राजसंस्थासम्बन्धी बीपी कोइरालाको अदालती बयान- नेपालमा दुईटा राजतन्त्र थियो – Nepal Press
किताबी कुरा

राजसंस्थासम्बन्धी बीपी कोइरालाको अदालती बयान- नेपालमा दुईटा राजतन्त्र थियो

काठमाडौं । २०१७ साल पुस १ गते महेन्द्रको टेकओभरपछि बीपी कोइरालालगायत हजारौं नेपाली राजनीतिक नेता कार्याकर्ताहरु थुनामा परे । आठ वर्ष जेल बसेर उपचारमा अमेरिका गएका बीपी आठै वर्ष भारत बसेर नेपाल फर्किएका थिए । २०१७ पुस १ मा जेल परेका बीपी २०२५ कात्र्तिक १४ मा थुनामुक्त भएका थिए ।

उनी २०३३ पुस १६ गते भारतबाट पुनः नेपाल आएका थिए । आएपछि पनि उनी थुनामा परे । थुनामा परेका उनलाई धेरै राजकाज मुद्दा लगाइएको थियो । उनलाई फाँसी दिनेसम्मका हल्ला पञ्चहरुबाट चलाइएको थियो । राष्ट्रिय पञ्चायतमा जुम्लाबाट मनोनीत सदस्य धिरबहादुर हमालले त विराटनगरको पञ्च भेलामा सार्वजनिक रुपमै बीपीलाई फाँसी मागेका थिए । वरिष्ठ पत्रकार भैरव रिसालको पुस्तक ‘उहिलेको नेपाल’मा यो कुरा लेखिएको छ ।

अदालतमा ल्याइएका बीपीका विभिन्न मुद्दामा राजकाज पनि एउटा थियो । राजतन्त्रको सवाल पनि त्यहाँ आएको थियो । बीपीले आफ्नो अदालती बयानमा राजतन्त्रका बारेमा रोचक तर्क दिएका छन् । लिपि बुक्सले २०७९ चैतमा ल्याएको किताब ‘बीपी कोइरालाले अदालतमा दिएको बयान’मा यो प्रसंग उल्लेख छ । पञ्चायतको डेढ दशक पुग्न लाग्दा विशेष अदालत सिंहदरबारका अञ्चल न्यायाधीश जनकमान श्रेष्ठसमक्ष बीपीले दिएको बयान राजतन्त्रको हल्लाखल्ला भएको अहिलेको समयमा पनि उत्तिकै रोचक देखिन्छ ।

पञ्चायतको डेढ दशक पुग्न लाग्दा विशेष अदालत सिंहदरबारका अञ्चल न्यायाधीश जनकमान श्रेष्ठसमक्ष बीपीले दिएको बयान राजतन्त्रको हल्लाखल्ला भएको अहिलेको समयमा पनि उत्तिकै रोचक देखिन्छ ।

‘म क्रान्तिवादी हुँ । आतंकवादी होइन’, ‘म नेपाली कांग्रेसको अध्यक्ष भएकाले नेपाली कांग्रेसले गरेका सबै कामको लागि मेरो नैतिक जवाफदेही छ, चाहे ती कार्यहरु मेरो ज्ञानमा भएका हुन् वा अज्ञानमा’ भन्ने जस्ता बोल्ड अभिव्यक्ति दिने बीपी राजतन्त्रको सवालमा भने सफ्ट देखिएका छन् ।

राजतन्त्रका विभिन्न रुप, एक समयममा नेपालमा दुई राजतन्त्र

२०३४ साल वैशाख २० गते दिएको अदालती बयानमा बीपीले नेपालको राजतन्त्रको रुप समयअनुसार फरक फरक भएको बताएका छन् । राणाकालभन्दा पहिलेको राजतन्त्र र २०१७ सालपछिको राजतन्त्रको उदाहरण दिएर उनले राजतन्त्र एकै खालको नभएको तर्क गरेका छन् । यतिमात्रै होइन, नेपालमा एक समयमा एकै पटक दुई राजतन्त्र अस्तित्वमा आएको उदाहरण दिँदै बीपीले भनेका छन्, ‘२००७ सालमा एक समयमा नेपालमा दुई राजा थिए । तसर्थ, नेपालमा दुई राजतन्त्र थियो । त्यसो हुनाले राजतन्त्र भनेरमात्र हुँदैन । राजतन्त्र कस्तो छ, त्यसको विवेचना हुनुपर्छ ।’

वैधानिक राजतन्त्रमा बीपी विश्वास

२०३४ वैशाख २८ गतेको अदालती बयानमा बीपीले आफू नेपाली कांग्रेसको अध्यक्ष भएको र आफूले राजतन्त्रमा विश्वास राख्ने बताएका छन् । उनले भनेका छन्, ‘श्री ५ को अनादर या राजमुकुटको बेकदर गर्ने मेरो कदापि पनि मनसाय हुनसक्दैन ।’ बयानको समय भन्दा तीन वर्ष अगाडि सन् १९७४ अप्रिल १५ मा भारतबाट प्रकाशन हुने अखबार ‘स्पिट फायर’मा लेखिएको आलेख ‘नेपाल द बेसिक क्वेश्चन’मा उठेको सवालमा बीपीले यस्तो बयान दिएका थिए ।

उनले थपेका छन्, ‘मैले राजा र प्रजाको बीच फाटोको स्थितिको चर्चा गर्दा केही ऐतिहासिक तथ्यको विवरण त्यसमा दिएको हुँ । वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा जब नेपाली कांग्रेसले राष्ट्रिय एकताको सर्वाधिक आवश्यकता महसुस गरेर, राष्ट्रिय एकताको लागि प्रयत्नशील हुने उद्देश्यले हामी नेपाल फर्केका छौं, मेरो त्यो लेखमा लेखिएका कुरा ऐतिहासिक दृष्टिकोणबाट असत्य त छैन । तर, अप्रासाङ्गिक भएको हुनसक्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *