आमा कहाँ छिन् ? हजुरआमा कहाँ छिन् ? चार वर्षे उमरको प्रश्नले दर्शाएको इजरायली बर्बरता – Nepal Press

आमा कहाँ छिन् ? हजुरआमा कहाँ छिन् ? चार वर्षे उमरको प्रश्नले दर्शाएको इजरायली बर्बरता

रमल्लाह । आमा कहाँ हुनुहुन्छ ? हजुरआमा कहाँ हुनुहुन्छ ? सबैजना कहाँ छन् ? नाजुक शरीरमा बमबाट गम्भीर घाउ भएका चार वर्षीय बालक उमरले गाजाको अस्पतालमा यो प्रश्न सोध्छन् ।

यो प्रश्न सुनेर उमरका एकमात्र जीवित नातेदार मोइन अबु रजाक भन्छन्, ‘जब उनले आफ्नो परिवारको बारेमा सोधे, मैले जवाफ दिन सकिनँ । अरू कुरा गरेर प्रश्नलाई टार्न खोजें ।

गाजाको अल-अक्सा अस्पतालमा भर्ना भएका उमरको अवस्था निकै चिन्ताजनक छ । उमरको देब्रे हात काट्नु परेको थियो । उमरको दाहिने खुट्टामा अझै घाउ छ । अनुहार र छातीमा पनि घाउ छ । उमरको बङ्गारामा चोट लागेको छ र उनको शरीर पट्टीले बाँधिएको छ ।

उनलाई यो चोट इजरायली आक्रमणबाट लागेको हो । जहाँ उमरको परिवारका ३५ सदस्यको ज्यान गयो । मृत्यु हुनेमा उमरको आमा, बुवा र हजुरआमा पनि छन् ।

उमर आफ्नो परिवारलाई पर्खिरहेका छन्

उमरका आफन्त मोइनले यो बच्चाको हालत खराब नहोस् भनेर उनको सबै परिवारको मृत्युको बारेमा नबताउने निर्णय गरेका छन् ।

हाल उमरलाई इजिप्ट हुँदै गाजाबाट बाहिर निकाल्ने प्रयास भइरहेको छ । यूएई सरकार र रेड क्रिसेन्ट सोसाइटीले यस्तो पहल सुरु गरेको हो ।

मोइनले बीबीसी अरबीलाई भ्वाइस नोटहरूमार्फत भने, ‘उमरलाई आफ्नो परिवारको मृत्युको बारेमा यसरी बताउनुपर्नेछ कि उनी स्तब्ध नहून् । नत्र मैले नियन्त्रण गर्न नसक्ने अवस्थामा ऊ पुग्छ । उमरलाई थाहा छ, उसले आफ्नो परिवारका सदस्यहरूलाई देखेको छैन र उसले आमा कहाँ छ, हजुरआमा कहाँ छ, यी मानिसहरू कहाँ गए भनेर सोध्छ ।’

मोइन उमरले उपचार गर्न पाउने आशामा छन् । तर, मध्य गाजामा इजरायलको तर्फबाट बम विस्फोट भइरहेको छ । उनलाई एम्बुलेन्सबाट इजिप्टको सीमासम्म लगिने पनि कुनै ग्यारेन्टी छैन ।

इजरायली सेनाले गाजालाई दुई टुक्रा बनाएका छन् । ट्याङ्क र सैनिकहरू अहिले दक्षिणी शहर खान युनुसतर्फ अघि बढिरहेका छन् ।

दीर अल-बालाहको मुख्य राजमार्गलाई युद्ध क्षेत्र घोषित गरिएको छ । जसका कारण यहाँ फसेका मानिसहरूसँग बाहिर निस्कने बाटो निकै कम छ ।

उत्तरी गाजाको स्थिति

उत्तरी गाजामा बसोबास गर्ने धेरै प्यालेस्टाइनीहरूले मध्य क्षेत्रमा शरण खोजेका छन् । इजरायली सेनाले ती मानिसहरूलाई क्षेत्र खाली गरेर दक्षिणतिर जान भनेको थियो ।

यो आदेश युद्धको सुरुमा आएको थियो ।अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपछि यो युद्ध सुरु भएको हो । हमासको आक्रमणमा करिब १ हजार २०० जनाको ज्यान गएको छ । त्यहाँ २४० जनालाई बन्धक बनाइएको थियो ।

इजरायलले गरेको आक्रमणमा हालसम्म १८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । चार वर्षीय उमर इजरायली आक्रमणमा घाइते भएका ४९ हजार व्यक्तिमध्ये एक हुन् ।

मोइन र उमर

जब उमरको परिवारमाथि हमला भयो

त्यस दिन उमर र उनको परिवार देइर अल-बालाहको उत्तरमा रहेको नुसरत क्याम्पमा हजुरआमाको घर गएका थिए । त्यहाँ इजरायलले कुनै चेतावनीविना आक्रमण गर्‍यो र निर्दोष मानिसहरू मारिए ।

मोइन भन्छन्, ‘हामीले यस्तो मिसाइल कहिले पनि देखेका थिएनौं, मिसाइल खस्यो र सम्पूर्ण क्षेत्र ध्वस्त भयो । शौभाग्यवस घरको एक भाग खुला थियो । जसका कारण यी बालक उमर तल खसेका थिए । तर, उनको देब्रे हातमा यति नराम्रो चोट लागेको थियो कि तत्कालै काट्नुपर्ने भयो । उमरको शरीरबाट ३ युनिट रगत बगेको थियो । उनको हेमोग्लोबिन पनि ७.४ मा आयो । रगत चढाउन शल्यक्रिया गरिएको थियो ।’

उनको अवस्था निकै नाजुक हुँदा पनि अस्पतालमा बेड पाइएको थिएन । डाक्टर र नर्सले अस्पतालको करिडोरमै उनको उपचार गरेका थिए । उपचारका लागि चाहिने अत्यावश्यक सामानहरू सीमित थिए । अस्पतालमा पेन किलर थिएन । मानिसहरूलाई पीडाबाट ध्यान हटोस् भनेर जोक सुनाएर हँसाउने प्रयास गरिएको थियो ।

उमरलाई बिहीबारसम्म अलग्गै रफाह सीमामा लैजान सकिने आशा मोइनको छ, जहाँबाट उनी उपचारका लागि इजिप्टको अस्पताल जान सक्नेछन् ।

एउटा नराम्रो सपना…

इजरायली बमबारीबाट बाँचेकाहरूमध्ये एक लीना शकोरा, उनका श्रीमान् र तीन छोराछोरी पनि छन् ।

उनी भन्छिन्, ‘हामी अझै पनि नराम्रो सपनामा बाँचिरहेका छौं ।’

लीना गाजा शहरको शेख रादवानबाट भागेर दीर अल-बालाहको कृषि क्षेत्रको एउटा घरमा बसिरहेकी छन् ।

लीनाले बीबीसी अरबीसँग भनिन्, ‘हामी हरेक बिहान उठ्ने बित्तिकै सम्झन्छौं कि हामी युद्धमा छौं, मानिसहरू भोकले मरिरहेका छन् । खाना पनि खान पाएका छैनौं । मेरो परिवार र अन्य ४० जना एउटै कोठामा बसेका छन्, विस्फाेटले कोठाको झ्यालका सिसा फुटेका छन् । एक हिसाबले हेर्दा हामी खुलामा बसेका छौं । यहाँ धेरै चिसो छ र मानिसहरू चिन्तित छन् । हामीलाई ठूलो आशा लागेको छ, हाम्रो पेट भर्नलाई पिठो पाए पनि केही बनाएर खान पाउँथ्यौं, गुणस्तरहीन खाना खान बाध्य भएका छौं ।’

राष्ट्रसंघले राफाहभन्दा बाहिर सामग्री उपलब्ध गराउन असमर्थ रहेको बताएको छ ।

इजरायलको बर्बर हमलाबाट निर्दोष प्यालेस्टाइनीहरुले आफ्नो जीवन गुमाइरहेका छन् । सबैभन्दा धेरै बालबालिका मारिएका छन् र घाइतेहरू पनि क्षतविक्षत अवस्थामा छन् । अस्पतालहरूले उपचार गर्न सकेका छैनन्, बाहिर लैजाने अवस्था छैन ।

यो पापिस्ट हमलाले निर्दोषको रगत बगाइरहेको छ । इजरायलको हमला यति बर्बर र निकृष्ट छ कि पछिल्लो समय उसको सबैभन्दा ठूलो रक्षक अमेरिकाले समेत आलोचना गरेको छ । थाहा छैन कति निर्दोषको रगत पिएपछि मात्र युद्ध पिपासुको मन शान्त हुने हो ।

(बीबीसीसहित अरबिक सञ्चारमाध्यमका समाचारलाई अनिशा तिवारीले गरेको कम्पाइल अनुवाद ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर