काठमाडौं बाहिर पहिलोपटक रुपन्देहीमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता – Nepal Press

काठमाडौं बाहिर पहिलोपटक रुपन्देहीमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता

रुपन्देही । नेपालमा काठमाडाैं बाहिर पहिलो पटक रुपन्देहीमा राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको छ । नेपाली क्रिकेटमा राम्रो पकड देखाएको रुपन्देहीमा महत्वपूर्ण प्रतियोगिता आयोजना हुन लागेपछि यहाँका खेलाडी तथा खेलप्रेमी हौसिएका छन् ।

प्रधानमन्त्री कप (पुरुष) क्रिकेट प्रतियोगिता काठमाडौं बाहिर रुपन्देहीको भैरहवामा हुन लागेको हो । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना र रुपन्देहीको संयोजनमा पुस २८ देखि भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा प्रधानमन्त्री कप (पुरुष) राष्टिय क्रिकेट प्रतियोगिता २०८० अन्तर्गत लीग चरणका ११ वटा खेल हुने र त्यसको तयारी पूरा भएको क्यानले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषदको वार्षिक कार्यक्रम अन्तर्गत हुने प्रतियोगिता भैरहवामा माघ ११ गतेसम्म सञ्चालन हुने रुपन्देही क्रिकेट संघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले प्रतियोगिताको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सीके)ले उद्घाटन गर्नुहुने बताए । उनले प्रतियोगिताले भैरहवामा चहलपहल बढ्ने र पर्यटन क्षेत्रमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष थापाले यस प्रतियोगिताको सफलतापूर्वक आयोजनाले सिद्धार्थ क्रिकेट रंगशालामा एकदिवसीय क्रिकेट प्रतियोगिता (ओडिआई) आयोजना गर्न ठूलो बल पुर्याउने बताए । उनले खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका सरकारले सहयोग गर्नुपर्ने बताए ।

संघका सचिव संजय गुरुङले प्रधानमन्त्री कप (पुरुष) राष्टिय क्रिकेट प्रतियोगिता भैरहवामा हुनु रुपन्देहीबासीका लागि गर्वको कुरा भएको बताए । उनले भने, ‘रुपन्देही क्रिकेटको गौरवशाली इतिहासमा यो एउटा स्वर्णीम घटनाको रुपमा स्थापित हुँदैछ ।

’प्रतियोगितामा राष्ट्रिय टोलीका सम्पूर्ण खेलाडीहरुको सहभागिता हुने र यसले प्रतियोगिताको महत्वलाई अझै बढाउनेमा आफूहरु विश्वस्त रहेको बताए ।

सचिव गुरुङका अनुसार भैरहवामा आउने क्रिकेट टोलीमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल रहेका छन् । प्रतियोगिता सञ्चालन गर्न (सिद्धार्थनगरमा हुने खेलको मात्र)करिब ३० लाख लाग्ने उनले बताए । खर्चको व्यवस्थापन नेपाल क्रिकेट संघले गर्ने र पुरस्कार राशी घोषणा हुन बाँकी रहेको रुपन्देही क्रिकेट संघले जनाएको छ ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीमार्फत क्रिकेट एकेडेमीको उद्घाटन गराउने प्रयासमा रहेको उनले बताए । प्रतियोगितामा क्रिकेट संघबाट पर्यवेक्षक आउने उनले बताए ।

नेपाल क्रिकेट संघका निवर्तमान केन्द्रीय कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले क्यानले नयाँ अवधारणा ल्याएको बताए । उनले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता भव्य रुपमा सम्पन्न हुने बताए । उनले भने, ‘काठमाडौं बाहिर एकदिवसीय क्रिकेट प्रतियोगिता ९ओडिआई० गर्न सिद्धार्थ क्रिकेट रंगशाला तेस्रो उपयुक्त स्थान हुनेछ ।’

प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुर, मूलपानी क्रिकेट मैदान र सिद्धार्थ रंगशाला भैरहवा गरी तीन स्थानमा हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *