शेयर बजार किन घटबढ भइरहन्छ ? अर्थविद् भन्छन्- नेपालमा विश्लेषण गर्नै मुस्किल छ – Nepal Press

शेयर बजार किन घटबढ भइरहन्छ ? अर्थविद् भन्छन्- नेपालमा विश्लेषण गर्नै मुस्किल छ

काठमाडौं । लगातार घटदै गएको शेयर बजारमा अहिले केही सकारात्मक संकेत देखिएको छ । अहिले नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

गत महिना शेयर बजार १९०० को मनोवैज्ञानिक विन्दुभन्दा तल थियो । दुई महिनासम्म २ अर्ब बढीको कारोबार हुन सकेन । आइतबारमात्रै ४७ अंकले बढेको बजारमा २ अर्ब बढीको कारोबार भयो । गत सातादेखि शेयर बजारमा सकारात्क संकेत देखिएको छ ।

केही महिनासम्म मारमा परेको पूँजी बजार अब सुधार हुने एकथरि लगानीकर्ताहरु बताउँछन् । अर्कोथरि लगानीहरु भने नेपाली शेयर बजारको आशा नरहेको बताउँछन् ।

नेपाल राष्ट्र बैंकले १२ करोडको शेयर धितो कर्जा क्यापलाई खुकुलो बनाएर १५ करोडसम्म पुर्‍यायो । धितो कर्जा क्याप खुकुलो बनाएपछि शेयर बजार बढ्छ भन्ने विश्लेषण लगानीकर्ताहरुको थियो । तर, शेयरबजार बढ्नु साटो झन ओरालो लाग्यो । चाडपर्वको बीचमा शेयर बजार झन खस्कियो ।

नेपालको शेयर बजार घटबढले कुनै संकेत नगर्ने र कुन बेला कता जान्छ टुङ्गो नलाग्ने अर्थविद् रामेश्वर खनाल बताउँछन् ।

‘शेयर बजारलाई प्रभाव पर्ने तत्वहरु नेपालको सन्दर्भमा उल्टो हिँडेको जस्तो देखिन्छ । एउटा पक्ष बजारमा तरलता हुँदा लगानी बढ्छ भन्छ’, उनले भने, ‘नेपालमा हल्लाका आधारमा मानिसहरुले लगानी गर्ने गरेको देखिन्छ । त्यसैले पनि हाम्रो बजारलाई विश्लेषण गर्न मुस्किल छ ।’

उनका अनुसार अघिल्लो वर्षको तुलनामा अहिले आयात अलि बढेको छ ।

‘देशको आयात बढ्दा बजारमा राम्रै हुन्छ । त्यसमा पनि कुन प्रकृतिको आयात बढेको छ भन्ने कुराले महत्व राख्छ । उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको आयातमा हामीले पूँजीगत र मध्यवर्ती वस्तुको आयातलाई हेर्नुपर्छ । अहिले पूँजीगत वस्तुको आयात बढेको छ । जुन नयाँ उद्योग तथा लगानीका लागि आयात हुने पूँजीगत सामान हुन्छ । तर, मध्यवर्ती सामानको आयात घटेको छ । उपभोग घटेको छैन’, अर्थविद् खनालले भने ।

लगानीकर्ता डुपेन्द्र भट्टराई अहिले शेयर बजारमा केही सकारात्मक संकेत देखिएकाले लगानीकर्ताहरु आशावादी हुनुपर्ने बताउँछन् ।

‘केही महिनादेखि हाम्रो शेयर बजार निकै तल खस्केको देखिन्छ । जसको कारण बैंकको ब्याजदरदेखि बजार चलायमान नहुनुसम्म रह्यो । तर, अहिले अधिकांश बैंकले आफ्नो ब्याजदर घटाउँदै गएको देखिन्छ’, उनले भने, ‘त्यसले पनि लगानीकर्तालाई प्रेरित गर्ने भएकोले आशाको संकेत रहेको भन्न सकिन्छ । शेयर बजारलाई बढाउने भनेको बजारको मागले हो । त्यसैले माग निर्माण गर्नसकेमा बजार बढ्ने हो ।’

त्यस्तै शेयर विश्लेषक गोपाल भट्ट भन्छन्, ‘अहिले शेयर बजार बढेन भन्ने कुराले लगानीकर्ताहरुलाई एकतर्फी बनाएको जस्तो देखिएको छ । बजारलाई प्रभाव पर्ने तत्व भनेको राष्ट्र बैंकको नीति हो । जुन लगानीकर्तातिर नै झुकेको देखिन्छ । तर, मानिसलाई जति भए पनि उस्तै हो ।’

उनका अनुसार नेपालको शेयर बजारले लगानीकर्ताका सबै एक्सपेटेसनलाई पूरा गर्दैन । नेपालको शेयर मार्केट एकतर्फीमात्रै रहेको उनको भनाइ छ । ‘तर, शेयर बजार दुईतर्फी हुनुपर्छ । जहाँ बढ्दा रिटन आउने र घट्दा पनि रिटन आउने हुनुपर्छ’, उनले भने, ‘त्यसले बजारलाई सन्तुलित बनाउँछ । सबैलाई शेयर बजार बढ्दामात्रै फाइदा हुन्छ र सबै बढ्नेतिर मात्रै केन्द्रित छन् । तर, शेयर मार्केट त्यस्तो हुँदैन । कहिले तल त कहिले माथि भइहाल्छ ।’

कुनै कम्पनीले राम्रो प्रतिफल दिन्छ भने लगानीकर्ताले त्यसमा लगानी गर्ने भएकाले कम्पनीले आफूले दिनसक्ने प्रतिफलको विश्वास लगानीकर्तालाई दिलाउन सक्नुपर्ने विश्लेषक भट्ट बताउँछन् ।

‘त्यसले माग बढाउँछ । शेयर मार्केटलाई पनि बढाउँछ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर