महन्थसँग बढ्यो राजेन्द्र महतोको दूरी, केन्द्रीय समितिको बैठक बहिष्कार – Nepal Press

महन्थसँग बढ्यो राजेन्द्र महतोको दूरी, केन्द्रीय समितिको बैठक बहिष्कार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीचको सम्बन्धमा दरार आएको छ । गत असोजमा पदाधिकारीसहित समिति विस्तारपछि ठाकुर र महतोको सम्बन्ध बिग्रिएको हो ।

केन्द्रीय समिति विस्तारपछि पहिलो पटक आज बैठक बस्दैछ । तर, आजको बैठक नेता महतोले बहिष्कार गर्ने भएका छन् ।

लोसपाको एक नेताले नेपाल प्रेससँग भने, ‘उहाँले केन्द्रीय समिति विस्तारको समयदेखि नै असन्तुष्टि राख्दै आउनुभएको थियो । आजको बैठकमा उहाँ नआउने भन्ने सुनेका छौं ।’

आजको बैठकमा नआएपछि महतोको कदमबारे अध्यक्ष ठाकुरले छलफल गर्ने बताए ।

ती नेताले भने, ‘अहिलेसम्म उहाँहरुको यो समस्या समाधानमा छलफल भएको छैन। अब यो बैठकपछि अध्यक्षले् उहाँसँग करा गर्नुहोला ।’

लोसपामा ६३ पदाधिकारीसहित ३११ सदस्यीय कार्य समिति छन् । केन्द्रीय समितिमा एकजना अध्यक्षसहित तीनजना वरिष्ठ नेता, एकजना वरिष्ठ सहअध्यक्ष, छ जना वरिष्ठ उपाध्यक्ष, १५ उपाध्यक्ष, १६ महासचिव, ८ सहमहासचिव, ११ सचिव, कोषाध्यक्ष दुई जना, प्रवक्ता एक जना र सह कोषाध्यक्ष एक जना रहेका छन् ।’

यो कमिटी विस्तारपछि आज पहिलोपटक केन्द्रीय समितिको बैठक बस्न लागेको नेता केशव झाले बताए । अब केही समयमा अनुपम फुडल्याण्डमा बैठक सुरू हुनेछ ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रियसभाको निर्वाचन, केन्द्रीय समिति विस्तारलगायतको विषयमा छलफल हुने जनाइएको छ ।

यस्तै, संगठन निर्माण, भ्रातृ संगठन विस्तारलगायतको विषयमा पनि छलफल हुने तय भएको छ । जसपाबाट अगल भएपछि गठन भएको लोसपाले पछिल्लो समय प्रभाव जमाउन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर