एमालेको डिलमा धकेलिँदै डा. भीम रावल, गृहजिल्लाकै कार्यक्रममा ‘बाइपास’ भएपछि के भन्छन् ? – Nepal Press

एमालेको डिलमा धकेलिँदै डा. भीम रावल, गृहजिल्लाकै कार्यक्रममा ‘बाइपास’ भएपछि के भन्छन् ?

काठमाडौं । एमालेको जारी झुलाघाट-चिवाभञ्ज्याङ संकल्प पदयात्राका क्रममा शनिबार अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरु अछामको मंगलसेन पुगेर आमसभा गरे । अछाम सुदूरपश्चिमका लोकप्रिय एमाले नेता डा. भीम रावलको गृहजिल्ला हो । तर, आफ्नै दैलोमा पार्टीले भव्य कार्यक्रम गर्दा रावल अनुपस्थित रहे ।

एमालेले रावललाई कार्यक्रममा निम्त्याइएको दाबी गरेको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीका कृष्णप्रसाद जैशी आफूले अभियानबारे नेता रावललाई जानकारी दिएको बताएका थिए ।

उनी भन्छन्, ‘मैले उहाँलाई प्रदेश कमिटीको तर्फबाट जानकारी गराएको थिएँ । तर, उहाँले केन्द्रका नेताहरुलाई सोध्न भन्नुभयो । केन्द्रबाट ‘तपाईंले भनेपछि भइहाल्यो नि’ भन्ने कुरा गर्नुभएको थियो । तर, उहाँ आउनुभएन ।’

रावलले भने आफूलाई सही तवरबाट निम्तो नै नगरिएको बताए । उनले ट्विटरमा यस्तो लेखेका थिएः

एमालेको मध्य पहाडी पुष्पलाल राजमार्ग अभियानबारे धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मेरोबारेमा सोधिएको प्रश्नको जवाफमा मलाई निम्तो दिइएको भन्ने सत्य होइन । तथ्य यस्तो छ, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले फोनमा पत्र पठाउँ कि भन्नुभयो । मैले भनें- अभियान प्रदेशको भए तपाईंले भन्दा म आइहाल्थें । तर, केन्द्रको भएकोले तपाईं अध्यक्षलाई फोन गरी मेरो सहभागिताको कुरा गर्नस्, उहाँले मलाई भन्नुभयो भने म सहभागी हुन्छु ।

केही समयपछि उहाँले फोनमा भन्नुभयो- फोन गरें, अध्यक्षको स्वकीयसँग कुरा हुँदा महासचिवसँग कुरा गर्न भनियो । महासचिवसँग कुरा गर्दा ‘इच्छा हुनेले जाँदा हुन्छ’ भन्ने जवाफ आएकाले तपाईं झुलाघाट जानु परेन अछाम आफ्नै किसिमले गए हुन्छ । अब सबै विवेकशील व्यक्तिले सोचौं । यही हो त मलाई अभियानमा निम्ता गरिने कायदा ?’

नेपाल प्रेससँगको कुराकानीमा पनि नेता रावलले आफूलाई आमन्त्रण नगरेकै कारणले कार्यक्रममा नगएको दोहोर्‍याए ।

उनले भने, ‘पार्टीले विभिन्न पदका व्यक्तिहरुलाई सहभागिता जनाउनु भनेर निर्देशन जारी गरेको रहेछ । त्यसमा मलाई कतै पनि पारिएन । त्यसैले यो अभियानमा म सहभागी हुने अवस्था बनेन ।’

नेता रावलको बारेमा एमाले नेता कर्ण थापाले आफू अहिले पार्टी निर्माणको अभियानमा रहेकाले त्यसबारे कुरा गर्न उपयुक्त नहुने टिप्पणी गरे ।

जे भए पनि एमालेले पछिल्ला दिनमा डा. रावललाई भित्तातिर ठेल्दै लगेको सत्य हो । १०औं महाधिवेशनमा रावल ओलीसँग अध्यक्षमा भिडेका थिए । त्यसदेखि यता उनी ओलीको कोपभाजनमा पर्दै आएका छन् । ओलीसँग सम्बन्ध चिसिएकै कारण गएको मंसिर ४ को प्रतिनिधिसभाको निर्वाचनमा उनले टिकट पाएनन् । जिल्ला कमिटीले रावलको एकल नाम सिफारिस गरेर पठाएको भए पनि केन्द्रले काटिदिएको थियो ।

त्यसपछि ओलीविरुद्ध नेता रावल थप आक्रामक बने । उनी पार्टी गतिविधिविरुद्ध लागेको भन्दै पार्टीभित्र रहने वा नरहने भन्ने कित्ता क्लियर गर्न एमालेले गत चैतमा उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गर्‍यो । समितिमा लेखराज भट्ट र कर्ण थापा पनि थिए । तर, त्यो समितिले कुनै निष्कर्षमा पुर्‍याउन सकेन ।

वार्ता समितिको आग्रहपछि ओलीले साउन ३० गते रावललाई पार्टी मुख्यालय च्यासलमै बेलाएर भेटेका थिए । दुई नेताबीच करिब २० महिनापछि भएको भेटमा ‘फेरि भेट्ने’ बाहेक अर्को समझदारी भएन । त्यसयता ओलीले रावलका विषयमा चासो दिन छोडेको बताइन्छ ।

लामो समय पार्टी गतिविधिमा निष्क्रिय रावल पछिल्ला दिनमा केही कार्यक्रममा देखिएका थिए । तर, अहिले जारी मध्यपहाडी लोकमार्ग केन्द्रित १९ दिने अभियानमा उनी निष्क्रिय बने । यसै विषयमा केन्द्रित रहेर डा. भीम रावलसँग गरिएको संक्षिप्त कुराकानीः

– पार्टीले झुलाघाट-चिवाभञ्ज्याङ संकल्प यात्रा गरिरहेको छ । तर, तपाईंको सहभागिता देखिएन नि ?

पार्टीले विभिन्न पदका व्यक्तिहरुलाई सहभागिता जनाउनू भनेर निर्देशन जारी गरेको रहेछ । त्यसमा व्यक्ति नै तोकिएको थियो । मलाई कतै पनि पारिएन । मलाई त्यो कार्यक्रममा सहभागी नहुने स्थिति बनाइयो । त्यस सम्बन्धमा पार्टी नेतृत्वले पनि कुनै कुरा नगरेकाले मैले सहभागी हुने अवस्था बनेन ।

– हिजो तपाईंकै गृहजिल्लामा भएको कार्यक्रमको त जानकारी थियो होला नि ?

मलाई मेरो गृहजिल्ला अछाममा पार्टीको कार्यक्रम हुँदैछ भनेरसम्म कुनै जानकारी छैन ।

– पार्टी अध्यक्षसँग च्यासलमा पुगेर फेरि भेट्न सहमति गरेर फर्किनुभएको थियो । त्यसपछि पनि मिलनबिन्दु भेट्नुभएन र ?

ओलीजीसँग भएको भेटलाई मैले सकारात्मक भयो भनेको छैन । उहाँहरुले आफ्नो ढंगबाट कुरा बाहिर ल्याउनुभयो । मैले मेरो कुरा भनें । त्यो कुराकानी र त्यसपछिको व्यवहार हेर्दा, त्यो कुराकानी भनेको उहाँहरुको व्यवहार उचित छैन भन्ने कुरा पार्टीभित्र र बाहिर धेरै ढंगले उठ्न थालेपछि एउटा नाटकमात्रै गरेको हो कि भन्ने मलाई लागेको छ ।

– तर, वार्तामा फेरि भेट्ने सहमति भएको होइन ?

वार्तामा फेरि कुरा गर्ने कुरा भएको हो । तर, त्यसपछि प्रदेशको अधिवेशन भयो । अहिले यो कार्यक्रम भयो । ती कार्यक्रममा मप्रति जस्तो व्यवहार देखाइएको छ । त्यो कुराकानी भनेर फगत दुनियाँलाई देखाउन र भ्रमित गराउन गरेको भन्ने मलाई लागेको छ । त्यसपछि अहिलेसम्म मसँग कसैले केही कुरा गरेको छैन ।

– भनेपछि अब तपाईंको एमालेमा बस्ने सम्भावना सकिँदै गएको हो ?

मैले अहिले केही सोचेको छैन । म आज अछाम जाँदैछु । मैले उहाँहरुको व्यवहार जस्तो हुन्छ, मेरो पाइला त्यस्तै हुन्छ भन्दै आइरहेको छु । तर, अहिलेसम्म यसै गर्छु भनेर निर्णय गरिहालेको स्थिति छैन ।

– यसले त तपाईंलाई पार्टीबाट धकेल्न खोजे जस्तो देखियो नि ?

त्यो कुरा मैलेभन्दा उहाँहरुले नै जान्ने कुरा हो । अहिलेसम्मका घटनाक्रमले जे संकेत गरेको छ, मैले त्यही विश्लेषण गरेको हो । थप मैले केही सोचेको छैन अहिलेलाई ।


प्रतिक्रिया

6 thoughts on “एमालेको डिलमा धकेलिँदै डा. भीम रावल, गृहजिल्लाकै कार्यक्रममा ‘बाइपास’ भएपछि के भन्छन् ?

  1. भीमबहादुर रावल पछिल्लो समय एमाले कमजोर बनाउने गोप्य योजनाका साथ सक्रिय भइरहेका छन्। एमाले विरोधिहरूले रावल हतियार बनाएर प्रयोग गरिरहेका छन्। रावललाई लागेको हुनुपर्छ, म बिना एमाले पश्चिममा चल्न सक्दैन्। तर यो उनको भ्रम हो। किनभने न भोलिका दिन केपी ओली नभएर एमाले सकिन्छ न त आज रावल नभएर एमाले सकिन्छ।

  2. पार्टी मेरो पनि हो भन्ने लाग्छ भने वहाँ सामान्य कार्यकर्ता हो । आफैं सहभागिता जनाउनुपर्छ । सबै कार्यकर्तालाई ओलिले फोन गरेर बोलाउन साध्य हुन्छ ? महाअधिवेशनमा उपाध्यक्ष खाउभन्दा खान्न भने । अध्यक्षमा लडे । हारे पछि केन्द्रीय सदस्य बन भन्दा बन्दिन म सामान्य कार्यकर्ता बन्छु भने । अनि अहिले वहाँलाई बेग्लै निम्ता किन ? लेखेर राख्नुस् कुरा चर्का गरेर एमाले सिध्याउन वहाँ दिल्लिको गोटी बन्नुभएको छ ।पार्टीमा मिल्ने कुरा कहिल्यै नगर्ने । खाली बटारिएको कुरा गर्ने । पार्टी हितमा संलग्न हुनु छैन खालि मान खोज्ने । एमालेमा हजारौं भिम रावलहरू छन् । अछामको शंकास्पद व्यहोरा भएको भिम रावल नभए पनि एमालेलाई फरक पर्दैन । धेरै घमण्ड गरेर मिडियामा एमालेको विरोध गर्न बन्द गर । अर्को घनश्याम भए पनि केही नाप्दैन ।

  3. देउवाको फेर समाउन र प्रचन्डको हात समाउन त्रिश्णा लिएर बस्ने भिम रावल : ओलीको नजिक पर्न नचाहनु र कत्तिबेला पाईन्छ घिच्चुकमा हिर्काउने मौका भनेर कुर्नु को रहस्य के !?

  4. महाधिवेशन मा चुनाब हारेसी केन्द्रीय सद्स्य बन्दीन भनेर अराजक सैली देखाउने रावल नै हुन क्यार अब यिनलाइ प्रदेस कमीटी ले जानकारी गराएसी के को भाउ खोजेर बस्य रहेछ्न फेरी , खुरुक्क गएको भए हुन्न थियो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर