महानगरका प्रशासकीय अधिकृत ९ दिनदेखि कार्यालयमा अनुपस्थित, कार्यकक्षमा बालेनले ताला ठोकेका हुन् ? – Nepal Press

महानगरका प्रशासकीय अधिकृत ९ दिनदेखि कार्यालयमा अनुपस्थित, कार्यकक्षमा बालेनले ताला ठोकेका हुन् ?

बालेन र प्रशासकीय अधिकृतबीचको ‘विवाद’ बारे महानगरभित्र सबै ‘अनभिज्ञ’

काठमाडौं । एकजना कर्मचारी भर्तिको विषयलाई लिएर काठमाडौं महानगरपालिकाभित्र उब्जेको विवाद थप जेलिँदै गएको छ । मेयर बालेन साह र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीबीच नै अन्तरद्वन्द्व सुरु भएको चर्चाहरु चलिरहेका छन् ।

मेयर बालेनले प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला ठोकिदिएको समाचार सञ्चारमाध्यमहरुमा आएका थिए । यस विषयमा बुभ्mन नेपाल प्रेसको टोली हिजो महानगरको कार्यालय कमलादी जाँदा फरक स्थिति देखियो । प्रशासकीय अधिकृत अधिकारीको कार्यकक्षको ढोका खुल्लै थियो । अधिकृत अधिकारीको नेमप्लेटमा ‘बाहिर’ भनेर राखिएको छ । उनको सचिवालयका कर्मचारीहरु फुर्सदिला थिए ।

सचिवालयले ९ दिनदेखि अधिकारी कार्यालय नआएको जानकारी दियो । कहिलेदेखि कार्यालय आउनुहुन्छ ? भन्ने प्रश्नमा मुखामुख गरेर उनीहरुले आफूहरुलाई जानकारी नभएको बताए । यस विषयमा महानगरकी उपनिर्देशक सरिता राईलाई बुभ्mन उनीहरुले सुझाव दिए ।

तर उपनिर्देशक राईले पनि आफूहरुलाई यो विषयमा केही जानकारी नभएको बताइन् । छानबिन समितिले छानविन गर्दै गरेको र समितिले नभनेसम्म आफूलाई जानकारी नहुने उनको भनाइ छ ।

राईले भनिन्, ‘यो सबै मेयरको सचिवालयले हेर्ने भएकाले कार्यालयका कर्मचारीलाई जानकारी हुँदैन । हामीले पनि अधिकृतज्यूलाई बिदामा बस्नु भनेको छ रे भनेको सुनेको हो । अधिकृतज्यूले मन्त्रालयमा बिदाको सन्र्दभमा के भन्नुभएको छ भन्ने कुरा हामीलाई जानकारी हुँदैन ।’

राईले यस विषयमा थप बुभ्mन महानगरका प्रवक्तासँग कुरा गर्न आग्रह गरिन् । प्रवक्ता नविन मानन्धरसँग कुरा गर्दा उनले आफुलाई केही जानकारी नभएको र छानबिन समिति बनेको समेत थाहा नभएको बताए । मानन्धरले सहायक प्रवक्ता दीपक अधिकारीलाई बुभ्mन भने । सहायक प्रवक्ता अधिकारीले पनि प्रशासकीय अधिकृतको विषयमा के भएको हो भन्ने अनभिज्ञता प्रकट गरे । उनले राजनीतिक विषय भएकाले बोल्न नमिल्ने बताए ।

अधिकारीले भने, ‘खास कुरा के हो भन्ने थाहा छैन । राजनीतिक विषय पनि हो । अधिकृतज्यू कहिलेदेखि आउनुहुन्छ भन्ने नि थाहा भएन । के कसरी निर्देशन गइराखेको छ भन्ने समेत जानकारी छैन ।’

अधिकारी धेरै समय काठमाडौं प्लाजास्थित कार्यालयमा बसेर काम गर्थे । महानगरको स्वामित्वमा रहेको सभागृहको कार्यालयमा भने महिनाको एकदुई पटक मात्रै जाने गरेका थिए । यसअघि काठमाडौं प्लाजामा कार्यकक्ष तयार नहुँदा केही समय अधिकृत अधिकारीले सभागृहकै कार्यकक्षमा बसेर काम गरेका थिए । तर प्लाजाको कार्यालयमा कार्यकक्ष तयार भएपछि उनी आप्mनै कार्यकक्षबाट काम गर्दै आएका छन् ।

सभागृहमा मेयर साह र उपमेयर सुनिता डंगोलको पनि कार्यकक्ष थियो । नयाँ ठाउँमा कार्यकक्ष तयार नहुँदा मेयर र उपमेयर पनि सभागृहबाट काम गर्दै आएका थिए । अधिकृत अधिकारीको सभागृहमा रहेको कार्यकक्ष कार्यपालिकाको बैठक बस्ने समय र नगरसभाको बैठक बस्ने बेलामा मात्र खुल्ने गरेको थियो । अन्य समयमा ताला लाग्ने गरेको छ । त्यहाँ सुरक्षा गार्डसमेत नभएकाले कार्यकक्षमा ताला लगाउने गरिएको छ ।

तर सोमबार मेयर शाहको सचिवालयले कर्मचारी नियुक्तिको विषयमा अनियमितता गरेको आरोप लागेका अधिकृत अधिकारीको सभागृहको कार्यकक्षमा ताला लगाएको बताइएको थियो । मेयरले अधिकृत अधिकारीको कक्षमा ताला लगाउन निर्देशन दिएको भन्नु आफैंमा हाँस्यास्पद भएको महानगर स्रोत बताउँछ ।

स्रोतका अनुसार पहिले लगाएको तालामाथि दोस्रो ताला लगाएको भए अधिकृत अधिकारीको कार्यकक्षमा ताला ठोकेको भन्न मिल्छ । तर त्यहाँ लगाइएको भनिएको ताला सधैँभरि लगाउने गरिएको र काम विशेष परेको बेला मात्र खोल्ने गरेको छ । तर अहिले त्यहाँ एउटामात्र ताला लगाइएको छ । जुन यसअघिदेखि नै लगाइराखिएको थियो ।

स्रोतले भन्यो, ‘त्यहाँ जहिले ताला लागिरहने ठाउँ हो । प्रमुख प्रशासकिय अधिकृत यहाँ बस्नुहुन्न । मेयरले आउनै नदे भनेर ताला लगाएको होइन ।’

मेयर शाहको सचिवालयका सदस्य भुपदेव शाहले कार्यकक्षमा ताला लगाउनु नभनिएको बताए ।

उनले भने, ‘ताला लगाउनु भनेको पनि छैन र लगाएको पनि छैन । उहाँ अहिले बिदामा हुनुुहन्छ । यो बिदाको समयमा चाहिँ नखोल्नु भनेको हो । छानबिन समितिले ठ्याक्क के हो भनेर नभन्दासम्म उहाँ बिदामा बस्दा उचित हुन्छ भन्ने कुरा हो ।’

करार कर्मचारीको विषयलाई लिएर मेयर शाहले आफ्नो सचिवालयका प्रमुखसहित ३ जना कर्मचारीलाई निलम्बन गरेका थिए । नगर कार्यपालिकाले गरेको निर्णय आफूखुशी परिवर्तन गराएको पाइएपछि गत सोमबार मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपानेसहित स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् ।

विडारीले आफनो छोरीलाई करारमा जागिर खुवाउन खोज्दा कार्यपालिकाको निर्णय फेरेको घटनापछि यतिबेला प्रमुख प्रशासकिय अधिकृत दबाबमा परेमा छन् । उक्त घटनामा मुछिएपछि प्रमुख प्रशासकीय अधिकृत अधिकारीसमेत बिदामा बसेका छन् । यस प्रकरणमा छानविन गर्न बनाइएको समितिले अझै छानविन सकाएको छैन ।

अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई दिइएको छ ।

 


प्रतिक्रिया

One thought on “महानगरका प्रशासकीय अधिकृत ९ दिनदेखि कार्यालयमा अनुपस्थित, कार्यकक्षमा बालेनले ताला ठोकेका हुन् ?

  1. बालेनसँग दलाली गरेर पैसा असुल्न नपाएका दलाल मिडियाले त बालेनले नै ठोके भनेर लेखिसके ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर