सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगाउन महासंघ अध्यक्ष ढकालको सुझाव – Nepal Press

सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगाउन महासंघ अध्यक्ष ढकालको सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारलाई सुझाव दिएका छन् ।

छैटौँ सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले सामाजिक सुरक्षा कोषको ६ वर्षको छोटो समयमा नै सामाजिक सुरक्षा कोषमा ४५ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको बताउँदै केही समयमै यो संस्था सबैभन्दा धेरै पैसा भएको नेपालको संस्थाको रूपमा पुग्ने बताए ।

उनले भने, ‘४५ अर्ब रुपैयाँ फन्ड बैंकमा राखेर हुन्न । कार्यविधि बनाएर यसलाई उत्पादन मूलक क्षेत्रमा लगानी गर्नुपर्छ । ‍सामाजिक सुरक्षा कोषको स्थापना भएको भर्खरै ६ वर्ष लाग्यो तर यति छोटो समयमा नै कोषले रोजगारदाता र श्रमिक बिचको सम्बन्ध सुधारमा महत्त्वपूर्ण काम गरेको छ।’ ‍

कार्यक्रममा ढकालले कोषको पैसा राज्यको आन्तरिक उत्पादनमा लगाउँदै राज्यको दूर दराजमा रहेका विपन्न जनता जो वैदेशिक रोजगारीमा जान चरम आर्थिक संकट बेहोरिरहेका छन् तिनको सहजीकरणमा लगानी गर्न समेत सुझाब दिएका छन् ।

अध्यक्ष ढकालले सामाजिक सुरक्षा कोषका कारण निजी क्षेत्रका रोजगारदाताहरू र श्रमिकहरूको सम्बन्ध सुमधुर बनाएको बताएका छन् ।

ढकालले श्रम सम्बन्ध सुधार र श्रम क्षेत्रमा समस्या समाधान गर्नेतर्फ उल्लेखनीय सफलता प्राप्त गरेको बताउँदै लामो छलफल र सहकार्यको फलस्वरुप श्रम ऐनको संशोधन र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न कानूनी र संस्थागत व्यवस्था भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर