको नन्दबहादुर गुनासो छ ।

‘यतिका वर्ष भयो, कसै मिडियाले समाचार लेखेनन्’, उनले भने, ‘१५ वर्षपछि पत्रकारले समाचार लेखे । त्यही समयमा यसरी नै साथ दिएको भए न्याय पाउँथे कि ! ढिलै भए पनि मेरो छोराको खुनले बोलेको छ । मेरा देवीदेउताले साथ दिनेछन् ।’

नन्दबहादुर छोराको हत्याको खबर पाएपछि सुर्खेत आउन पाएनन् । छोराको खबर सुनेर गोरीकला (आमा) ले होस गुमाएकाले सुर्खेत जान नपाएका उनको भनाइ छ । उनले कान्छो भाइ नवराज मल्ललाई सुर्खेत पठाए । नवराजले नै सुरुको जाहेरी दिएका थिए । त्यसपछि पोस्टमार्टम भएर शव कालीकोट पुर्‍याइएको थियो । नन्दबहादुरले छोराको हत्यामा २०७९ साउन १३ गते पञ्चा सिंहसहित ६ जनाविरुद्ध पूरक जाहेरी दिएका थिए ।

राजबहादुरको हत्यामा अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष प्रतिमा भन्ने ३६ वर्षीय पञ्चा सिंह, टाइगर भनिने ३८ वर्षीय पदमबहादुर रावत, गुराँस भन्ने ४२ वर्षीय बालकृष्ण सिंह, ४३ वर्षीय टक्कबहादुर सिंह, सुवास भन्ने ४३ वर्षीय वीरबहादुर मल्ल र अशोक भन्ने ३६ वर्षीय अली कार्कीविरुद्ध जिल्ला अदालत सुर्खेतले पक्राउ पुर्जीसमेत जारी गरेको छ ।

नन्दबहादुरका अनुसार उनीहरुसँगै दैलेखको चौराठाका पनि दुई जना संग्लन छन् । तर, उनीहरुको पहिचान भने खुल्न नसकेको उनको भनाइ छ ।

नन्दबहादुरका ५ सन्तानमध्ये राजबहादुर साहिँला छोरा थिए । उनका एक जना छोरी पनि छिन् । नन्दबहादुर खाडाचक्र नगरपालिका वडा नम्बर ८ का अध्यक्षसमेत हुन् । उनी नेकपा एकीकृत समाजवादी पार्टीबाट वडाध्यक्षमा विजयी भएका थिए ।


प्रतिक्रिया

One thought on “नेकपा एसबाट निर्वाचित वडाध्यक्ष नन्दबहादुर भन्छन्- छोराको हत्याका अभियुक्त खुलेआम घुमिरहेका छन्

  1. यस्ता नक्कली प्रमाणपत्र ल्याउने चोरहरू क्रान्तिकारी ? आजिवन जेल कोचिदेउ हत्याराहरूलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *