आँचल शर्माको अनुभव- विवाहपछि बिकिनी लगाउन ‘कन्फिडेन्स’ आयो – Nepal Press
नेपाल टक

आँचल शर्माको अनुभव- विवाहपछि बिकिनी लगाउन ‘कन्फिडेन्स’ आयो

काठमाडौं । नायिका आँचल शर्मा आफ्ना अभिव्यक्ति र गतिविधिलाई लिएर बेलाबेला चर्चामा आइरहन्छिन् । त्यसो त अभिनयकलामा पनि उनी अब्बल नै छिन् ।

विवाहपछि झन् बढी चलेकी नायिका पनि हुन् आँचल । विवाह गरेपछि नायिकाहरुको करियर सेलाउँछ भन्ने मान्यतालाई चिरेर उनले आफूलाई झनै तेजिलो रुपमा प्रस्तुत गरिरहेकी छन् । विवाहपश्चात उनले आफ्नो शरीरलाई मेन्टेन गर्न पनि निकै मेहनत गरिन् । शरीरमा ल्याएको परिवर्तनलाई लिएर कतिले आलोचना पनि गरे । तर पनि उनले मेहनत गर्न भने छाडिनन् । फलतः अहिले उनले आफ्नो शरीरमा गजबको लचकता ल्याएकी छन् ।

केही समयअघि आँचल आफ्नो श्रीमानसँग घुमघामका लागि फिलिपिन्स पुगेकी थिइन् । उनले फिलिपिन्सको बोरा आइल्यान्डमा बिकिनी लगाएर खिचेका तस्विरहरु आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरिन् । शरीरमा रुपान्तरण ल्याएसँगै उनी बिकिनीमा निकै हट देखिएकी थिइन् । योभन्दा अघि उनले कहिल्यै बिकिनी लगाएका तस्विरहरु पोष्ट गरेकी थिइनन् । तर, दर्शकले उनलाई यस्तो अवतारमा त्यति रुचाएनन् । केहीले तारिफ गरे पनि धेरैले नकारात्मक कमेन्ट नै गरे ।

त्यसो त नेपालका नायिकाले बिकिनी तस्विर पोस्ट गर्दा सकारात्मक प्रतिक्रिया पाउन मुस्किल नै हुन्छ । आखिर किन दर्शकले उनीहरुलाई बिकिनीमा हेर्न चाहँदैनन् ? यसै विषयको सेरोफेरोमा आँचल शर्मासँग नेपाल प्रेसका लागि तपस्या राणाले गरेको संवादः

– नेपालका नायिकाहरु विदेश पुग्नासाथ बिकिनीमा तस्विर खिचेर हाल्न हतारिनुको कारण के हो ?

त्यस्तो हतारिएको भन्न मिल्दैन । विदेश गएको बेला एकदुई वटा फोटो खिचेर त हालिन्छ नि ! नेपालमा समुद्र छैन भन्ने त हामी सबैलाई थाहा भएकै कुरा हो । सायद नेपालमा समुद्र भएको भए यही खिचेर हालिन्थ्यो होला । विदेश गएपछि त्यहाँ पुगेर त्यहाँको माहोल हेर्नु हाम्रो लागि चाखको विषय हुन्छ ।

नेपालका स्विमिङ पुलहरुमा बिकिनी लगाइहालौं भने अलि गाह्रो छ । धेरैले चिन्ने र हेर्ने भएकाले गर्दा अलि अप्ठेरो लाग्ने रहेछ । तर, बाहिर त्यस्तो महसुस हुँदैन । त्यहाँ समुद्री तटमा सबैले त्यस्तै पहिरन लगाउँछन् । समुद्र तटमा गएर बिकिनीबाहेक अन्य कुनै लुगा लगाइन्छ जस्तो लाग्दैन ! सबैले बिकिनी लगाउने भएकाले गर्दा आफूलाई पनि सहज महसुस हुँदोरहेछ । त्यहाँ जसले जस्तोसुकै पहिरन लगाओस्, कसैलाई कसैको मतलब हुँदैन ।

– हामी नायिकाहरु ग्ल्यामरस देखिनुपर्छ भन्ने मानसिकताले त होइन ?

त्यो त झन हुँदै होइन । अहिले हरेक महिलाहरु विदेश पुगेपछि समुद्र किनार (बिच)मा लगाउने भनेकै बिकिनी हो । त्यहाँ गएर हेर्दा आफैं पनि थाहा भइहाल्छ । फरक यति हो, हामी पब्लिक फिगर हौं । हामीलाई धेरैले नियाल्नुहुन्छ । हाम्रा तस्विरहरु शेयर गरेर समाचारहरु बनाइन्छ । आर्टिकल लेखिन्छ । अनि ती समाचार र आर्टिकल्समा सबैले आआफ्नो धारणा दर्शाउन पाउँछन् । त्यही भएर हामी अलि फोकसमा पर्छौं ।

तर, अहिले त हामी पनि धेरै आधुनिक भइसकेका छौं । त्यसैले सबैले यो कुरालाई सामान्य रुपमा लिन थालिसक्नुभएको छ ।

– दर्शकले तपाईंलाई स्वीट नायिकाको रुपमा चिन्छन् । पहिलो चोटी बिकिनी लगाएको तस्विर पोष्ट गरिरहँदा दर्शकले के सोच्लान् वा कसरी हेर्लान् भन्ने डर मनमा थियो कि थिएन ?

मैले बिकिनी लगाएर तस्विर हालेको यो पहिलो चोटी हो । मैले जीवनमा योभन्दा पहिले कहिल्यै पनि बिकिनी लगाएका तस्विरहरु सामाजिक सञ्जालमा हालेकी थिइनँ । म सहज थिइनँ, त्यसैले मलाई त्यो आँट कहिल्यै पनि आएन ।

पहिला मेरो तौल अलि धेरै हुँदा मलाई बिकिनी लगाउन मन लागे पनि लगाउने आँट गर्न सकेको थिएन । मेरो शरीर राम्रो-नराम्रो जे भए तापनि मलाई पहिला अप्ठेरो लाग्थ्यो । मेरो शरीरमा ठीकै हुँदैन वा राम्रै दखिँदैन भन्ने मनमा हुन्थ्यो । छोटो पहिरन लगाउँदा हामी अझ सचेत हुन्छाैं नि ! राम्रो देखिन्छ कि देखिँदैन होला भन्ने कौतुहल हुन्छ ।

जुनै लुगा लगाउँदा पनि आफूलाई सहज हुन्छ र त्यो पहिरनलाई विश्वासका साथ पहिरिएर हिँड्न सकिन्छ भने त्यसले सुन्दरता थप्ने हो । अहिले लगाएर तस्विर हाल्नुको मतलब मेरो शरीरमा यो पहिरन राम्रो देखिन थाल्यो भनेर हो । कुनै पनि लुगा लगाउँदा भल्गर नदेखिनु न हो । राम्रै देखिन्छ भने त्यसले खासै ठूलो असर पार्छ जस्तो लाग्दैन । म सेक्सुअल होइन सेन्सुअल देखिनुपर्छ भन्ने धारणामा विश्वास गर्छु ।

अर्को भनेको, हामीले तस्विरमा कसरी पोज दिएका छौं र कसरी सामाजिक सञ्जालमा पोष्ट गर्छौं भन्ने कुरा हो । त्यो लुगा लगाउँदा पनि मलाई स्वीट नै देखिराखेको थियो जस्तो लाग्छ । मलाई सेक्सीभन्दा पनि बढी स्वीट नै देखिइराखेको थियो । फोटोहरु खिचिरहँदा पनि मलाई त्यस्तै महसुस भएको थियो । त्यही भएर तस्विर हालिरहँदा मैले त्यस्तो केही सोचिनँ ।

– नकारात्मक कमेन्ट्सहरुले कतिको असर गर्छ ?

अहिले त मलाई त्यस्ता कुराहरुले केही फरक नै पर्दैन । एकदमै धेरै चेतियो । ज-जसले कमेन्ट्स गर्नुहुन्छ, पर्दा पछाडि बसेर गर्नुहुन्छ । त्यही भएर केही लाग्दैन ।

– आफू सँगसँगै श्रीमानलाई पनि जोडेर गाली र कमेन्ट्स गर्दा कस्तो महसुस हुन्छ ?

हामी सेलिब्रेटी भएकाले यस्ता कमेन्ट्स आउँछन् भनेर पहिले नै माइन्ड मेकअप भइसकेका हुन्छौं । आफूले लगाएको पहिरनमा आफू अश्लील र फोहोरी देखिनुभएन । अर्को कुरा भनेको ती तस्विरहरु मेरो श्रीमानले नै खिचिदिनु भएको हो । जसको मतलब मैले ती तस्विरहरु मेरो श्रीमानको स्वीकृति लिएरै खिचेकी र हालेकी हो । त्यसैले श्रीमानले त्यस्तो किन गर्न दिएको भन्ने खालका कमेन्ट्सहरु गर्नु उचित हो जस्तो लाग्दैन ।

मेरो पार्टनरले आफैं नै खिचिदिरहनु भएको छ भने त्यो पक्कै पनि राख्न नै खिचिदिनु भएको हो । त्यसैले नकारात्मक टिप्पणीहरुले मलाई र मेरो श्रीमानलाई खासै फरक पर्दैन ।

– विवाहपछि बिकिनी लगाएर तस्विर पोष्ट गर्न कतिको सहज हुँदोरहेछ ? घरका सदस्यहरुले कस्तो प्रतिक्रिया दिनुभयो ?

केही भन्नुभएन । यो मामलामा अविवाहित महिलालाई भन्दा विवाहित महिलालाई अझ सहज हुन्छ जस्तो लाग्छ । यो मेरो व्यक्तिगत धारणा हो है ! म पहिला यस्ता पहिरन लगाएर तस्विर हाल्ने खालको व्यक्ति नै होइन । यो मेरो पहिलो पटक हो । पहिला मलाई हरेक कुरामा डर लाग्थ्यो । बुवाले के भन्नुहुन्छ होला वा अरुले के सोच्छन् होला भन्ने हुन्थ्यो । विवाह गरेपछि मलाई म अरु कुनै व्यक्तिसँग होइन, मेरो श्रीमानसँग त गएकी हो नि भन्ने कन्फिडेन्ट भयो । जबसम्म मेरो श्रीमान मेरो साथमा हुनुहुन्छ र मलाई कुनै पहिरन लगाउन आफैं छुट दिइरहनु भएको छ भने मलाई अरुले के भन्नुहुन्छ भन्ने कुराको खासै डर छैन । अझ खुल्न सहज हुन्छ । मेरो आफन्त र घरपरिवार पनि म मेरो श्रीमानसँग त गएकी हो भनेर ढुक्क हुनुहुन्छ ।

– बलिउड र हलिउडका नायिकाहरुले बिकिनी लगाउँदा खासै फरक नपर्ने तर नेपाली नायिकाहरुले लगाउँदा यति ठूलो चर्चा हुनुको कारण के हो ?

संस्कारले गर्दा हो । उहाँहरुको समाज पहिला नै आधुनिक थियो । उहाँहरुको हुर्काइ, संस्कृति, पहिरन र चालचलन हाम्रोभन्दा धेरै फरक छ । हामी नेपालीहरुको लागि हाम्रो संस्कार सबैभन्दा ठूलो कुरा हो । हाम्रो रीतिरिवाज, हाम्रो चिनारी हो । जसमा म आफैं पनि एकदमै गर्व गर्छु । हाम्रो रीतिरिवाजले हामीलाई एकदमै गाँजेर थिचेकाले गर्दा यो कुराबाट उठ्न हामीलाई समय लागेको हो । बाहिर त्यसरी सोचिँदैन ।

उता १७ वर्ष पुग्नासाथ परिवारबाट छुट्टिएर बस्न थाल्छन् । हामी त्यस्तो गर्न सक्दैनौं । गर्न त के, हामी त्यति सानो उमेरमा आफ्नो परिवारबाट छुटिएर बस्नेबारे सोच्न पनि सक्दैनौं । उनीहरुले त्यो तरिका आजभन्दा सय वर्ष अगाडिबाटै गर्दै आएका हुन् । तर, यो मामलामा हामी हरेक कुरामा भर्खरै आधुनिक हुँदैछौं । अझै समय लाग्छ ।

हामी सधैं हाम्रो संस्कारलाई पहिरन, हिँडाइ, बोलाइ र खान्कीमा जोडिदिन्छौं । त्यो गलत हो । सबैको व्यक्तिगत स्वतन्त्रता हुन्छ । लुगा र संस्कार एकदमै फरक पाटो हो । बिकिनी लगाउँदैमा संस्कार बिर्सेको भन्ने हैन ।

– नेपालीमा यो सोचाइ परिवर्तन हुन किन धेरै समय लाग्यो ?

लाग्छ अझै धेरै समय । मेरो आफ्नै सोच्ने तरिका पनि मलाई अझै केही पिछडिएको लाग्छ । म आफैं अझै पनि कतिपय कुराहरुमा खुल्न सक्दिनँ । किनभने हाम्रो जरा नै त्यस्तै छ । हामी यस्तै सिस्टममा हुर्केका छौं ।

म एक अभिनेत्री हुँ । म आफैं हलिउड र बलिउडको कलाकारहरुलाई फलो गर्छु । तर, मलाई नै कतिपय कुराहरुमा हामी नेपाली हो र यो हाम्रो संस्कार अनि सोचाइ होइन भन्ने आउँछ । म दुनियाँ घुमेको र सामाजिक सञ्जालमा यस्तो सक्रिय मान्छेलाई त यस्तो सोच आउँछ भने घरमै बसेर संस्कारलाई पछ्याइरहनु भएको मान्छेहरुलाई यस्ता कुराहरु पचाउन अझै धेरै समय लाग्छ ।


प्रतिक्रिया

One thought on “आँचल शर्माको अनुभव- विवाहपछि बिकिनी लगाउन ‘कन्फिडेन्स’ आयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर