माओवादी सुदूरपश्चिम संसदीय दलको बैठक काठमाडौंमा, विश्वासको मतपछि सरकारमा जाने – Nepal Press

माओवादी सुदूरपश्चिम संसदीय दलको बैठक काठमाडौंमा, विश्वासको मतपछि सरकारमा जाने

कैलाली । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक काठमाडौंमा बसेको छ ।

संसदीय दलका नेता मानबहादुर धामीको अध्यक्षतामा भएको बैठकमा प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेल, सहइन्चार्ज वीना मगर र प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव पनि सहभागी भएका थिए ।

सुदूरपश्चिम प्रदेश सरकार र संसदीय दलभित्रका विषयमा बैठकमा छलफल भएको संसदीय दलका नेता मनबहादुर धामीले जानकारी दिए । अहिलेसम्म पनि सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी भएको छैन ।

उनका अनुसार बैठकमा पहिले विश्वासको मत दिने र त्यसपछि सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको छ ।

‘सुदूरपश्चिम सरकारले अझै विश्वासको मत पाएको छैन । हामी विश्वासको मत दिने तयारीमा छौं’, उनले भने, ‘पहिले विश्वासको मत दिन्छौं । त्यसपछि सरकार विस्तारलाई तीव्रता दिन्छौं ।’

उनका अनुसार जनमुखी नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी तयारी थाल्ने विषयमा पनि छलफल भएको थियो ।

बैठकमा धामीसहित सुदूरपश्चिम प्रदेशका खगराज भट्ट र जानकीदेवी कुँवरबाहेक आठ सांसद उपस्थित थिए ।

यसअघि खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई माओवादी संसदीय दलको नेता बनाएको भन्दै विरोध जनाएका दुई सांसद पनि बैठकमा उपस्थित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर