खुशी हराएको बस्ती – Nepal Press
ब्लग

खुशी हराएको बस्ती

रुकुम पश्चिम । बिहानै मोबाइल बज्यो । ‘समय कस्तो छ ? भूकम्प प्रभावित क्षेत्र जानुहुन्छ ?’, मित्र मनोज राईले सोध्नुभयो ।

‘हुन्छ नि, कहिले ?’

‘आजै, तयार हुनुहोस् ।’

गएको कार्तिक १७ गते गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम ध्वस्त बनाएको थियो । भूकम्प गएको एक महिनासम्म पनि यहाँको दैनिकी सामान्य भइसकेको छैन । भूकम्पले रोग, भोक र शोकमा रहेका बस्तीहरूमा चिसोले थप कष्ट दिइरहेको छ । त्यहाँ पुरेरै स्थलगत समाचार संकलन गर्ने योजना भए पनि अवस्था भने मिलेको थिएन ।

ढिलो नगरी साथीहरूले व्यवस्था गरेको गाडीमै जाजरकोट हानिए ।

मध्य मङ्सिर । कठ्याङ्ग्रिँदो चिसोमा सानो त्रिपालमुनि लालाबाला च्यापेर गुजारा गरिरहेका यहाँका कैयौं परिवारहरूमा अझै पनि भूकम्पको त्रास हटेको छैन ।

एक महिना पहिले शुक्रबार करिब सबै मस्त निद्रामा रहेका बेला राति ११ः४७ बजे थाम्नै नसक्ने गरी भुईं हल्लियो । जाजरकोट बारेकोट रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पले १५४ जनाको ज्यान लियो । ३३६ जना घाइते भए । अहिले केही निको भएर घर फर्किएका छन् । कैयौं अझै अस्पतालको शय्यामा छटपटाइरहेका छन् । भूकम्पले दुई जिल्लामा मात्रै ६० हजार बढी घरमा क्षति पुर्‍याएको छ ।

घटनाको एक महिनापछि पनि त्यो दिन अझै बिर्सन सकेका छैनन् यहाँका प्रभावितहरूले । त्यसैमाथि हरेक रात कठ्याग्रिँदो चिसोले उनीहरूलाई त्यो पल याद गराइरहन्छ ।

जाजरकोटको भेरी नगरपालिका परिसरमा दर्जनौं त्रिपाल टाँगेर बसेका परिवार छन् । भूकम्प गएको एक महिना बितिसक्दा पनि अधिकांश घर फर्किन सकेका छैनन् । भूकम्प पीडितहरूको नाममा करोडौं रकम संकलन हुँदा पनि प्रभावित क्षेत्रका नागरिकहरूले राहत पाउन सकेका छैनन् ।

एक महिनादेखि त्रिपालको सहारामा आफू र आफ्नो बच्चालाई ओत दिइरहेकी आरती परियारको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । उनका २ बच्चामा स्वास्थ्य समस्या देखिएको छ ।

‘यहाँ आएर बसेको पनि लामो समय भइसक्यो बच्चाहरू बिरामी भइरहेका छन् । खोकी लागिरहेको छ, सास फेर्न समस्या भइरहेको छ’, आरतीले बिलौना गरिन् ।

अहिलेसम्म २२ जनाको चिसोले ज्यान लिइसकेको छ । जसमा जाजरकोटका १९ र रुकुम पश्चिमका ३ जना छन् । मृत्यु हुनेमा धेरैजसो दीर्घ रोगी छन् । चिसोले कठ्यांग्रिएकाहरुलाई यो तथ्याङ्कले थप त्रसित बनाएको छ ।

केन्द्रबिन्दु बारेकोटको रामीडाँडामा १७ गते कसैको पनि मृत्यु भएन । तर, यो एक महिनामा मात्र त्रिपालमा बस्दा चिसो लागेर बारेकोटमा मात्रै १२ जनाको मृत्यु भएको छ ।

बारेकोट उच्च भेगको तापक्रम एक डिग्री सेल्सियसमा झरिसकेकाले पीडितको अवस्था झन् कठिन भएको छ । ‘सोमबार यो क्षेत्रमा पानी परेको छ । माथिल्लो भेगमा हिउँसमेत परेको छ’, गाउँपालिका प्रमुख वीरबहादुर गिरीले भने, ‘त्रिपालमा बस्दै आएकाहरूलाई झन् जोखिम बढेको छ ।’

बारेकाटेको माथिल्लो क्षेत्रमा हिउँ पर्न थालेकाले चिसो झन् बढेको छ । ‘जुम्ला र डोल्पासँग जोडिएको क्षेत्र भएको हुँदा यहाँ निकै चिसो बढेको छ । १२ जनाले ज्यान गुमाइसके । अझै धेरैको स्वास्थ्य अवस्था बिग्रिरहेको छ’, उनले भने, ‘यहाँ न्यानो कपडा धेरै चाहिएको छ ।’

मेयर गिरीले सरकारले हिजोमात्रै पहिलो किस्ता उपलब्ध गराएपछि अब उक्त रकम प्रभावितहरूलाई हस्तान्तरण गरिने बताए । ‘१३ करोड बढी रकम आएको छ । ५ हजार ५८६ जनालाई ५० हजार उपलब्ध गराउनु पर्नेछ’, उनले भने ।

परिवारका सबै सदस्य गुमाएका, लाखौंऔकरोडौं धनमालको क्षति व्यहोरेका परिवारले सरकारबाट ५० हजार पाउँदैछन्, त्यो पनि एक महिनापछि । तर, उनीहरू अहिले न्यानो लुगा नपाएर तड्पिरहेका छन् । भूकम्प प्रभावितहरूले एउटा न्यानो लुगासमेत नपाएर कठ्याग्रिएर मृत्युवरण गर्नुपर्ने अवस्था देखेपछि सँगै रहेका किशोर शाहले भने, ‘यहाँ त सरकार नभएको आभास भयो है !’

करिब २ सातासम्म भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणमा खटिएका शाहका अनुसार यी क्षेत्रका जनताको लागि सरकार नभएको आभास भएको छ । उनी भन्छन्, ‘मान्छेहरू अहिले पनि भयभीत र त्रसित छन् । सरकार घुम्न र हेर्न आएको जस्तो उनीहरूलाई भान भएको छ । अहिलेसम्म गतिलो व्यवस्था हुनसकेको छैन ।’

जाजरकोट जस्तै क्षति व्यहोरेको रुकुम पश्चिमका बस्तीहरू पनि खण्डहर बनेका छन् । छोरा निर्जल बितेको एक महिनासम्म पनि रामबहादुर चन्दलाई राम्ररी निद्रा परेको छैन । २ वर्षअघि श्रीमतीले अर्कै रोजेपछि उनले निर्जललाई आमाको पनि माया दिइरहेका थिए । रामबहादुरले अर्काे बिहे गरे । कार्तिक १७ गते रामबहादुर सानीभेरी गाउँपालिका- ९ सिम्नीमा थिए । उनी श्रीमतीले १० महिनाको शिशुलाई आफूसँग सुताइन् । ८ वर्षको निर्जल भुईंमा सुतेका थिए ।

जाजरकोट नलगाड नगरपालिका- १ को चोचे टोलमा स्थानीयवासी हिरे कामी तिहार मनाउन भारतबाट आएका थिइन् । चाडबाडमा रमाइलो गर्न, परिवारसँग बस्न गाउँ फर्किएका उनले तिहार देख्न पाइनन् । हिरे कामीसँगै श्रीमती र दुई सन्तानको मृत्यु भयो । समयमै उद्धार गर्न सकेको भए हिरे कामीलाई जोगाउन सकिन्थ्यो भन्ने लागेको थियो उनका छिमेकी र आफन्तहरूलाई ।

‘मध्यरातमा गाउँभरि कोलाहल र रुवाबासी मच्चियो, हामी कसैको दिमागले काम गरिरहेको थिएन’, हरिबहादुर चुनारा भूकम्पको रात सम्झिन्छन्, ‘जब हामी अरूलाई सहयोग गर्न सक्ने भयौं, हिरे कामी बोल्दै हुनुहुन्थ्यो ।’

अधिकांश दलित समुदाय रहेको चोचे टोलका १४ जनाले ज्यान गुमाए । केही परिवार पूरै भूकम्पमा पुरियो । जस्तो भिउसन कुमाईंको चार जनाको परिवार नै भूकम्पले लग्यो । यहाँका १८६ घरधुरीमध्ये कुनै घर बस्न लायक छैन ।

सरकारी जागिरे भएर भविष्य उज्ज्वल देखेकी एलिनाको सपना लामो समय रहन सकेन । जाजरकोटको नापी कार्यालयमा पोस्टिङ भएको एक वर्ष नपुग्दै अमिन पदमा कार्यरत २५ वर्षीया एलिना भण्डारी भूकम्पमा पुरिइन् । उनीसँगै उनका भाइ प्रज्ज्वलको पनि भूकम्पमा परी ज्यान गएको थियो ।

जाजरकोटको नलगाड नगरपालिका- ६ भारगाउँकी जमुना बुढामगरले भूकम्पका कारण श्रीमान् र पेटमा हुर्कँदै गरेको आठ महिने शिशुलाई गुमाइन् ।

भूकम्पबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिका- १४ का बाँकेडाँडा, हल्देटोल, ज्यामिरकोट, छेपारे, बाँकेटोल र पिपलचौरलगायतका गाउँमा मात्रै ३० जना बढीको मृत्यु भयो ।

भूकम्पमा परी ज्यान गुमाएका १५४ मध्ये करिब आधा बालबालिका थिए । प्रहरीको तथ्याङ्कअनुसार अहिलेसम्म ७८ जना बालबालिका सधैंका लागि भूकम्पमा पुरिए । जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाले भूकम्पमा ज्यान गुमाए । भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेको प्रहरीले जनाएको छ ।

भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या अब बढ्दैन । तर, चिन्ता अब बाँचेकालाई कसरी जोगाउने भन्ने छ । ‘साना बालबालिकालाई चिसोमा कसरी जोगाउने भन्ने पीर छ’, हात्तीराम महरको चिन्ता छ, ‘बाहिरै रात काट्नु परेको छ । दिनदिनै चिसो बढ्दै गएको छ । निकै समस्या भइरहेको छ ।’

भूकम्प गएको महिना दिन बितिसक्दा पनि यहाँका नागरिकको जीवनशैली सहज भएको छैन । भूकम्पका कारण घरविहीन प्रभावितहरु खुला चौरमा त्रिपाल र खाद्यान्न कुरिरहेका छन् । यहाँ सामान्य वर्षाले पनि थप जोखिम बढ्ने देखिन्छ । भूकम्पले चर्किएका घर पानीले भत्काउने सम्भावना बढेको छ । त्रिपालविना खुला चौरमा बसिरहेका सर्वसाधारणमा ज्वरो, टाइफाइड सुरु भएको भूकम्प प्रभावित जाजरकोटको नलगाड नगरपालिका- ८ का रामप्रसाद खत्रीले बताए ।

सरकारले उचित व्यवस्थापन गर्न ढिलाइ गरिरहेको बेला यहाँ राजनैतिक दल र तिनका भ्रातृ सङ्गठनले गरेका कामहरू प्रशंसायोग्य छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दल भूकम्प प्रभावित क्षेत्रमा सक्रिय छन् । दलहरूले आफ्ना भ्रातृ सङ्गठनलाई प्रभावित क्षेत्रमा तैनाथ गरिरहेका छन् ।

पछिल्लो केही समययता परकम्प गएको छैन । जसका कारण केही व्यक्तिहरू अहिले जीर्ण घरमा बस्न पुगेका छन् । तर, जीर्ण घर पुनर्निर्माण नगरिए सामान्य परकम्पले भत्काएर थप ठूलो क्षति पुर्‍याउन सक्ने भेरी नगरपालिका मेयर चन्द्रप्रकाश घर्ती बताउँछन् ।

नेपालमा २०७२ सालको विनाशकारी भूकम्प गएयता चार म्याग्निट्युडभन्दा माथिका ७७० भन्दा बढी भुइचालारू गइसकेको सरकारी विवरणले देखाएको छ । नेपाल भूकम्पको जोखिम क्षेत्रमा पर्ने र विशेष गरी पश्चिम नेपालमा विगत ५०० वर्षयता ठूलो भूकम्प नगएकाले यहाँ महाभूकम्पको सम्भावना कम नभएको विज्ञहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *