कोशीमा सहमतिका आधारमा सभामुख लिने राप्रपाको निर्णय, आजै टुंग्याउने दलहरूको तयारी – Nepal Press

कोशीमा सहमतिका आधारमा सभामुख लिने राप्रपाको निर्णय, आजै टुंग्याउने दलहरूको तयारी

विराटनगर । कोशी प्रदेशसभाको सभामुख चयन प्रक्रिया मङ्गलवार नै टुङ्ग्याउने दलहरूले तयारी गरेका छन् । आज बसेको कार्याव्यवस्था समितीको बैठकले सहमतिमा भए सहमति नभए प्रक्रियामा गएर भए पनि कोशी प्रदेश सभामुख चयन गर्न तयारी भएको छ ।

सभामुख चयनको विषय टुङ्गोमा पुर्‍याउने सहमति भएपछि दलहरूको बैठक बसिरहेको छ ।

कोशी प्रदेशसभा सचिवालयमा प्रमुख दलहरूको संसदीय दलको बैठक चलिरहेको छ । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठक भने भर्खरै सकिएको छ ।

प्रमुख विपक्षी नेपाल कम्युनिष्ट पार्टी (एमाले) दलको बैठक जारी छ । नेपाली कांग्रेस संसदीय दलको बैठकले सभामुख चयन प्रक्रिया लगायत विषयमा छलफल गर्ने सांसद अमृत अर्यालले जानकारी दिए ।

यता राप्रपाले भने दलीय सहमतिको आधारमा सभामुख पद लिने निर्णय गरेको छ । दलको मङ्गलवार बिहान बसेको बैठकले सो निर्णय गरेको एक सांसदले बताए । बैठकमा राप्रपा प्रदेश समितिका सभापति राम थापा सहित पदाधिकारसमेत सहभागी थिए । सत्ता गठबन्धनले सभामुख राप्रपालाई दिएर अघि बढ्ने तयारी गरिरहेको छ ।

एमालेले पनि सभामुखको विषयमा छलफल गर्ने प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिएका छन् । आज बस्ने संसद्को बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्थाको बैठक पनि बसिरहेको छ ।

सत्ता गठबन्धनका एक नेताले दिएको जानकारी अनुसार मङ्गलवार दिनभर लगाएर भए पनि सभामुख चयन प्रक्रिया टुंग्याउन लागिएको हो । यस विषयमा यसअघि एमालेको पनि सहमति थियो । सत्ता गठबन्धन काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा यसअघि नै राप्रपालाई सभामुख दिन तयार भएका छन् ।

राप्रपाले सभामुख लिने विषयमा पनि निर्णय भइसकेको छ । यद्यपि सभामुख चयनको प्रक्रिया भने कहिले सुरु गर्ने भन्ने विषयमा अझै निर्णय भइसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर