सोह्र दिने अभियान : ‘हिंसाविरुद्ध’ कि ‘समानताका लागि सहकार्य ?’ – Nepal Press

सोह्र दिने अभियान : ‘हिंसाविरुद्ध’ कि ‘समानताका लागि सहकार्य ?’

न्याय अन्यायको घटना जहाँ भएको होस्, त्यसको विरोध सबैतिर, सबैले गर्नुपर्छ । विभेद र अन्याय, अत्याचार, उत्पीडन जहाँ होस्, त्यसको अन्त्य हुनैपर्छ । ल्याटिन अमेरिकी देश डोमिनिकन गणराज्यका शासकको अत्याचारका विरुद्ध मानव अधिकार तथा लोकतान्त्रिक राजनीतिक अधिकारका लागि आन्दोलनरत पेटिया, मिनार्गा र मारियाको त्यहाँको सरकारद्वारा हत्या गरिएको थियो । त्यहाँ महिलाहरूलाई कुनै प्रकारको राजनीतिक अधिकारमाथि बन्देज थियो । शासकीय बन्देजविरुद्धको सङ्घर्षका क्रममा मारिएका ती तीनै जना राजनीतिक अधिकारकर्मी महिला एकै घरका दिदीबहिनी थिए । यो हत्याकाण्ड सन् १९८१ नोभेम्बर २५ मा भएको थियो । पेटिया, मिनार्गा र मारियाको आन्दोलनप्रति ऐक्यबद्धता तथा उनीहरूको हत्याको विरुद्ध सुरु भएको यो आन्दोलनले अन्तर्राष्ट्रिय रूप लियो । नेपालमा पनि यो अभियान सन् १९९७ देखि सरकारीस्तरमा समेत सञ्चालनमा छ ।

जहाँ विभेद हुन्छ, त्यहाँ अन्याय हुन्छ, उत्पीडन हुन्छ । विभेद, अन्याय, अत्याचार उत्पीडनका विरुद्धमा आन्दोलन र अभियानहरू चलाइनुपर्छ । यही मान्यताअनुसार प्रत्येक वर्ष नोभेम्बर २५ देखि सुरू भई डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्ध अभियान चलिरहेको छ ।

यो अभियान अन्तर्राष्ट्रिय अभियान हो । केही अपवादबाहेक संसारका सबै देशमा यो अभियान चलिरहेको छ । नेपालमा पनि यस अभियानमा सरकारी तथा गैरसरकारी क्षेत्रको सङ्लग्नता रहने गरेको छ । सोह्र श्राद्धभन्दा अनौठो मान्ने मानिसहरूसमेत ‘यो सोह्र दिन नै किन ?’ सम्म नभनी यस अभियानमा सहभागी भइरहेका छन् ।

यो अभियान सुरू हुँदा नेपालमा पञ्चायत नामको निरङ्कुश निर्दलीय राजनीतिक व्यवस्था थियो र यस्ता क्रियाकलापमा पनि प्रतिबन्ध थियो । राजनीतिककर्मीहरूमाथि चर्को दमन थियो । वि.स.२०४६ (सन् १९९०) सालको जनआन्दोलनको बलमा प्रजातन्त्र पुनःस्थापनापछि यस्ता अभियानहरू चल्ने चलाउने वातावरण बनेको हो । प्रजातन्त्र पुनःस्थापनाको सातौं वर्ष सन् १९९७ देखि यो अभियान सरकारीस्तरमा पनि मनाउन थालिएको हो ।

अभियानका वक्ताहरूका दमदार भाषण सुन्दा हामीलाई लाग्नसक्छ कि महिला हिंसा नेपालमा मात्र छ, महिला हिंसा हुनुको कारण यहाँ प्रचलनमा रहेका धर्म, संस्कृति, परम्परा र मूल्य-मान्यता हुन् ।

विभिन्न नामका अभियानहरूमा नारा बनाएर पठाउने गरेका पश्चिम जगतका देशहरू नउठ्दै, नजाग्दै यता पूर्वीय जगतमा विभेद थियो र विभेदका विरुद्ध कसरी अघि बढ्ने भन्ने विचार पनि जागृत भइसकेको थियो । उनीहरू ईसापछिका कुरा गर्छन् । तर, हाम्रा वेद, पुराण, उपनिषद् त छँदैछ, सबैभन्दा पछिल्लो कुरामात्र गर्ने हो भने पनि ईसापूर्व ५६३ वर्षअघि नेपालमै जन्मनुभएका, विश्व शान्तिका अग्रदूत भगवान बुद्धले भन्नुभएको थियो- सङ्घं शरणं गच्छामि ।

नेपालमा ‘लैङ्गिक हिंसा’ भनेर महिला र पुरुषबाहेकका अन्य लैङ्गिक-यौनिक समुदाय विभेदमुक्त छैनन् र यसतर्फ पनि ध्यान दिन आवश्यक छ भन्ने बोध गरिएको देखिन्छ । यस वर्षको लागि नेपालमा तय गरिएको राष्ट्रिय नारा हो- ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : बालबालिकामा ऐक्यबद्धता !’ तर, निर्धारित नाराले सभ्य समाजको काम र पहिचान सधैं लैङ्गिक हिंसाविरुद्ध अभियान चलाइरहन पर्ने हो कि जस्तो देखियो । अर्थात् लैङ्गिक हिंसाका विरुद्ध अभियान चलाइरहनुपर्ने, यो समस्या कहिल्यै समाधान नै नहुने श्रेणीमा राखिएको जस्तो बुझिन्छ । कुनै पनि नारा निर्धारण गर्दा प्राप्ति वा गन्तव्यलाई ध्यान दिनुपर्ने हुन्छ, न कि माध्यमको निरन्तरतालाई । निर्धारित नारा हेर्दा यो अभियान रहँदासम्म लैङ्गिक हिंसा रहिरहने जस्तो देखिन्छ । जब कि यसलाई फेरेर लैङ्गिक समानताका लागि भनेर अभियान विकास गर्नुपर्ने हो । यी दुवै नारा हेर्दा यो अभियान फगत औपचारिकता मात्र हो भन्ने देखिन्छ ।

कुनै पनि सभ्य समाजमा हुने भेदहरू कामका आधारमा हुन्छन्, त्यस्ता भेद वा विभेद स्वाभाविक हुन्छन् । तर, जाति, लिङ्ग, रङ्ग, धर्म, भाषा, भूगोल, शारीरिक बनोट आदिमा आधारित अन्य विभेदहरू मानव अधिकारका दृष्टिले अनुचित र निन्दनीय हो । अङ्ग्रेजीमा लेखिएको ‘अन्तर्राष्ट्रिय’नाराले महिला र बालबालिकाविरुद्धको हिंसालाई मात्र विषय बनाएको छ, लैङ्गिक-यौनिक समुदायमाथि रहेको विभेदबारे मौन रहेको छ । समग्र लैङ्गिक हिंसाबारे हामीले ध्यान दिनुपर्ने हुन्छ । तर, यस्ता आयातित नारा, अभियान र कार्यक्रमले हाम्रा वास्तविकता बहन गर्न सक्दैनन् ।

जहाँसम्म सङ्गठित हुने विषय छ, हाम्रो भुईंमा, हाम्रो समाजमा उहिल्यैदेखि ठूलो महत्व दिइँदै आएको छ । भनिएको छ- अल्पानामपि वस्तूनां संहतिः कार्यसाधिका । तृणैर्गुणत्वमापन्नैर्बध्यन्ते मत्तदन्तिनः । अर्थात् साना वस्तुहरूको एकताले ठूलो काम गर्न सक्छ । ससाना झारबाट बनाइएको डोरीले शक्तिशाली हात्तीलाई नियन्त्रण गर्न सकिन्छ । शास्त्रमा भनिएको छ- संघे शक्ति कलौ युगे । अर्थात् अहिलेको समय सङ्गठित शक्तिमा बल हुने समय हो । यसको अर्थ हो, सबैका लागि सबै सङ्गठित हुने र अवरोध-बाधा व्यवधानका विरुद्ध लड्ने । विभिन्न नामका अभियानहरूमा नारा बनाएर पठाउने गरेका पश्चिम जगतका देशहरू नउठ्दै, नजाग्दै यता पूर्वीय जगतमा विभेद थियो र विभेदका विरुद्ध कसरी अघि बढ्ने भन्ने विचार पनि जागृत भइसकेको थियो । उनीहरू ईसापछिका कुरा गर्छन् । तर, हाम्रा वेद, पुराण, उपनिषद् त छँदैछ, सबैभन्दा पछिल्लो कुरामात्र गर्ने हो भने पनि ईसापूर्व ५६३ वर्षअघि नेपालमै जन्मनुभएका, विश्व शान्तिका अग्रदूत भगवान बुद्धले भन्नुभएको थियो- सङ्घं शरणं गच्छामि । अर्थात् सङ्घको शरणमा जान्छु, सङ्घलाई उच्च महत्व दिन्छु । यो मानव जातिका लागि ठूलो प्रेरणा हो ।

उताका महिला, बालिका तथा लैङ्गिक समुदायलाई समस्या परेछ, उनीहरूमाथि विभेद भएछ, उनीहरूले यस्ता विभेद, अन्याय, अत्याचारका विरुद्ध सङ्गठित हुनुपर्छ भन्ने आवश्यकता बोध गरेछन् । हामीकहाँ पनि यस्ता समस्या नभएका होइनन्, हामी र उनीहरूबीच ऐक्यबद्धता गलत होइन । त्यसैले अन्तर्राष्ट्रिय स्तरमा यस्ता अभियान चलाउनु राम्रै हुन्छ । तर, हामी उनीहरू जागेपछि मात्र जागेका होइनौं भन्ने जानकारी त उनीहरूलाई पनि दिनु राम्रै होला नि !

युरोपलगायत पश्चिमी जगतका लैङ्गिक-यौनिक समस्या उस्तै नहुन पनि सक्छ । भनिन्छ- समस्या जहाँ छ, समाधान त्यहीं खोज्नुपर्छ । हाम्रो समाजमा महिलाहरू अपहेलित छन्, विभेदग्रस्त छन् । हामी सबै मिलेर समाजमा रहेको यस्तो विभेद अन्त्य गर्नुपर्छ । हामी सबैलाई थाहा छ- अहिलेको नेपाली समाजलाई महिला अधिकारको आँखाले हेर्दा सन्तोषजनक रूपमा महिलामैत्री छैन । नियम, कानून, सभ्यहरूको सहभागिताका सभा-सम्मेलनका भाषणहरूमा बाहेक महिलाहरूप्रतिको बोली, व्यवहार समतामूलक छैनन् ।

युरोपलगायत पश्चिमी जगतका लैङ्गिक-यौनिक समस्या उस्तै नहुन पनि सक्छ । भनिन्छ- समस्या जहाँ छ, समाधान त्यहीं खोज्नुपर्छ । हाम्रो समाजमा महिलाहरू अपहेलित छन्, विभेदग्रस्त छन् । हामी सबै मिलेर समाजमा रहेको यस्तो विभेद अन्त्य गर्नुपर्छ । हामी सबैलाई थाहा छ- अहिलेको नेपाली समाजलाई महिला अधिकारको आँखाले हेर्दा सन्तोषजनक रूपमा महिलामैत्री छैन । नियम, कानून, सभ्यहरूको सहभागिताका सभा-सम्मेलनका भाषणहरूमा बाहेक महिलाहरूप्रतिको बोली, व्यवहार समतामूलक छैनन् । नियम-कानुन पनि पूर्ण रूपमा महिलामैत्री त छैन । तर, यो सुधारको तीव्र प्रक्रियामा भने रहेको देखिन्छ ।

अहिलेको समाज, अहिलेका नियम, अहिलेका व्यवहार, अहिलेका वचन आदि फेर्नैपर्छ । यो परिवर्तनको प्रक्रियामा महिलामात्र होइन, समतामूलक समाजको पक्षमा रहेका पुरुषहरू पनि सहभागी हुनैपर्छ । विभेदरहित समाज सुन्दर र सभ्य हुन्छ । यस्तो समाज निर्माणमा नारीमात्र किन र ? पुरुष पनि उत्तिकै तत्परतासाथ लाग्नुपर्छ । नत्र पुरुष अधिकार खोस्ने वर्गमा परिन्छ र नारी मुक्ति आन्दोलनको निशाना बनिन्छ । घर–घरमा थप अशान्ति हुन्छ । यो अशान्तिबाट समाजलाई जोगाउन र समतामूलक, सभ्य समाज निर्माण गर्न पुरुषहरूको सोच, विचार र भूमिका महिला अधिकारमैत्री हुनु आवश्यक छ । कतिपय मानिसहरू महिला उत्पीडनको कारण धर्मशास्त्रहरू भएको बताउँछन् । हिन्दू धर्मका आधार ग्रन्थहरू- वेददेखि पुराणहरूसम्म हेर्नुभयो भने त्यस्ता कुराको केही पुष्ट्याइँ पाइँदैन । धर्म र धर्मशास्त्रलाई देखाएर महिला हिंसाको औचित्य सावित गर्न त्यसो गरेका हुन् भने ती विचराहरूलाई के भन्नू र ?

महिला हुन् वा पुरुष, अहिलेको समाज धर्मशास्त्रबाट शासित वा निर्देशित छैनन् र हुन बाध्य पनि छैनन् । यदि कुनै वर्ग, क्षेत्र, समुदाय विशेष शोषित, उत्पीडित, अपहेलित छन् भने ती कुराको जिम्मेवारी धर्म, धर्मशास्त्र, संस्कृतिलाई दिनु भनेको आफू दायित्वबाट उम्कनु र पीडितहरूलाई मूर्ख बनाउनुबाहेक अरू केही होइन । संस्कृति कुनै पुस्तक या मानव निर्देशित हुँदैन । पुस्तकहरू त ती विषयका पुराना लिखत हुन सक्छन्, निर्देशन होइन । आजको समाज शास्त्र निर्देशित, धर्म निर्देशित होइन, कानून निर्देशित, विधिद्वारा शासित छ र उत्पीडन, अपहेलना, विभेद आदि पनि राजकीय नीतिको माध्यमबाट उच्छेद गरिनुपर्छ । नीतिको लागि नेतृत्व छ, प्रक्रियाका लागि प्रशासनयन्त्र छ र अभ्यासका लागि तपाईं हामी स्वयं छौं ।

पूर्वीय सभ्यता र संंस्कृतिमा महिलाहरूको स्थान उच्च रहेको पाइन्छ । भूमि, धर्ती वा पृथ्वीलाई माता भनिएको छ । ‘माता भूमि तव पुत्रोद्रहं पृथिव्या ! अर्थात्, हे भूमि माता म तपाईंको छोरो हुँ र तपाईं आमा हुनुहुन्छ ।’ यो विषय मातृ शक्तिलाई स्वीकार गरिएको उद्घोष हो ।

सनातन वैदिक परम्पराका प्रायः सबै पूजा विधानमा मातृकाहरूको पूजा गरिन्छ । ब्राह्मी, माहेश्वरी, कौमारी, वैष्णवी, बाराही, इन्द्राणी, चामुण्डा नाम गरेका सप्त मातृकाको पूजा गरिन्छ । नवदुर्गाको पूजा गरिन्छ । शक्तिशाली भनिने देवताहरूले पनि नसकेका युद्ध यिनीहरूले जितेको भनिएको छ । नारीलाई देवी मानिएको छ ।

विभेदरहित समाज सुन्दर र सभ्य हुन्छ । यस्तो समाज निर्माणमा नारीमात्र किन र ? पुरुष पनि उत्तिकै तत्परतासाथ लाग्नुपर्छ । नत्र पुरुष अधिकार खोस्ने वर्गमा परिन्छ र नारी मुक्ति आन्दोलनको निशाना बनिन्छ । घर-घरमा थप अशान्ति हुन्छ । यो अशान्तिबाट समाजलाई जोगाउन र समतामूलक, सभ्य समाज निर्माण गर्न पुरुषहरूको सोच, विचार र भूमिका महिला अधिकारमैत्री हुनु आवश्यक छ ।

नारी शक्तिलाई मातृ शक्ति मानिएको छ । समृद्धिकी देवी लक्ष्मी, ज्ञानकी देवी सरस्वती, शक्तिकी देवी दुर्गा आदि मानेर सम्मान गर्ने संस्कृति छ । अझ थप सबै प्राणीहरूमा व्याप्त चेतना, बुद्धि, निद्रा, क्षुधा, छायाँ, शक्ति, तृष्णा, क्षान्ति, जाति, लज्जा, शान्ति, श्रद्धा, कान्ति, लक्ष्मी, वृत्ति, स्मृति, दया, तुष्टि, मातृ आदि तथा सबै इन्द्रीयहरूकी अधिष्ठात्री भनिएको छ । कुमारी-कन्याका रूपमा नारीलाई पुजिन्छ । व्रह्मवैवर्त पुराणमा ‘स्तनदात्री गर्भधातृ भक्ष्यदातृ गुरूप्रिया । अभीष्ट देवपत्नी च पितुःपत्नी च कन्यका ।। सगर्भजा च भगिनी पुत्रपत्नी प्रियाप्रसूः । मातुर्माता पितुर्माता सोदरस्य प्रिया तथा ।। मातुःपितुश्च भगिनी मातुलानी तथैव च । जनानां वेदविहिता मातरः षोडशः स्मृताः । अर्थात्, स्तनपान गराउने, गर्भमा राख्ने, खाना खुवाउने, गुरूकी पत्नी, इष्ट देउताकी पत्नी, सौतेनी आमा, सौतेनी दिदीबहिनी, सहोदर दिदीबहिनी, छोराकी पत्नी, पत्नीकी आमा, आमाकी आमा, बाबुकी आमा, भाउजू/भाइ बुहारी, सानिमा, फुपू र माइजू यी सोह्र वेदविहित आमाहरू हुन् भनिएको छ । यिनीहरूलाई बोलाउँदा सम्मानजनक सम्बोधन गरेर बोलाउनू भनिएको छ ।

प्रायः सबै शुभकार्यमा षोडश मातृकाको पूजा हुन्छ । हामीले महिला हिंसा वा लैङ्गिक हिंसाका विषयमा अन्तर्राष्ट्रिय दिवसहरू मनाइरहँदा उतैका मात्र उदाहरण र तथ्यहरू भट्याउने कि हाम्रा यी विषय पनि उता लैजाने ? अब नेपाली महिलाहरूले लिङ्गमा आधारित नकारात्मक विषय उठाइरहँदा यी गौरवशाली तथ्य, कथ्य र परम्परामाथि दाबी गर्ने कि अर्कैका विषय मात्र बोकेर, आफ्ना वैभव र विरासतलाई कुल्चेर हिँड्ने ? अब सबैले सोच्ने बेला आइसकेको छ ।

जसरी लैङ्गिक हिंसाको समर्थन गर्न कदापि सकिँदैन, त्यसरी नै हामीले हाम्रो समाजलाई मार्गदर्शन गरिरहेका संस्कार संस्कृतिको अपमान पनि सहनु हुँदैन । लैङ्गिक हिंसाविरुद्धको आन्दोलन यतिबेला अमूर्त छ । यो अभियान कसका विरुद्ध हो ? ठम्याउन सकिएको देखिँदैन । राजनीतिक दलहरू, पेसागत तथा सामाजिक सङ्घसंस्थाहरू, समाचारमाध्यमहरू यहाँसम्म कि सरकारहरू र राज्य नै यस अभियानका कर्ता, अभियन्ता, प्रायोजक, सहयोगी र अभियन्ताको भूमिकामा छन् । यदि यो अभियान जागरण, ध्यानाकर्षणका लागि हो भने विरुद्ध भनेर किन भन्नुपर्‍यो ?

अभियान नै चलाउँदा पनि जुन संस्कृतिले नारीहरूलाई गौरवशाली सम्मान दिएको थियो, ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः । अर्थात्, जहाँ नारीहरूको सम्मान हुन्छ, त्यही देवताहरू खुसी हुन्छन् भनिएको छ, इतिहासका कुनै कालखण्डमा नारीहरू सर्वपुजिता हुनुहुन्थ्यो, सर्वशक्ति स्वरूपा हुनुहुन्थ्यो, अन्य लिङ्गी समुदायलाई किन्नर आदिका नाममा सम्बोधन गरेर देव सूचीमा राखिएको छ । त्यस संस्कृतिलाई अन्तस्करणमा पुनर्जागृत गर्न आवश्यक छ ।

राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा जस्तो सामाजिक अभियानलाई ‘विरुद्ध’ भन्नु उपयुक्त नहोला, यसलाई त लैङ्गिक समानताका लागि सहकार्य जस्तो नारा र अभियान चलाउनु सान्दर्भिक हुने देखिन्छ । यस्तो अभियान त नेपालमा योगमाया न्यौपानेको अगुवाइमा वर्षौं पहिले सुरू गरिएको इतिहास विरासतका रूपमा हामीबीच छ, त्यसलाई बिर्सनुहुँदैन ।

(लेखक काेइराला संस्कृति अध्येता तथा अभियन्ता हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Press - Live
Nepal Press - Live