मकवानपुरका ८ दलको चेतावनी- हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभिए सशक्त आन्दोलन – Nepal Press

मकवानपुरका ८ दलको चेतावनी- हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभिए सशक्त आन्दोलन

हेटौंडा । मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग गाभ्न लागेको भन्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्रसहित जिल्लामा क्रियाशील ८ दलले आपत्ति जनाएका छन् ।

मकवानपुरका ८ दलले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले भौतिक पूर्वाधारविनै हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्न लागिएको भन्दै आपत्ति जनाएका हुन् ।

यसअघि सरकारको प्रतिष्ठानको आफ्नै भौतिक पूर्वाधार तयार गरी अस्पताललाई स्वतन्त्र ढङ्गले सञ्चालन गर्न दिने सहमतिविरुद्ध गएर बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले अस्पताल प्रतिष्ठानमा गाभ्नेगरी प्रक्रिया अघि बढाएको भन्दै ८ दलले विरोध गरेका छन् ।

विज्ञप्तिमा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक भीम पाख्रिन, एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णु दहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भरतप्रसाद पराजुली, जसपा नेपालका अध्यक्ष सोम घलान, राप्रपा नेपालका अध्यक्ष गुरुप्रसाद सापकोटा, राप्रपा उपाध्यक्ष अर्जुनप्रसाद गौतम र नेकपा मकवानपुरका इन्चार्ज वाटर सीले हस्ताक्षर गरेका छन् ।

उनीहरुले प्रदेश सरकारले हेटौंडा अस्पतालको अस्तित्व मेटाउने प्रयास गर्ने हो भने सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

विज्ञप्तिमा राज्यको सम्पत्ति, आफ्नै अस्तित्व र गरिमा रहेको र दैनिक दुई हजारभन्दा बढी नागरिकले उपचार सेवा पाइरहेको हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने र अस्तित्व नै मास्ने गरी भइरहेको गतिविधि आफूहरुलाई मान्य नहुने उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *