बम्जनको आश्रमबाट ४ जना हराएको सूचना छ- सीआईबी (भिडिओ) – Nepal Press

बम्जनको आश्रमबाट ४ जना हराएको सूचना छ- सीआईबी (भिडिओ)

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तपस्वी रामबहादुर बमजनको आश्रमबाट ४ अनुयायी बेपत्ता भएको जनाएको छ। उनीहरु विभिन्न मितिमा बम्जनको आश्रमबाट हराएको उजुरी प्राप्त भएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

बेपत्ता हुनेमा नुवाकोट,साविक देउराली, हाल मेघाङ गाउँपालिका वडा नम्बर ३ कि चुन्मो भन्ने २९ वर्षीया चिनिमाया तामाङ छन् । उनी सिन्धुपाल्चोकको बाडेगाउ आश्रमबाट २०६९ असोजमा बेपत्ता भएकी थिइन् । मकवानपुर, हेटौडा उपमहानगरपालिका वडा नम्बर १३का ५१ वर्षीय सञ्चलाल वाईबा पनि बाडेगाउबाट २०७१ चैत १४ गतेदेखि बेपत्ता भएको सीआईबीले जनाएको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६, हटियाकी डोल्मो भन्ने ३० वर्षीया फूलमाया रुम्बा बाडेगाउ आश्रमबाट ०७१ माघमा बेपत्ता भएकी थिइन् । यस्तै बारा, सिमरा उपमहानगरपालिका वडा नम्बर १५, बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले निजगढ नगरपालिका १२, खुमजोरस्थित आश्रमबाट ०७२ जेठमा बेपत्ता भएको आचार्यले बताए ।

व्यक्ति बेपत्ता, बाल यौन दुराचारलगायत आरोपमा सीआईबीले बमजनलाई मंगलबार साँझ हात्तीगौँडाबाट पक्राउ गरेको हो । सीआईबीले उनलाई पक्राउ गर्न ‘अप्रेसन ब्लु’ चलाएको थियो । बमजन विगत २ महिनादेखि हात्तीगौँडामा परिवारसँग रहेको प्रहरीको दाबी छ ।

पक्राउपछि उनको बूढानीलकण्ठस्थित घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रूपैयाँ र विभिन्न देशको मुद्रासहित गरी कूल ३ करोड ३४ लाख ६७ हजार ९०६ रूपैयाँ सीआईबीले सार्वजनिक गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *