गोलबजारका मेयरमाथि नातावादको आरोप, प्रशासकीय अधिकृतदेखि जिन्सी प्रमुखसम्म आफन्त – Nepal Press

गोलबजारका मेयरमाथि नातावादको आरोप, प्रशासकीय अधिकृतदेखि जिन्सी प्रमुखसम्म आफन्त

जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठले पालिकाको महत्वपूर्ण पदहरूमा आफन्तलाई भित्र्याएसँगै आलोचना सुरू भएको छ । उनले प्रशासकीय अधिकृत र जिन्सी शाखा प्रमुखमा गरेको नियुक्ती विवादित बनेको हो ।

मेयर निर्वाचित भएर डेढ वर्ष समय व्यतित भएपछि श्रेष्ठले श्रीधर केसीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर ल्याउन सफल भएका छन् । केसी नाताले मेयरका साढुभाइका छोरा हुन् ।

मेयर श्रेष्ठका दाजु लीलानाथ श्रेष्ठ नेकपा एमालेका संघीय सांसद छन् । एमालेबाटै निर्वाचित मेयरले दाजुमार्फत मन्त्रालयमा पैरवी गरी नातेदारलाई ल्याएको स्रोतको दावी छ ।

केसी गत पुस ५ गतेबाट गोलबजारमा हाजिर भएका छन् । उनीअघि अनन्तकुमार पौडेल प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए । पौडेलले थाहै नपाई केसीलाई एक्कासी हाजिर गराइएको थियो । आफ्नो कुर्सीमा बस्न अर्कै अधिकृत आएपछि पौडेल रन्थनिएर मन्त्रालयतर्फ लागेका छन् ।

गोलबजारमा २०७४ सालको चुनावमा नेकपा माओवादीबाट देवनाथ साह मेयर निर्वाचित भएका थिए । उनीमाथि अंकुश लगाउन र नगरपालिका सञ्चालनमा ‘सन्तुलन’ मिलाउन सांसद श्रेष्ठलाई आफूनिकट प्रमुख प्रशासकीय अधिकृत चाहिएको थियो । उनले स्थानीय विकास मन्त्रालयमा भनसुन गरेर गोलबजार नगरपालिकामा श्रीधर केसीलाई प्रमुख प्रशासकीय अधिकृत पदमा आसिन गराए । केसी २०७७ देखि लगातार दुई आर्थिक वर्षसम्म गोलबजार नगरपालिकामा कार्यरत थिए ।

सांसद श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला एकैपटक पाँच मन्त्रालयको जिम्मेवारीसहित मन्त्री बने । त्यही मौकामा उनले केसीलाई ओखलढुंगाको प्रमुख जिल्ला अधिकारीमा नियुक्ति गराउने भन्दै गृहमा सरुवा गराई लगेका थिए । तर, सीडीओ बनाउने तारतम्य मिलाउन नपाउँदै श्रेष्ठको मन्त्री पद खुस्कियो । त्यसपछि केसी सिन्धुपाल्चोक जिल्लाको एक पालिका हुँदै प्रधानमन्त्री कार्यालय र तत्पश्चात सूर्यविनायक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुन पुगेका थिए ।

२०७९ को स्थानीय निर्वाचनबाट मेयर पदमा निर्वाचित भएका श्यामले छोरा सुमित श्रेष्ठलाई नगरपालिकाको ठेक्कापट्टामा सरिक गराए । देखावटी उपभोक्ता समिति गठन गर्ने तर भित्री रूपमा निर्माण तथा सप्लायर्सको काम सबै छोरा सुमितमार्फत गर्ने गरिएको नगरबासी बताउँछन् ।

प्रमुख प्रशासकीय अधिकृतमा हाजिर भएकै भोलिपल्ट केसीले आफ्नो सानीआमाका छोरा विकास श्रेष्ठलाई जिन्सी शाखा प्रमुख बनाए । मेयर श्रेष्ठ पुत्र सुमित छद्म भेषमा सप्लायर्स एवं ठेकेदार छँदै थिए, अब रसायन र तालमेल मिल्ने गरी प्रमुख प्रशासकीय अधिकृत र जिन्सी शाखा प्रमुख पनि आफ्नै मान्छे घुसाउन सफल भएका छन् ।

महत्वपूर्ण चार पदमा नातेदारहरूको जमघटले खरिद तथा ठेक्का प्रकृयामा व्यापक अनियमितता हुन सक्ने भन्दै नगरबासीले चिन्ता जाहेर गरेका छन् । नेकपा माओवादीका नेता रामचन्द्र सिंह भन्छन्, ‘गोलबजार नगरपालिकामा श्याम श्रेष्ठले भाइ भतिजावादको चरम नमूना देखाएकै थिए । अब प्रमुख प्रशासकीय अधिकृत पनि नातेदार आएपछि खुट्टे नलगाई गाई दुहुने सुविधा प्राप्त हुनेभयो ।’

उनका अनुसार यसअघिको कार्यकालमा श्रीधर केसी बिदाई समेत नलिई रातारात गोलबजारबाट भागेका थिए ।

‘एक पटक असफल भएर बदनामी कमाएको पालिकामा उनी फर्की आउनु पर्ने कारण के छ ?’, सिंहले आरोप लगाए, मेयर श्रेष्ठ कागजात मिलाएर दुरुस्त पार्न जान्दैनन् । त्यसका लागि रकमी मान्छे केसीलाई हठात ल्याइएको छ ।’

अनेरास्ववियुका सिरहा अध्यक्ष सुरेश यादव श्रीधर केसीको पालामा पहिले नै गोलबजारमा ठूल्ठूला काण्ड भएको बताउँछन् ।

‘नमूना दलित बस्ती निर्माण, मैनावत्तीको पुल निर्माण र कोभिड अस्पताल निर्माणमा घोटाला गरेकै थिए’, उनले भने, ‘अब उनीबाट सुशासनको के आशा गर्ने ?’

यस वर्ष एलआईपिडब्लु परियोजनाबाट नगरपालिकामा १६ करोड थप बजेट आउँदै छ । त्यसमा ढलिमली गर्ने सपना र योजना अनुसार अधिकृत केसीको आगमन भएको उनको भनाई छ ।

श्रेष्ठमाथि लागेको आरोपबारे उनको धारणा बुझ्न फोन सम्पर्क गर्दा उनको फोन उठेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर